पशुमा पक्षी मिसियो : ‘अब पालो माछा मन्त्रालयको’

यो समाचार 415 पटक पढिएको

काठमाडौं, २५ पुस / पानीभित्र बस्ने माछालाई पशु भन्ने कि पक्षी । माछा माछा नै हो, न पशु, न पक्षी । माछा पालन व्यवसाय फस्टाउँदै गएपछि यसको उत्पादन वृद्धिको लागि कृषि विकास मन्त्रालयले काम गर्दै आएको छ । तर कृषिबाट छुट्टै पशु विकास मन्त्रालय गठन भएपछि माछा कुन मन्त्रालय अन्तर्गत राख्ने भन्नेबारे विवाद भएको छ ।

Fish Development Kendraकृषि विकासले अन्नबाली, तरकारी र फलफूल हेर्ने भएकाले माछालाई समेत पशु मन्त्रालय अन्तर्गत राख्नुपर्ने एकथरीको माग छ । तर अर्काथरी भन्छन्– माछा पशु र पक्षी दुवैमा नपर्ने भएकाले यसलाई हेर्ने छुट्टै निकाय चाहिन्छ । संभव भए माछाको छुट्टै मन्त्रालय चाहिने, नभए अहिले कृषि विकासले नै हेर्दा ठीक हुने उनीहरु बताउँछन् ।

दुईथरी कुरा आएपछि माछा हेर्ने निकाय पनि केहीदिन दोधारमा पर्यो । पहिले पशु मन्त्रालय नभएको बेला माछा पालन हेर्ने निकाय पशु सेवा विभाग अन्तर्गत थियो । पशु विकास मन्त्रालय छुट्टै भएपछि पशु सेवा विभागका अरु सबै निकायजस्तै माछा पालन हेर्ने निकाय पनि स्वभाविक यही मन्त्रालयमै पर्यो ।

मन्त्रालयको नाम पशु विकास भएपछि गाईभैंसी, भेडाबाख्रा, सुंगुरबंगुर पालनमा लागेका व्यवसायी त खुशी भए । तर हाँस, कुखुरा लगायतका पक्षी र माछा पालनमा लागेका व्यवसायीले आफ्नो क्षेत्र नसमेटेको भन्दै गुनासो गरे । उनीहरुले पशु विकासमा पक्षी र माछा पनि समेट्न माग गरे । उनीहरुको माग अनुसार पशु मन्त्रालयको नाम पशुपक्षी तथा मत्स्य विकास मन्त्रालयमा फेरियो । तर लगत्तै मत्स्य हटाएर पशुपक्षी विकास मन्त्रालय मात्र भयो । पशुपक्षीबाट माछालाई झिकियो । मन्त्रालय छुट्टिने बित्तिकै पशु विकासमा परेको माछा फेरि कृषि विकास मन्त्रालयमा परेको छ ।

‘माछाको छुट्टै मन्त्रालय’

माछा पालनमा लागेका व्यवसायीले माछाको छुट्टै मन्त्रालयको माग गरेका छन् । ‘पशु र पक्षीमा माछा नपर्ने भएकाले यसको छुट्टै मन्त्रालय चाहिन्छ’ नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले भन्नुभयो, ‘पशु विकास मन्त्रालयमा त कुनै हालतमा राख्नुहुन्न, बरु अहिलेलाई कृषि विकासमै राखेको ठीक छ ।’ पशु पक्षीमा काम गर्ने डाक्टरलाई माछाको रोगबारे थाहा नहुने भएकाले यसलाई छुट्टै रुपमा हेर्नुपर्ने उहाँको तर्क छ ।

तर पशु स्वास्थ्यमा कार्यरत पेशाकर्मीहरु भने पशु, पक्षी र माछा एउटै निकायमा पर्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि माछालाई पशु, पक्षीको क्षेत्रमा काम गर्ने निकायले नै हेर्ने गर्छन्’ नेपाल पारा भेटेनरी एण्ड लाइफ स्टक एसोसियसनका सल्लाहकार लोकराज भुसाल भन्नुहुन्छ, ‘माछालाई पशु विकास मन्त्रालयमै राखेको भए ठीक हुन्थ्यो ।’

यस क्षेत्रमा काम गर्नेहरुको दुईथरी कुरा आइरहँदा पशु विकासबाट पशुपक्षी विकासमा परिणत भएको नयाँ मन्त्रालयले अझै काम गर्न सकेको छैन । बजेट र कर्मचारी दरबन्दीको टुंगो लाग्न बाँकी भएकाले काम हुन नसकेको हो । अहिले कृषि विकास मन्त्रालयकै पाँचौं तल्लामा नयाँ मन्त्रालयबाट कामचलाउन कार्य भइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :