१० करोडको सुन्तला बिक्री

यो समाचार 157 पटक पढिएको

बागलुङ, २५ पुस / बिहु-२ का लोकमान कँडेलले लगाएका एक सय सुन्तलाले आम्दानी दिन थालेका छन्। गत वर्षको तुलनामा सुन्तला कम उत्पादन भए पनि साढे दुई लाख रुपैयाँ कमाएका छन्। सुन्तला फल्ने बेला परेको असिनापानीले असर पुर्या एकाले उत्पादन घटेको कँडेलले बताए। ‘मौसम खराब भएकाले यो वर्ष उत्पादन घटेको छ,’ उनले भने।

कँडेल मात्र होइन, सोही स्थानका गोविन्द कँडेलले पनि बोटबाटै सुन्तला बिक्री गरेका छन्। सुन्तलाको पकेट क्षेत्र बिहुँमा यो वर्ष उत्पादन घटे पनि बोटबाटै बिक्री भएको छ। अधिकांश किसानले बोटबाटै ठेक्का दिएको सुन्तला उत्पादक समूहका अध्यक्ष बालानन्द कँडेलले बताए। बिहुँ–२, किमबोटबाट मात्रै करिब एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ। ‘गत वर्षजस्तो त सुन्तला फलेन,’ कँडेलले भने, ‘किम्बोटका किसानले करिब १ करोड रुपैयाँ कमाए।’

यो वर्ष सुन्तलामा रोग, किराको प्रकोप पनि देखिएको उनले बताए बिहुँका किसानले सुन्तला बोटबाटै धमाधम बेचिरहेका छन्। अहिले बागलुङ, पोखरा, धादिङका व्यापारीले बिहुँ–२ किमबोट पुगेर बगैँचा नै ठेक्कामा किनेका छन्।

एकमुष्ट रकम आउने भएपछि किसानले पनि बोटबाटै बेचेका छन्। यहाँको सुन्तला काठमाडौँ निर्यात हुन थालेको छ। स्थानीय बजारमा बेच्दै अएका किसानले ‘ठूलो बजार’ खोज्दै उचित मूल्यमा बेच्न काठमाडौँ पनि पठाएका छन्। किमबोट गाउँका किसानको मुख्य पेसा नै सुन्तला खेती भएकाले यो सिजनमा लाखौँ आम्दानी गर्छन्। त्यहाँका डेढ सय घरधुरीले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। धेरै हुनेले बगान नै बिक्री गरे पनि थोरै हुनेले आफँै डोकोमा बाग्लुङ बजार ल्याएर बेच्ने गरेका छन्। यहाँका सुन्तला निकै रसिला र स्वादिला भएकाले बागलुङ बजारसहित काठमाडौँ, पोखरा, धरानलगायत बजारमा बिक्री हुने गरेको छ।

बिहुँलगायत भकुण्डे, रेश, दमेक, सिगाना, हरिचौर, रणसिंहकिटेनी, सर्कुवालगायत गाविस सुन्तलाको पकेट क्षेत्रको रूपमा विकास भएको कृषि विकास कार्यालयले जनाएको छ। यो वर्ष विगतको तुलनामा सुन्तला कम फलेको कृषि विकास कार्यालयकी बागवानी विकास अधिकृत महिमा बज्राचार्यले बताइन्। ‘गत वर्षको तुलनामा करिब १५ प्रतिशतले गिरावट आएको छ,’ उनले भनिन्, ‘रोग, किराको प्रकोप र मौसम अनुकूल नहुँदा उत्पादन घटेको हो।’ यो वर्ष करिब तीन हजार मेट्रिक टन सुन्तला फलेको छ। किसानले करिब १० करोड रुपैयाँका सुन्तला बेचेका छन्।

सुन्तलाप्रति किसानको आकर्षण बढेपछि कार्यालयले सुन्तलाको पकेट क्षेत्रको रूपमा विकास गरेको कृषि विकास कार्यालयका प्रमुख विनोद हमालले बताए। ‘सुन्तला टिप्न कार्टुनमा पनि अनुदान दिएका छौँ,’ हमालले भने, ‘यो वर्ष करिब दुई हजार कार्टुन अनुदानमा उपलब्ध गरायौँ।’

किसानलाई सुन्तलामा आकर्षण गर्न तालिम, बिरुवा, सामग्री, भण्डारमा अनुदान दिने गरिएको छ। सिगानाका भीमबहादुर जिसीले सुन्तला भण्डारण गरेर बेमौसममा बेच्नका लागि सेलार स्टोर निर्माण गरेका छन्। उनीसहित बिहुँका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, सिगानाका अनन्त खड्का, दमेकका मणिभद्र सापकोटा लगायतले डेढ लाख रुपैयाँको लागतमा भण्डार गृह बनाएका छन्। ‘बमौसममा बेच्दा भाउ धेरै पर्ने भएकाले कोल्ड स्टोर बनाएका हौँ,’ सापकोटाले भने, ‘स्टोर निर्माण गर्न कृषि कार्यालयले सघाएको छ। केही सुन्तला कोल्ड स्टोरमा राखेर बिक्री गछौँ। व्यापारी घरमै आउने भएकाले सजिलो भएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :