बाहिरबाट आउने सुपारीमा प्रतिवन्ध लगाउन सुझाव

यो समाचार 371 पटक पढिएको

काठमाडौं, ३० पुस / व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले किसानले उत्पादन गरेको सुपारी सहज रुपमा बिक्रि बितरण गर्न पाउने गरी नीति तयार पार्न सरकारलाई निर्देशन दिएको छ ।

supariनेपाली किसानले उत्पादन गरेको सुपारीले मूल्य र बजार नपाएको अवस्थामा केही विभिन्न मुलुकबाट आयात हुने सुपारीले सजिलै मूल्य र बजार पाइरहेको भन्दै समितिका सभापति भिष्मराज आङ्गदम्बेले नेपाली किसानले उत्पादन गरेको सुपारीको मूल्य, बजारीकरण, आयात निर्यातका साथै अनुगमन र अनियमिततालाई नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन बाणिज्य मन्त्रालयलाई बिहिबार निर्देशन दिएका हुन् । समितिले बैठकमा बाणिज्य मन्त्री उपस्थित नभएको भन्दै मन्त्रीको आलोचना पनि गरेको थियो ।

बैठकमा सहभागी सभासदहरुले नेपाली किसानले उत्पादन गरेको सुपारीले मूल्य र बजार पाउन नसकेको अवस्थामा तस्कर, सरकारी अधिकारी र नीजि क्षेत्रको मिलोमतोमा बाहिरबाट आपूर्ति भएको सुपारीलाई नेपाली भन्दै अन्तर्राष्ट्रिय बजारमा बिक्रि बितरण भइरहेको मुद्दा कडा रुपमा उठाएका थिए । ‘किसानको समस्याप्रति सरकारले चासो नदेखाएका कारण उनीहरु मारमा परेका छन्’, सभापति आङ्गदम्बेले भने,‘किसानको समस्या तत्काल समाधान गरी आयात निर्यात पद्धतीलाई पनि पारदर्शी रुपमा व्यवस्थापन गर्न सरोकारवाला निकायलाई समितिको तर्फबाट निर्देशन छ ।’ समितिले सुपारी आयात निर्यातलाई व्यवस्थि तगर्न भन्सार बिभाग, उद्योग बाणिज्य महासंघ, बाणिज्य मन्त्रालय, कृषि विकास मन्त्रालयसहित अन्य सरोकारवाला निकायलाई आगामी बैठकमा डाकेको छ ।

समितिको बैठकमा बाणिज्य मन्त्रालयका सचिब नइन्द्र उपाध्याय र सभासदको तथ्यगत कुरा पनि बाँझिएको थियो । सचिब उपाध्यायले नेपाली सुपारी उच्च गुणस्तरको भएर पनि स्थानीय र अन्तर्राष्ट्रिय बजार पाउन नसकेको बताइरहँदा सभासद सीताराम भण्डारीले भने नेपाली सुपारी गुणस्तरयुक्त नहुँदा नीजि क्षेत्रले बाहिरबाट तस्करी गरेर ल्याएको सुपारी नेपाली हो भन्दै अन्तर्राष्ट्रिय बजारमा बिक्रि बितरण भइरहेको भन्दै प्रतिवाद गरेका थिए ।

उनले मलेसिया र सिंगापुरबाट चोरबाटोबाट सुपारी आयात गरेर नीजि क्षेत्र र सरकारी निकायसँग मिलोमतो गरेर उत्पति केन्द्र नेपालको प्रमाणिकरणको आधारमा भारतलगायत अन्य मुलुकमा निर्यात हुँदै आएको जानकारी दिए । ‘चोरबाटोबाट बाहिरबाट सुपारी आयात गरी त्यसको उत्पति केन्द्र नेपाल हो भनेर नीजि क्षेत्र र सरकारी निकायको मिलोमतोमा केही तस्करले प्रमाणिकरणको आधारमा भारतलगायत अन्य मुलुकमा सुपारी निर्यात गर्दैआएका छन्’, सभासद भण्डारीले भने,‘जसको प्रत्यक्ष मार नेपाली किसानले व्यहोर्न बाध्य भएका छन् । सुपारी भित्र ठूलो चलखेल छ । सरकार तत्कालै कडा कदम चाल्नुपर्ने अवस्था छ ।’

अर्का सभासद अनन्तप्रसाद पौडेलले नेपालमा उत्पादन हुने कूल सुपारीको परिमाणभन्दा पनि बढी परिमाणमा भारतसहित अन्य मुलुकमा निर्यातका बिषयमा सरकारले तत्कालै छानविन गर्नुपर्ने सुझाव दिए । सभासद नागेन्द्रप्रसाद थारु, राज्यलक्ष्मी श्रेष्ठ, अम्बिका बस्नेत र दिलमान पाख्रिनले नेपालको कूल मागभन्दा बढी परिमाणमा स्वदेशमै सुपारी उत्पादन भइरहेकाले अन्य मुलुकबाट आयात भएर आउने सुपारीमा प्रतिवन्द लगाउनुपर्ने समितिमा सुझाव राखेका थिए । केही समययतादेखि नेपाली सुपारी किसानले मूल्य र बजार नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गर्दैआएका छन् ।

आव २०७०। ०७१ मा सात अर्ब ३८ करोड रुपैयाँको सुपारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा एक सय ६६ प्रतिशतले बढी हो । आव २०६९।०७० मा दुई अर्ब ७७ करोड रुपैयाँको सुपारी आयात भएको थियो । नेपालमा सुपारी इण्डोनेसिया, सिंगापुर, मलेसियालगायतका देशहरुबाट आयात हुन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षमा ३५ अर्बभन्दा बढी मूल्यबराबरको सुपारी विभिन्न मुलुकबाट नेपालमा आयात भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :