पूर्वको अलैंचीलाई जित्यो पश्चिमको यार्सागुम्बाले

यो समाचार 323 पटक पढिएको

१२ जिल्लामा झण्डै पाँच अर्बको यार्सागुम्बाको कारोबार

पुष्प दुलाल

काठमाडौं, २५ पुस / कसले भन्छ नेपाल गरीब र विपन्न छ रु पश्चिमको कर्णाली लगायतका १२ जिल्लामा एकै वर्ष ४ अर्ब ९२ करोडको यार्सागुम्बाको कारोबार भएको छ । पूर्वको अलैंची बजार पनि त्यस्तै छ । पूर्वी पहाडको प्रख्यात नगदेबाली अलैँचीलाई पश्चिम पहाडको यार्सागुम्बाले जितेको हो । पूर्वी नेपालमा एक वर्षमा ४ अर्ब २६ करोडको अलैंची उत्पादन भएको छ ।

Yarsha gumba data

यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावका विषयमा नेपाल राष्ट्र बैंकले गरेको एक अनुसन्धानमा अलैंचीभन्दा यार्सागुम्बा बढी उत्पादन भएको पाइएको हो । आर्थिक वर्ष ०७०/०७१ मा पश्चिम र मध्यमाञ्चलका १२ वटा पहाडी जिल्लाबाट एक वर्षमै ४ अर्ब ९२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा संकलन गरिएको छ । यस वर्ष पूर्वी पहाडबाट ४ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्रै अलैंची उत्पादन भएको राष्ट्र बैंकले जनाएको छ ।

दार्चुला, म्याग्दी, डोल्पा, रुकुम, जुम्ला, मनाङ, गोरखा, सिन्धुपाल्चोक, बझाङ, मुगु, रसुवाका साथै पूर्वको संखुवासभाका उच्च पहाडी क्षेत्रमा यार्सागुम्बाको संकलन हुने गरेको छ ।

जिल्लागतरुपमा यार्सागुम्बाको सबैभन्दा बढी उत्पादन दार्चुला र डोल्पामा हुने गरेको छ । यार्सागुम्बाको औषत बजार मूल्य प्रतिकिलो २० लाख रुपैयाँ छ । ‘नेपालमा पाइने यार्सागुम्बा मध्ये डोल्पामा सबैभन्दा बढी गुणस्तरीय रहेको मानिन्छ । डोल्पामा पाइने यार्सागुम्बाको माग र मूल्य दुबै उच्च रहेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

सम्बन्धित जिल्लाका ५० संकलक, २५ व्यापारी, ८ वन कार्यालय, ५ जिल्ला विकास समितिको कार्यालय र ५ वटा जिल्ला उद्योग वाणिज्य संघ गरी कूल ९३ ठाउँमा अध्ययन गरेको राष्ट्र बैंकले जनाएको छ ।

साढे २४ करोड राजस्व

यार्सागुम्बाबाट ०७०/०७१ मा सरकारले २४ करोड ५९ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ । त्यसअघिको वर्ष ११ करोड ७९ लाख र अझ अघिल्लो वर्ष ५ करोड १ लाख रुपैयाँ बराबरको राजस्व उठाएको थियो ।

‘यार्सागुम्बा संकलनका लागि हरेक वर्ष डोल्पामा मात्रै चालीस हजारभन्दा बढी मानिसहरु संकलनका लागि जाने र उनीहरु सरदर तेह्र दिन संकलन क्षेत्रमा बस्ने गरेको देखिएको छ,’ अध्ययनमा भनिएको छ ।

गत बर्षमात्रै औपचारिकतवरले नै यार्सागुम्बा संकलन गर्न डोल्पा जिल्लामा ५३ हजारजना प्रवेश गरेका थिए । यस्तै दार्चुलामा यस वर्ष संकलकहरुको संख्या २५ हजारभन्दा बढी रहेको अनुमान छ । आर्थिक वर्ष ०७०/७१ मा रुकुममा मात्रै २० हजारभन्दा बढी मानिसहरु यार्सागुम्बा संकलन गर्न गएका थिए ।

यस्तै जुम्ला, मनाङ्ग, दार्चुलालगायत यार्सागुम्बा पाइने एक दर्जन जिल्लामा हरेक वर्ष हजारौंको संख्यामा मानिसहरु यार्सागुम्बा संकलन गर्न जान्छन् । यार्सागुम्बाका कारण न्यून आय भएका, पिछडिएका, दलित, जनजातिसहित धेरैलाई आंशिक रोजगारी सिर्जना भएको देखिएको अध्ययनमा उल्लेख छ ।

संकलकहरुका लागि खाद्य तथा अन्य सामाग्री आपूर्ति, होटल व्यवसाय तथा व्यापारको सिलसिलामा पनि उल्लेख्य रोजगारी सिर्जना भएको अध्ययनमा उल्लेख छ । यार्सागुम्बाको आम्दानीले हिमाली क्षेत्रका बासिन्दाका लागि आवश्यक खाद्यान्न सामाग्री खरीद, भौतिक पूर्वाधार निर्माण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको छ ।

यार्सा गुम्बाको ६४ वर्षे इतिहास

नेपालमा यार्सागुम्बा संकलन गर्न थालेको ६४ वर्ष भएको छ । नेपालमा पहिलोपटक यार्सागुम्बाको संकलन पोलुनिन, साइकस र विलियम्सले सन् १९५२ मा जुम्लाको चाकुरे लेकबाट गरेका र त्यसपछि जडीबुटी विभाग, थापाथली र निर्मलकुमार भट्टराईले मुगुबाट यसको संकलन गरेको अनुसन्धानमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार डोल्पामा भने वि।सं। ०४५ देखि यार्सागुम्बाको कारोबार हुन थालेको हो । त्योभन्दा पहिला स्थानीय बासिन्दालाई यसबारे खासै थाहा भएको बताइएको छ । वि।सं। ०४५ तिर यार्सागुम्बा प्रति के।जी। ७०० रुपैयाँमा बिक्री हुने गर्थ्यो ।

०६६ देखि आकर्षण

‘०६६ सालतिर अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको मूल्य एक्कासी आकासिन पुग्यो । त्यतिखेर यार्सागुम्बाको मुल्य प्रतिकिलो २ लाखदेखि ३ लाख ५० हजार रुपैयाँसम्म लाखसम्म पुग्यो । यो मूल्यले गर्दा स्थानीयवासीहरु यार्सागुम्बा संकलनका लागि निकै आकषिर्त हुन पुगे ।’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

त्यसयता प्रत्येक वर्ष जेठ र असार महिनामा हजारौं मानिसहरु यसको संकलनमा लाग्ने गरेका छन् । अझ कतिपय गाउँहरुमा छोराछोरीसहित गाउँलेहरु सबै नै यार्सागुम्बा संकलन गर्न लेकतिर जाँदा थुप्रै विद्यालयहरु यार्सागुम्बाको सिजनमा विद्यार्थी शून्य भई बन्द हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।

Yarshabumbaके हो यार्सागुम्बा ?

यार्सागुम्बा एक प्रकारको च्याउ र लार्भा अवस्थाको पुतलीकोे संयुक्त रुप हो । यो झुसिलकिरा जस्तै त्यही आकार र रंगको देखिन्छ । तिब्बती भाषामा यसलाई यार्चाकुन्बु भनिन्छ । ‘यार’ भनेको वषर, ‘चा’ भनेको झार, ‘कुन’ भनेको हिँउद र ‘बु’ भनेको किरा हो । वषरयाममा झारका रुपमा रही हिउँदमा किराका रुपमा रुपान्तरण हुने भएकाले हिमाली भेगमा यसको नाम यार्चाकुन्बु रहन गएको हो ।

नेपालका हिमाली जिल्लाहरुमा यार्सागुम्बा नाम यार्चाकुन्बुबाट नै रहेको हो भन्ने मान्यता पाइन्छ । साथै नेपालमा यसलाई स्थान अनुसार विभिन्न नाम दिइएको पाइन्छ जस्तै किरा घाँस, किरा झार, जीवनबुटी, संजीवनी, किरा, जरा, इत्यादि ।

यार्सागुम्बा एक बहुमूल्य जडिबुटी हो । यसमा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिबर्द्धक, रक्तअल्पता, छाती तथा फोक्सोको संक्रमण, क्षयरोग, हेपाटाईटिस बी, मृगौला, कलेजोसम्बन्धी रोगका औषधि बनाउन प्रयोग हुने गर्दछ ।

समुद्र सतहबाट करीव ३५०० मिटरदेखि ५५०० मिटरसम्मको उचाईमा यसको उत्पादन हुने गरेको छ । नेपालीहरु जेठ महिनाका सुरुदेखि असार महिनाको मध्यसम्म यार्सागुम्बा संकलनका लागि हजारौं सर्वसाधारण जाने गर्छन् । यार्सागुम्बाको प्रमुख बजार चीन हो भने सिंगापुर, मलेसिया, कोरिया, थाईल्याण्ड, जापान, बेलायत र अमेरिकामा पनि यसको कारोवार हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :