बाख्रापालनले फेरिएको साप्तिङटार

यो समाचार 450 पटक पढिएको

धनकुटा, २२ पुस / वर्षभरि खेतबारीमा गरेको परिश्रमले ३ महिना पनि राम्रोसँग खान नपुग्ने धनकुटाको साप्तीङटारका महिलाले पछिल्ला वर्षमा व्यावसायिक बाख्रापालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । समूह नै गठन गरेर व्यावसायिक बाख्रापालनमा लागेपछि महिलाको जीविकोपार्जन सहज बनेको छ ।
Goat६ वर्षअघि उपहारमा पाएको पाठाबाट बाख्रापालन सुरु गरेकी साप्तिङटारकी सावित्रा खपाङ्गीको गोठ अहिले खसीबाख्राले भरिभराउ छ । सोही ठाउँकी दुर्गा पौडेलको परिवारको आम्दानीको मुख्य स्रोत पनि अहिले बाख्रापालन नै बनेको छ ।

खपाङ्गी र पौडेल त उदाहरणमात्र हुन्, उनीहरू जस्तै आँखीसल्ला गाविसको साप्तिङटारका ६ वटा समूहमा आबद्ध १३२ महिला व्यावसायिक बाख्रापालनबाट राम्रो कमाइ गरिरहेका छन् । हरेक परिवारले १५ देखि ४० वटासम्म बाख्रा पालेका छन् । “व्यावसायिक बाख्रापालनबाट आम्दानी हुन थालेपछि पैसा चाहिएका बेला साहूको ढोका ढक्ढक्याउन जानुपरेको छैन,” सावित्रा भन्छिन्, “आफूसँग चिज भएपछि ढुक्कै, बेच्यो, काम चलायो ।”

जमुनापारी जातको पाठा ६ महिनामै २० किलोसम्म हुन्छ । खोरबाटै बोका प्रतिकिलो ५०० र पाठी ४०० रुपैयाँमा बिक्ने गरेको खपाङ्गीले बताइन् । बिहानी, जागृति, मखमली, प्रगति, सहनशील र सयपत्री समूहमा आबद्ध महिलाले बाख्रापालनलाई व्यावसायिकता दिन घुम्ती कोषसमेत सञ्चालन गरेका छन् । हरेक समूहमा २५ जनासम्म महिला छन् । जनही मासिक ५० रुपैयाँ जम्मा गर्छन् ।

घर चलाउन केही पैसा आवश्यक परे पनि सधैं फिटफिटीमा पर्ने महिला आत्मनिर्भर बन्न सकेकोमा खुसी छन् । “समुदायमा कसैलाई अप्ठ्यारो पर्दा सहयोग गर्न सक्षम भएका छौं,” पौडेल भन्छिन् । फस्टाउँदो बाख्रापालन र यो पेसामा स्थानीयको दिलचस्पी देखेपछि विभिन्न संघ–संस्थाले सहयोग पनि गरेका छन् । अहिले व्यावसायिक बाख्रापालनमा लाग्न चाहनेहरू जमुनापारी र स्थानीय खरी जातका बीउ बोका र पाठी खरिदका लागि साप्तिङटार पुग्ने गरेको कृषक खगेन्द्र भण्डारी बताउँछन् ।

प्रशस्त सम्भावना देखेर व्यावसायिक बाख्रापालनमा लागेका स्थानीयले ठूला र मझौला फार्म सञ्चालनका लागि सहुलियत दरको ऋण सुविधा, बिक्रीका लागि भरपर्दो बजार, गाउँमै उपलब्ध गराइदिन एवं विभिन्न खोप र पशु चिकित्सकको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

सरकारी तवरबाट खोर सुधार र खोपलगायतका सुविधा उपलब्ध नभएको स्थानीको गुनासो छ । “८ हजार बाख्राका लागि १ जना स्वास्थ्य प्राविधिक छन्, त्यो पनि गैरसरकारी संस्थाले तालिम दिएका,” स्थानीय भुपाल पौडेलले भने, “व्यवसायउन्मुख कृषकलाई सहुलियतका कार्यक्रम दिएर प्रोत्साहन गर्नुपर्छ तर राज्यले त्यो गरेको छैन ।”

रचनात्मक प्रतिक्रिया दिनुहोस् :