पटनादेखि काठमाडौंसम्म नून अभावको हल्ला

यो समाचार 242 पटक पढिएको

हल्लाकोपछि नलाग्नुहोस्ः सरकार
Salt
काठमाडौं,  भारतको बिहारराज्यको केही जिल्लामा फैलिएको नून अभावको हल्लाले उपत्यकामा समेत प्राथमिकता पाएको छ । उपभोक्ताहरु हल्लाकैपछि लागेर आवश्यकताभन्दा धेरै नून खरिद गर्न थालेपछि कतिपय व्यापारीले मौकाको फाइदा उठाएर प्रतिकिलो १ सय रुपैया भन्दा बढीसम्ममा नून किनवेच गर्न थालेका छन् । सरकारले प्रयाप्त मात्रामा नून स्टक रहेकाले हल्लाकोपछि नलाग्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाले नेपालमा प्रयाप्त मात्रामा नूनको उपलब्धता रहेकाले हल्लाको पछाडी नलाग्न अनुरोध गरे । “भारतको कतिपय जिल्लामा नूनको अभाव रहेको सुन्नमा आएको छ तर नेपालमा साल्ट ट्रडिङसँग प्रयाप्त मात्रामा नून छ,” उनले भने, “हामीसँग प्रयाप्त नून भएकाले हल्लाकोपछि लागेर उपभोक्ताहरु महंगोमा नून नकिन्न अनुरोध छ ।” हल्लाको मौका छोपेर कालोबजारी समेत हुने गरेकाले यसतर्फ उपभोक्ता–व्यापारी सजक रहनुपर्ने उनले बताए ।
नून अभावको हल्ला गतसाता विहारराज्यका केही जिल्लाबाट फैलिएको हो । विहारका केही जिल्लाबाट फैलिएको हल्ला राजधानी पटनामा समेत पुगेको छ भने नेपालका सीमावर्ती पूर्वी तराइका जिल्ला र चितवनहुँदै हल्लाले काठमाडौंमा समेत चर्चा पाएको हो । “नून अभावको हल्ला चितवनमा पनि निकै फैलिएको छ,” चितवनका स्थानीय वृद्धिजीवि विकास पौडेलले भने, “एकातिर उपभोक्ताहरुले धमाधम आवश्यकता भन्दा बढी नून किन्न थालेका छन् भने ब्यापारीहरु समेत नून लुकाएर कालोबजारी सुरु गरेका छन् ।” आफू भने हल्लाको पछाडि नलागेको उनले बताए ।
नून अभावको हल्लाले उपभोक्ताहरु आवश्यकताभन्दा बढी नून किन्न आउने गरेको काठमाडौं मैतिदेवीस्थित न्यौपाने किराना पसलका संचालक किरण न्यौपानेले बताए । “पछि नून नपाइएने हो की भन्ने डरले उपभोक्तारु अरु बेला भन्दा धेरै किलो नून किन्न आइरहेका छन््,” उनले भने, “तर, धेरै किन्न आउनेलाई एक किलो मात्र दिएर हल्लाको पछाडि नलाग्न सम्झाएर पठाउने गरेको छु् ।”
नेपालको लागि नूनको आधिकारिक विक्रेता साल्ट ट्रेडिङ कर्पोरेसनले ७ महिनालाई पुग्ने हुन मौज्दात रहेको भन्दै उपभोक्तालाई नआत्तिने आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले बजारमा हुनसक्ने कालोबजारीलाई मध्यनजर अनुगमन तिब्र पारिएकाले बढी मूल्यमा नून नकिन्न उपभोक्तालाई सचेत बनाएको छ । हाल नूनको मूल्य प्रतिकिलो १५ रुपैया छ । दशै, तिहार र छट समेतलाई लक्षित संचालनमा ल्याइएको सुपथ मूल्य पसलमा भने प्रतिकिलो १३ रुपैयामा नून विक्री भैरहेको छ । पसलहरु संविधानसभासम्म संचालन गरिने सरकराले जनाएको छ ।
नून अभावको हल्ला फैलिन सुरु भएको विहर राज्यका भागलपुर, लखिसराय, पूर्णिया लगाएतका जिल्लामा नून अभाव हुनेहल्लासँग गतसाता नूनको मूल्य भारु १ सय भन्दा बढी पुगेको बिविसी हिन्दि संस्करणको समाचारमा उल्लेख छ । विहारका आपूर्ति विभागका मुख्य सचिव शिशिर मिन्हाले पत्रकार सम्मेलन गरी हल्ला फैलाउने १० जिल्लाका २१ जनालाई गिरफ्तार गरेको जानकारी दिएको विविसीले जनाएको छ । विहारको खाद्य तथा उपभोक्ता संरक्षण विभागले सबै जिल्ला प्रशासनलाई अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा नून वेच्नेलाई मुद्दा दायर गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।
सीमावर्ति भारतका जिल्लाहरुमा अभाव रहेपछि कालोबजारी गरी कतिपय व्यापारीले भारततर्फ पठाएको हुन सक्ने प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव बाँस्कोटाको अनुमान छ । “सुरुसुरुमा कतिपय तराइ क्षेत्रका व्यापारीले मौका छोपेर कालोबजारी गरेको हुनसक्छन्, तर अहिले स्थिति सरकारको नियन्त्रणमा छ,” उनले भने, “नेपाल भर नून उपलब्ध छ, उपभोक्ता हल्ला सुनेर नआत्तिनुहोला ।”

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :