खाद्यले प्याकेजिङ, लेबलिङ र विज्ञापन छुट्टै नियमाबली ल्याउने

यो समाचार 324 पटक पढिएको

काठमाडौं, २० पुस / सरकारले खाद्य पदार्थको गुणस्तर निर्धारण गर्न प्याकेजिङ, लेबलिङ तथा विज्ञापनसँग सम्बन्धित छुट्टै नियमावली ल्याउने तयारी गरेको छ ।

Dftqcखाद्य पदार्थको अब्यवस्थित उत्पादन तथा बजारीकरणका कारण उपभोक्ता ठगिने क्रम बढिरहेको अवस्थामा कृषि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ नियमावलीको खाका(ड्राफट) बनाउन थालेको हो ।

बिभागका महानिर्देशक संजिव कर्णकाअनुसार नयाँ नियमावलीले खाद्य पदार्थको अब्यस्थित विज्ञापनलाई नियमन गर्नेछ । हाल बिद्यमान खाद्य ऐनले पनि बिज्ञापनलाई समेट्न सकेको छैंन् । हालको खाद्य नियमावलीले लेवलीङ, प्याकेजिङ र विज्ञापनको नियमनका विषयमा स्पष्ट ब्यवस्था गर्न नसकेको भन्दै यसै आर्थिक वर्षमा तयार हुने गरी नयाँ नियमावलीको तयारीमा लागेको विभागले जनाएको छ ।

अहिलेसम्म प्याकेजिङ र लेवलिङसँग सम्बन्धित छुट्टै बिशिष्ट व्यवस्था भएको नियमावली नहुँदा उत्पादित बस्तुको उत्पादन मिति, उपभोग्य मिति, मूल्य, त्यसमा प्रयोग भएको वस्तुहरु स्पष्ट नलेख्नेदेखि विना लेबलका उत्पादनसमेत बजारमा पुग्ने गरेको गुनासो उपभोक्ता अधिकारकर्मीको रहँदै आएको छ ।

विभागले नियमावली तयारीको लागि आइतबारदेखि सरोकारवाला निकायसँग छलफल थालेको छ । “सरोकारवाला निकायको छलफल र प्रतिक्रियालाई समेत समेटेर नियमावलीको मस्यौदा तयार गर्ने काम भैरहको छ,” मस्यौदा तयारीका लागि प्राविधिक समितिका प्रमुख तथा विभागका पूर्व उपमहानिर्देशक गणेश दवाडिले विभागमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा भने, “अन्तराष्ट्रिय मापदण्ड, सन्धी सम्झौता र विकसित राष्ट्रको अभ्यासबाट समेत सहयोग लिएर दस्तावेज तयार गर्दैछौं ।” विशेषगरी आयात हुने खाद्य पदार्थ अब्यवस्थित विक्री वितरण भइरहेको बताउने उनले आयात ब्यस्थित र यहाँ उत्पादित वस्तुको गुणस्तरमा सुधार ल्याउनसमेत नियमावली सहयोगी हुने बताए ।

हालको खाद्य नियमावली ४५ वर्ष पुरानो भएकाले नयाँ विषयवस्तु समेट्न नसकेकाले पुरानो नियमावलीमा भएको आवश्यक कुरालाई निरन्तरता दिदै नयाँ विषयबस्तु अद्यावधिक गरिने दवाडिले बताए ।

नियमावली लागू भएमा खाद्य वस्तु उत्पादकहरुले प्याकेजिङ गर्ने कच्चा पदार्थ तथा उपकरणहरुसमेतको अवस्थाबारे सरकारी निकायलाई जानकारी गराइ तोकिएको मापदण्ड अनुरुप मात्र प्याकेजिङ गर्नुपर्नेछ । उत्पादित वस्तुको लेबललाई थप ब्यवस्थित गर्दै उत्पादकले स्पष्ट भाषामा बुझिले गरी वस्तुको तौल, उत्पादन तथा उपभोग्य मिति, मूल्यका अलावा सो उत्पादनमा प्रयोग भएको वस्तुहरुका बारेमा पनि प्याकेट बाहिर स्पष्ट लेख्न बाध्यकारी हुनेछ । नियमावलीले खाद्य पदार्थको भ्रामण विज्ञापन गर्न निरुत्साहन गर्नेछ । नियमावलीले ‘लेबलिङ’ लाई उपभोक्ताको सूचनाको हकको रुपमा स्थापित गरी लागू गर्न भूमिका खेल्ने विश्वास लिइएको विभागले जनाएको छ । विभागले आवश्यक सल्ला सुझावको लागिसमेत उद्योगी, उपभोक्ताअधिकारकर्मी, सरकारी तथा गैरसरकारी निकाय तथा उपभोक्तासँग प्रतिक्रियाको लागि आब्हानसमेत गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :