नाङ्लो बेकरी उद्योगमा सिल

यो समाचार 353 पटक पढिएको

काठमाडौं, ६ माघ / नाङ्गो बेकरीको सानेपास्थित केक उत्पादन गर्ने उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल गरेको छ ।

nanglo-bakery-cafeनाङ्लो बेकरीका लागि केक उत्पादन गर्दै आएको सानेपास्थित उद्योगले अनुज्ञापत्र नलिएकाले सिल गरिएको विभागका महानिर्देशक संजीव कर्णले बताए । ‘विभागबाट खाद्यवस्तु उत्पादन गर्ने अनुज्ञापत्र नलिई कुनै पनि उद्योगले उत्पादन गर्न पाउँदैनन् । तर, नाङ्लो बेकरी, सानेपाले अनुज्ञापत्रविनै उत्पादन गरेको पाएपछि उद्योग बन्द गराएका छौँ,’ उनले भने ।

उद्योगबाट उत्पादित केक परीक्षण गर्दा मानव स्वास्थ्यलाई हानी गर्ने जीवाणुसमेत भेटिएको उनले बताए । विभागका अनुसार नाङ्लो बेकरी क्याफेका सबै शाखाले सानेपास्थित उद्योगबाट उत्पादित केक बिक्री गर्दै आएका छन् ।

‘सानेपाको केक उद्योग नाङ्लो बेकरीकै व्यवस्थापन समूहबाट सञ्चालित छ,’ महानिर्देशक कर्णले भने, ‘त्यहाँबाट नाङ्लो बेकरीका सबै शाखामा केक उपलब्ध गराउँदै आएको हामीले पाएका छौँ ।’ उनले अनुज्ञापत्र नलिएसम्म उद्योग बन्द हुने जानकारी दिए । अनुज्ञापत्र लिनका लागि कम्तीमा १० दिन लाग्नेछ । विभागले अनुज्ञापत्र पाएपछि मात्रै उद्योग सञ्चालनको अनुमति दिने बताएपछि कम्तीमा १० दिनसम्म उद्योग बन्द रहनेछ । तर, नाङ्लो बेकरीको ललितपुरको ठैंबमा अर्को पनि उद्योग छ ।

सानेपामा नाङ्लो बेकरीले सरकारी निकायलाई थाहै नदिई उद्योग सञ्चालन गरेको पाइएको छ । नाङ्लो बेकरीले ललितपुरको ठैंबमा पाउरोटी, ब्रेडलगायतका बेकरीजन्य खाद्य पदार्थ उत्पादन गर्नका लागि खाद्य विभागबाट अनुज्ञापत्र लिएको छ । ‘हामीलाई त ठैंबमा मात्रै नाङ्लो बेकरीको उद्योग छ भन्ने थाहा थियो,’ कर्णले भने, ‘सानेपामा केक उत्पादन गर्ने बेग्लै उद्योग छ भन्ने थाहै थिएन ।’

केही दिनअघि एकजना उपभोक्ताले नयाँ बानेश्वरस्थित बेकरी क्याफेबाट खरिद गरी लगेको केक खाँदा बान्ता भयो, सन्चो भएन भनेर विभागमा उजुरी गरेका थिए । त्यसको भोलिपल्ट विभागको निरीक्षक टोली गएर अनुगमन गर्‍यो । अनुगमनका क्रममा नाङ्लो बेकरी, सानेपाबाट उत्पादित केक त्यहाँबाट बिक्री गरेको पाइयो । विक्रेताले केक खरिद गरेको दिन बिक्री नभए भोलिपल्ट फिर्ता गराउने गरेको जानकारी दिए । त्यसपछि हामीले खरिद–बिक्री बिल हेर्‍यौँ । त्यसमा खरिद गरेको देखियो, तर उद्योगलाई फिर्ता गरेको पाइएन । त्यसपछि हामी उद्योगमै गयौँ । उसले अनुज्ञापत्र नलिई उत्पादन गरेको पायाँै । त्यहाँ उत्पादन भएको केक विभागको प्रयोगशालामा ल्याएर परीक्षण गर्दा पनि हानिकारक जीवाणु भेटियो । त्यसपछि हामीले सोमबार उद्योगमा सिल गरेका हौँ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :