उखानमै रह्यो ‘घुइँयाको भाउ’

यो समाचार 388 पटक पढिएको

नेपालगन्ज, ६ माघ/ सामानको मूल्य घट्दा ‘घुइँया’ (पिँडाल) को भाउ भनिने शब्द अब उखानमै सीमित रहेको छ। अन्य तरकारीभन्दा पिँडालुको माग बढेसँगै अब ‘घुइँया’ सस्तो रहेन। पिँडालुको मूल्य पछिल्लो समयमा प्रति केजी ७० देखि ८० रूपैयाँमा किनबेच भइरहेको छ। जबकी अन्य तरकारीको मूल्य त्यो भन्दा आधाले कममा खरिद बिक्री भइरहेको छ।

Pidaluअहिले तरकारी बजारमा सबैभन्दा सस्तो आलु २५, काउली ४० र टमाटर ४० रूपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ। सिजनल तरकारीको तुलनामा पिँडालुको मूल्य ठीक दोब्बर पुगेको छ। उत्पादन कम र बजारमा पिँडालुको माग बढेसँगै मूल्य पनि बढेको हो। ३७ वर्षदेखि तरकारीको व्यापार गर्दै आएका रानीतलाउ सब्जी मण्डीका व्यापारी छोटे राइनीले पछिल्लो समयमा आएर पिँडालुको माग बढेसँगै मूल्य पनि बढेको बताए। उनले भने, ‘किसानले पिँडालु लगाउन छाडेसँगै माग बढेको बढ्यै छ, त्यही भएर मूल्य पनि बढ्यो।’ नेपाली बजारमा भारतीय पिँडालुको तुलनामा पहाडी पिँडालुको माग बढ्दो छ। सामान सस्तिँदा घुइँयाको भाउ भन्ने उखान सकियो,’ पिँडालु खेती गर्दै आएका इमामुल हकले भने, ‘अब त घुइँया धेरै महँगो भइसक्यो।’

माग बढ्दै जाने र किसानले खेती गर्न छाड्ने हो भने पिँडालुको मूल्य छुनै नसकिने उनी बताउँछन्। दुई वर्ष अघि मात्रै १५ देखि २० रूपैयाँ प्रति केजीमा पिँडालु बेचेको सम्झँदै उनले भने, ‘अहिले एकाएक मूल्य बढेर आलु भन्दा दोब्बर पुगेको छ।’ गर्मीको समयमभन्दा जाडो मौसममा पिँडालुको तरकारी खाने ग्राहक बढी हुने गरेको बताउँदै तरकारी पसले निजा मुद्दिनले भने, ‘तरकारीसँगै उसिनेर तथा पोलेर खाजाका रूपमा पनि खान सकिने भएकाले जाडो मौसममा पिँडालुको माग बढ्ने गरेको हो।’ तराईमा धेरैले पिँडालु खेती गर्न छाडेको बताउँदै उनले भने, ‘मध्यपश्चिमका पहाडी जिल्ला (सल्यान, सुर्खेत र दैलेख) बाट पिँडालु संकलन गरिरहेका छौँ, त्यहाँ पनि धेरै किसानले लगाउनै छाडे।’ पिँडालुलाई हेँलाका रूपमा लिने भएकाले पनि किसानले लगाउन छाडेको उनी आँकलन गर्छन्। उत्पादन कम हुनुका साथै माग बढ्दा मूल्य पनि स्वभाविकै बढेको उनी स्वीकार्छन्।

तराईको पिँडालुभन्दा पहाडी क्षेत्रमा उत्पादन गरिएको पिँडालुको माग बढिरहेको बताउँदै व्यापारी मतिन राईले भने, ‘पहाडमा उत्पादन भएको पिँडालुमा धर्सा नहुने र खाँदा पनि स्वादिलो हुने भएकाले माग बढेको हो।’ पिँडालु अर्गानिक हुनुका साथै जाडो मौसममा खाँदा तातो हुने भएकाले पनि माग बढ्ने गरेको उनी बताउँछन्। पिँडालु स्वास्थ्यका दृष्टिकोणले राम्रो भएको बताउँदै उनले भने, ‘पछिल्लो समयमा पिँडालुको महत्व बुझ्न थालेका ग्राहकको रोजाइ बन्न थालेको छ।’ माग बढेसँगै मूल्य पनि बढेको उनी बताउँछन्। भारतीय ग्राहकले पनि नेपालको पहाडी क्षेत्रमा उत्पादन गरिएको पिँडालु किनेर लैजाने गरेको उनी बताउँछन्। भारतीय ग्राहकको पनि पहाडी पिँडालुप्रतिको आकर्षण बढ्दा बजारमा अभाव हुन थालेसँगै मूल्य बढ्दो छ। ‘भारतको बहराइचदेखि पिँडालु किन्न व्यापारी रानीतलाउ सब्जी मण्डीमै पुग्ने गरेका छन्,’ उनले भने,’भारतीय ग्राहकको आकर्षणले गर्दा दैनिक ४०/५० केजी पिँडालु बेचिने गरेको छ।’ यही क्रमले पिँडालुको बजारमा माग बढ्दै जाने हो भने मूल्य पनि आकाशिँदै जाने उनी अनुमान गर्छन्।

हरियो पातमा भिटामिन’ए’ पाइनुका साथै पिँडालुको गाना रेशादार भएकाले कब्जियतका बिरामीलाई महत्वपूर्ण रहेको स्वास्थ्यकर्मी धु्रब ओझा बताउँछन्। ‘स्वास्थ्यका दृष्टिकोणले पिँडालु धेरै राम्रो तरकारी हो,’ उनले भने। पिँडालुको पात आँखा र छालाका बिरामीका लागि उत्तम रहेको बताउँदै ओझा भन्छन्, ‘भिटामिन ‘ए’ का साथै आइरन समेत पाइने भएकाले पिँडालुको पात र गाना दुवै स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ।’ पिँडालुको गानाका साथै पात गर्भवती महिला, पेट, आँखा, छाला, पाइल्सका बिरामीलाई स्वास्थ्यकर्मीले नियमित खानु पर्ने बताउँछन्। कार्बोहाइड्रेट पाइने भएकाले पिँडालुको गाना शक्तिबर्द्धक तरकारीका रूपमा समेत हेरिने गरिएको उनी बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :