गाउँबाट एक करोडको अर्गानिक तरकारी बिक्री

यो समाचार 399 पटक पढिएको

धरान, ६ माघ / उब्जाउ केही नहुने ठाउँ भएकोले डेढ दशकअघिसम्म हालको धरान २० स्थित बसन्तटार गाउँलाई ‘बोक्सीटार’ भनिन्थ्यो। तत्कालीन पाँचकन्या गाविस ८ मा पर्ने बोक्सीटारका बासिन्दा बिहानै जंगल गएर दाउरा ल्याउथे। दिउँसो बिक्री गर्न धरान बजार जान्थे, र साँझमा चामल, सब्जीलगायत खाद्यान्न बोकर घर फिर्थे।

tomato०५६ सालतिर स्थानीय युवा कृष्ण राईले आफ्नै बारीमा काउली रोप्दा गाउँलेहरुले ‘फलाएर त देखा, कान काटिदिन्छुु’ सम्म भन्न भ्याए । काउली मात्रै होइन, उनले बारीमा टमटर, सिवी, काक्रो, बोडीलगायत हरियो तरकारी मनग्ये फलाएर देखाइदिए । उनले गाउँलेलाई कान काट्न बाध्य त पारेनन्, तर अर्गानिक तरकारी खेती अभियानमा भने आफूसँगै डोर्याए । ०५५ सालअघि एक मुठा साग किन्न पनि स्थानीयहरु धरान बजारतिर नै पुग्नुपथ्र्यो । अहिले तिनै गाउँले हरियो तरकारी बेचेर बर्षमा करिब एक करोड रुपैया गाउँमा भित्र्याउछन् । गाउँको परिचय पनि रुखो ‘बोक्सीटार’ रहेन, बद्लिएर वसन्तटार भइसकेको छ । त्यतिमात्रै होइन, अग्र्यानिक गाउँ भनेर पनि यो ठाउँको ख्याती छ ।

यहाँका ९५ घरमा रासायनिक मल र बिषादी पूर्णरुपमा निषेध छ । ती घरमध्ये दुई दर्जनले व्यावसायिकरुपमा नै तरकारी खेती गरेका छन् । ती घरले मासिक झण्डै ९ लाख र बार्षिकरुपमा एक करोड रुपैया बराबरको तरकारी बिक्री गर्छन् । अग्र्यानिक तरकारी खेती र विधि हेर्न विभिन्न जिल्लाबाट कृषक समुहहरु अध्ययन भ्रमणमा यहाँसम्म आइपुग्छन् । ‘५५ सालअघि हामी एक मुठा साग पनि धरान बजारबाट किनेर ल्याउनुपथ्र्यो, यहाँ केही पनि उत्पादन हुदैनथ्यो,’ अर्गानिक खेतीका अभियन्ता एवं सोताङ अग्र्यानिक एग्रिकल्चर सेन्टरका सञ्चालक कृष्ण राई भन्छन्, ‘अहिले सबैले आफ्नै बारीमा सब्जी फलाउछन्, आम्दानी पनि राम्रो भइरहेको छ ।’ वसन्तटार धरानको भानुचौकदेखि करिब अढाई किलोमिटर पूर्व सेउती खोला पारि पर्छ।

वसन्तटारलाई कृषि (हरियो तरकारी) उत्पादनको नमुना अर्गानिक गाउँ बनाउन ३२ बर्षीय यी युवाको ठुलो योगदान छ । उनले ०५७ सालदेखि आफ्नो १० कट्ठामा तरकारी खेती शुरु गरेका थिए । त्यतिबेला रासायनिक मल र बिषादी खुब प्रयोग गरे । आम्दानी पनि सोचे भन्दा धेरै भयो । त्यतिबेला उनले मासिक एक लाख रुपैयासम्म तरकारी बिक्री गरेका थिए । तर, बिषादी र रासायनिक मलको असर विस्तारै आफ्नो स्वास्थ्य र तरकारी उत्पादनमा देखिन थाल्यो । त्यतिबेला उनी १६ लिटर क्षमताको ड्रममा एक दिनमा २४ ड्रमसम्म बिषादी छर्कन्थे । बिषादी हालेपछि आँखा बेस्कन पोल्थ्यो, टाउको उस्तै गरी दुख्थ्यो । विरुवा पनि राम्रोसँग सप्रिन छोड्यो । अनेक उपाय लगाउदा खर्च बढ्यो, तर उत्पादन घट्न थाल्यो । त्यसपछि मात्र उत्पादन र पेशालाई दिगोपन दिलाउन उनी अर्गानिक खेतीतर्फ कम्मर कसेर लागे ।

अर्गानिक खेतीको कुरा गर्दा कसैले विश्वास गर्दैनथे । उर्बर माटोलाई रासायनिक मल र बिषादीको एडिक्ट(नशा) भइसकेको थियो । उनले हरेस भने खाएनन् । पाँच बर्षभित्र गाउँमा मल र बिषादी पुर्णरुपमा निषेध गर्ने गरि ५ बर्षे कार्ययोजना तयार गरे । विकल्पमा झारपातहरु संकलन गरेर कम्पोष्ट मल बनाउन थाले । गाउँघरको मल पनि किनिदिए । ‘कम्पोष्ट मलकै लागि ०६५ सालदेखि बंगुरपालन शुरु गरे । गाईको मुत्र पनि प्रयोग गरे, राम्रो रिजल्ट आयो । मान्छेको मुत्र पनि २, ४ बोटमा प्रयोग गर्न थाले, गाईको मुत्रले भन्दा राम्रो सप्रियो’, राईले सुनाए–’इकोसान चर्पी ल्याएर दिसा र पिसाब छुट्टै संकलन गर्न थाले ।’ ०६२ देखि शुरु भएको रासायनिक मल र बिषादी न्युनिकरण अभियानले ०६७ मा सफलता पायो । वसन्तटारको ९५ घरधुरीमा अहिले मात्र अग्र्यानिक खेती हुन्छ । रासायनिक मल र बिषादी पूर्णरुपमा निषेध छ ।

गाउँमा तिरीमिरी खेती विधि अपनाइएको छ । यो विधिअनुसार एउटा प्लटमा मुख्य वाली लगाइन्छ र सुरक्षाको लागि थप अन्य वाली पनि लगाइन्छ । भर्खरै राईले पूर्वमा पहिलो पटक इन्सेक्ट नेटसहितको पोली हाउस विधिमा पनि तरकारी खेती शुरु गरेका छन् । यसमा ग्रिन नेट लगाएर आवश्यकता अनुसार तापक्रम चिसो तातो बनाउने र वेमौसमी खेती पनि गर्ने उनको योजना छ । टहरा बनाएर च्याउ खेती पनि शुरु गरिसकेका छन् ।

जमिन मात्रै होइन, ढुंगामाथि पनि पैसा फलाउन सकिन्छ भनेर देखाउन उनले पोलीब्याग प्रविधिबाट पनि उत्पादन गरिरहेका छन् । राईकै भनाईमा अग्र्यानिक खेतीको स्तरोन्नती जारी छ । अग्र्यानिक खेती गर्दा मल, बिषादी, भिटामिन, हर्मोन्सलगायत खरीद गर्नु नपर्दा खर्च घटेको छ भने माटोको उर्बराशक्ति बढेर उत्पादन पनि बर्षेनी बढ्दो छ । ‘माटो राम्रो भयो भने किरा, रोग पनि नलाग्दो रैछ, स्वास्थ्य र वातावरण पनि स्वच्छ रहने र अचेल त अग्र्यानिक तरकारीको माग पनि बढी नै छु’,उनले भने ।

तरकारीसँगै उनले वंगुरपालनबाट पनि मनग्ये आम्दानी गरेका छन् । एक समय उनको फर्ममा ३७ वटा सम्म माउ थियो । अहिले वंगुरपालन व्यावसाय खस्किएकोले १९ वटा मात्रै छ । महिनामा उनले वंगुर पाठा बेचेर अढाई लाखसम्म कमाएका थिए । तरकारीबाट भने उनी बार्षिक १४ लाख बढी कमाउछन् । उनकोमा सबैभन्दा धेरै टमटर उत्पादन हुन्छ । बार्षिक १० टन टमटर बेचेर उनी ९ लाख जति आम्दानी गर्छन् भने काक्रो ६ टन जति बेच्छन् । यस्तै, उनको बारीमा काउली, खोर्सानी, सिवि, बोडी, चाइनिज क्यापेजलगायत उत्पादन हुन्छ ।

तरकारी र वंगुरपालनको कमाईले वसन्तटारमा ४२ कट्ठा जग्गा किनेर तरकारी लगाएका छन् भने यहीको कमाईले मोरङको केराबारी गाविसस्थित राङचामा २५ कट्ठा जमिनमा कागती, एवोगार्ड(ध्यु फल)को खेती पनि लगाउदैछन् । ‘ठुलो महत्वकांक्षा त्याग्न सक्नुपर्छ, र लगनशील भएर परिश्रम गर्नुपर्छ । हामी विदेशमा गएर रगत पसिना बगाउनै पर्दैन’, युवाहरुलाई उनको सुझाव छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :