भारतीय नाकाबन्दीले दूध उत्पादन घट्यो

यो समाचार 310 पटक पढिएको

भक्तपुर, २२ पुस / नाकाबन्दीले बजारमा दाना उपलब्ध हुन नसकेपछि जिल्लामा दूध उत्पादन आधा घटेको छ।

Milknewsagro.comउत्पादित दूध पनि ढुवानी हुन नसक्दा खेर गएको पशुपालक किसानले गुनासो गरेका छन्। किसानका अनुसार हरियो घाँस नहुने यो सुक्खा मौसममा पशुलाई दाना नभई हुँदैन तर भारतीय नाकाबन्दीका कारण बजारमा दाना उपलब्ध छैन।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ भक्तपुरका अनुसार दाना उपलब्ध नहुँदा पशु बचाउन नै किसानलाई हम्मेहम्मे हुँदै आएको छ। ‘सुक्खा भएर खेतबारीमा हरियो घाँस पनि छैन, नाकाबन्दीले बजारमा दाना पनि छैन,’ संघका अध्यक्ष हरिप्रसाद नेपालले भने, ‘दूध लिनेभन्दा भएका पशु जोगाउन नै किसानलाई हम्मेहम्मे भएको छ।’

उनले दाना नभएर किसानको दूध आधाभन्दा बढीले घटेको जानकारी दिए। उत्पादित दूधको पनि फ्याटको कमीले कम भाउ पाइने त कतै ढुवानी नै हुन नसकेकाले खेर गइरहेको उनले बताए। उनका अनुसार प्रतिफ्याट १२ रुपैयाँसम्म पाइने दूधको मूल्य अहिले आठ रुपैयाँमा झरेको छ।

अध्यक्ष नेपालले भूकम्पले थलिएका किसान नाकाबन्दीपछि पशुपालनबाट विस्थापित हुने सम्भावना बढेको बताए। ‘लगानीअनुसार दूध उत्पादन हुन सकेको छैन। भएको दूध पनि बिक्री भइरहेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा किसानलाई पशुपालन छोड्नुको विकल्प छैन।’

किसानका अनुसार हरियो घाँस नहुने यो सुक्खा मौसममा पशुलाई दाना नभई हुँदैन तर भारतीय नाकाबन्दीका कारण बजारमा दाना उपलब्ध छैन। संघका अनुसार जिल्लामा करिब तीन हजारको हाराहारीमा दुग्ध उत्पादक किसान छन्। उनीहरूबाट दैनिक २५ हजार लिटर दूध उत्पादन हुँदै आएकोमा भूकम्पले एक हजार लिटरमा झरेको संघको दाबी छ।

‘आहारा कम भएपछि दूध उत्पादन घट्नु स्वाभाविक हो’, जिल्ला पशु सेवा कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ पशु चिकित्सक बलबहादुर चन्दले भने, ‘भारतीय नाकाबन्दीले बजारमा दाना छैन। किसान परालको भरमा पशु पालिरहेका छन्। परालले कहिलेसम्म थेग्छ त्यो पनि भन्न सकिन्न।’

उनले भक्तपुरमा केही महिनाअघि मात्रै खोरेतको महामारी फैलिएकाले पनि दूध उत्पादनमा भारी गिरावट आएको जानकारी दिए। बजारमा दाना उपलब्ध नभएकाले पीडित किसानलाई राहतस्वरूप घाँस रोप्न सहयोग गरेको चन्दले जानकारी दिए।  उनका अनुसार भूकम्प र भारतीय नाकाबन्दीले पशुपालनमा मध्यकालीन र दीर्घकालीन असर परेको छ। भूकम्पले भन्दा भारतीय नाकाबन्दीले जिल्लाको पशुपालनमा दीर्घकालीन घाटा भएको उनको भनाइ थियो।

पशु सेवा कार्यालयका अनुसार भक्तपुरमा २२ हजार ६ सय ६८ वटा गाई र आठ हजार चार सय २९ भैंसी पालिएका छन् । यी गाईभैंसीबाट वार्षिक १९ हजार दुई सय ३४ मेट्रिक टन दूध उत्पादन हुने कार्यालयले जनाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :