केरामा नयाँखाले रोग

यो समाचार 175 पटक पढिएको

चितवन / रोगले केराको बोट सुक्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। पसाउन ठिक्क परेका मालभोग जातको केराको पात र बोट नै सुक्न थालेको छ।

केराको बोट पहेँलो हुँदै जाने, भित्रको गुवो कुहिने, पसाउने प्रक्रिया पनि रोकिँदै, बोट सुक्दै जाने रोग देखिएको हो। ‘यो खडेरीको समय हैन तर केराका बोट खडेरीले खाएझैँ सुक्न थालेको छ,’ पश्चिम चितवनको मंगलपुरका किसान विष्णु भट्टराईले भने, ‘के हो पत्ता लाउनै सकिएको छैन।’ उनले आठ बिघामा ११ हजार बोट केरा लगाएका छन्।

६ बिघाभन्दा बढी क्षेत्रको केरा सुकेको उनले बताए। ‘११ वर्षदेखि केरा खेती गरिरहेको छु, यस्तो सबै बोट सुकेको मैले देखेको थिइन,’ उनले भने। कृषि कार्यालयका विज्ञले पनि रोग पहिचान गर्न नसकेको उनले उल्लेख गरे। एक बिघाको ५० हजार जग्गा भाडा तिर्नेगरी उनले खेती बिस्तार गरेका हुन्। भाडाबाहेक अहिलेसम्म केरामा १२ लाख बढी लगानी गरिसक्दा फल्ने बेला रोगले हैरानी दिएको गुनासो गरे। राम्रो फलेको खण्डमा उनले आठ बिघाबाट ३० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्थे। अहिले भारतीय नाकाबन्दीको असरले चितवनको केराको माग मुख्य सहरमा बढिरहेको थियो।

केरा सुक्दै गएकाले लगानी डुबेर ऋणमा परिने भो भन्ने अर्को चिन्ताले उनलाई सताउन थालेको छ। उनले पश्चिम चितवनको जगतपुरमा २१ बिघा र पदमपुरमा थप पाँच बिघामा केरा खेती गरिरहेका छन्। उनको जस्तै चितवनका किसानका बगानमा बोट सुक्ने समस्या बढ्दै गएको छ। चित्रसारीस्थित बूढीराप्ती खोलाको किनारमा किसानले लगाएका केरा पनि नपसाउँदै सुक्न थालेका छन्। पूर्वी चितवनका किसानको बारीमा रोपिएका केरा पनि पात सुक्दै जान थालेका छन्।

‘हाम्रो पनि केरा सुकेका छन्, के भएको हो खै,’ किसान राधा भट्ट भन्छिन्। पूर्वी रत्ननगर नगरपालिकासँगै जुटपानी, पदमपुर, चैनपुर, पश्चिम चितवनको जगतपुर र ठिमुरामा व्यावसायिक केरा खेती विस्तार भएका छन्। केरा व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष यज्ञ सुवेदी पनि नयाँ खालको रोग देखेर छक्क छन्। ‘रोग पहिचान गर्न अनेक उपाय गरिरहेको छु,’ उनले भने ‘पत्ता पाउन सकेको छैन।’ उनी पनि पूर्वी चितवनमा बढी केरा खेती गर्नेमा पर्छन्।

चितवनमा पछिल्लो पाँच वर्षमा केरा खेती गर्ने किसान दोब्बरले बढेका छन् भने खेती गर्ने क्षेत्रफल पनि दोब्बर भएको पाइएको छ। उत्पादन भने तेब्बर बढी वृद्धि भएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :