कृषिमा पैंचोको फड्को, यसैवर्ष लगानी १५ करोड पुर्याइने,

यो समाचार 457 पटक पढिएको

बुटवल, २० पुस / पाल्पा र गुल्मीमा कारोवार गर्दै आएको पैंचो पसल प्रालिले यसै वर्ष भित्र लगानी बढाएर १५ करोड पुर्याउने भएको छ । गुल्मीको बलेटक्सारमा सम्पन्न प्रालिको दोस्रो साधारणसभाले लगानी बढाउने निर्णय गरेको हो ।

Paicho agro store

पैंचो पसल प्रालिले बुटवलमा पत्रकार सम्मेलन गरी साधारणसभा र अहिलेसम्मका गतिविधिबारे जानकारी गराएको छ । सञ्चालकहरुका अनुसार पैंचो पसलमा अहिलेसम्म आठ करोड लगानी भैसकेको छ । पैंचो पसलमा यसै वर्षभित्र सात करोड लगानी थप भै १५ करोड पुग्ने अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । अध्यक्ष भण्डारीले आगामी ५ वर्षभित्र ३० करोड लगानी पुर्याइ कृषिजन्य उत्पादनको वृद्धि गराउने लक्ष्य रहेको बताए । आगामी दिनमा यसको दायरा अझ बढी वृद्धि गरी कृषकहरूलाई उत्पादनमा प्रोत्साहित गर्ने, कृषिको उत्पादकत्व बढाउन पहल गर्ने, कृषि उत्पादनको बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्र जीडीपीलाई माथि उकास्न प्रयत्न रहने प्रालिका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले बताए ।

गुल्मी र पाल्पाका कृषकहरुबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तुहरू (फलफूल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटी) खरिद गरी उपभोक्तालाई सुलभ मूल्यमा बिक्री गर्ने उद्देश्यले खोलिएको पैंचो पसल प्रालीको दोस्रो साधारण सभाले आर्थिक वर्ष २०७२/७३ का लागि संचालक समितिले निर्धारित गरेका योजनाहरूलाई पारित गरेको न्यौपानेले जानाकारी दिए ।

२०७१ भदौ १ गते बलेटक्टारमा पहिलो आउटलेट खोली परीक्षण सञ्चालन गरी आएको पैंचो पसल प्रालिले बलेटक्सारमै गत पुष १५ गते भव्य उद्घाटन पनि गरेको छ । गुल्मी क्षेत्र नं. २ का सभासद् चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा पूर्व शिक्षामन्त्री एवं एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्मा, पूर्व पर्यटनमन्त्री एवं एमाले केन्द्रीय कमिटी सचिव प्रदीप ज्ञवाली, पूर्व मुख्य सचिव लिलामणि पौडेल र कृषि विभागका महानिर्देशक युवकध्वज जीसीको बिशेष उपस्थिति रहेको थियो । त्यसअवसरमा, प्रमुख अतिथि र विशिष्ठ अथितिहरूले पैंचो पसल जस्ता पसलहरू देशका अरु भागमा पनि खोलिनुपर्ने र राज्यले पैंचो जस्ता संस्थाहरूसग सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

विभिन्न स्थानका २९ जना शिक्षित युवाहरु बाट संचालन गरेको पैचो पसल अहिले पाल्पा, गुल्मी हुदै तराईका जिल्ला रुपन्देहीसम्म पुग्न सफल भएको छ । किसानले उत्पादन गरेको सरसमान विचौलियाबाट ठगिने प्रवृत्ति निकै बढेकोले, किसानले सिधै बजार भाउ अनुसार मुल्य पाउने, उनीहरुलाई चाहिने बीऊविजनदेखि, जैविक मल, दैनिक घरायसी वस्तुहरुमा पैंचो पसलले सहयोग गर्दै आएको छ ।

पैंचो पसलले गुल्मी र पाल्पाका ६ स्थानमा आफ्नै पसल सञ्चालन गरिरहेको छ । गुल्मीको बलेटक्सार, हुंगा, दिगाम, रुरु, पाल्पाको अर्गली र बुटवलमा रहेको कोल्डस्टोरमा दैनिक लाखौं रुपैयाको उत्पादन खरिदबिक्रि हुने गरेको प्रबन्ध निर्देशक न्यौपानेले बताए । यस्तै, हर्दिनेटामा तीनवटा, ग्वादी, थानापति, हुंगा झेद्री, हुंगा गुन्टुङ, दिगाम अंगाहा, लुम्सा, रेसुङ्गा नगरपालिका देउराली, डांडापोखरी दिगाममा गरी थप ११ वटा पसलहरू पैंचो पसल प्रालीसग सहकार्य गरी स्थानीय किसान र व्यवसायीहरूले सञ्चालन गरिरहेको सञ्चालक राजन पौडेलले बताए ।

Paicho agro Store 2

कृषक तथा उपभोक्ताहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री (खाद्यान्न, लत्ताकपडा), कृषि सामाग्री, इलेक्ट्रोनिक्स सामाग्री लगायतका वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराई सो वापतमा पैंचोको रुपमा वा वस्तु विनिमय गर्ने गरी स्थापित पैंचो पसलले बुटवलको सुख्खानगरमा स्तरीय कोल्डस्टोर एवं बिक्रि कक्ष स्थापना गरेको छ ।

विशुद्ध पहाडी गाउमा उत्पादित कृषिजन्य उत्पादन शहरी उपभोक्तामाझ लोकप्रिय भएको छ । स्थानीय कृषक तथा साना उद्यमीहरुबाट उत्पादित कुनै पनि सामानको मूल्यांकन गरी एक आपसमा सट्टापट्टा गर्ने विनिमय पद्दतीमा गुल्मी र पाल्पाका किसान र एवं बुटवलसम्मका उपभोक्ता उत्साहपूर्वक सहभागी भएको प्रालिले जनाएको छ ।

गुल्मी र पाल्पाका किसानहरूसँग खरिद गरिएको तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुहरू बलेटक्सार, रिमुवा, हर्दिनेटा, बम्घा, अस्लेया, अर्गली लगायतका ठाउँमा रहेका आफ्नै संकलन केन्दबाट संकलन गरी बुटवलमा ल्याई बिक्रीवितरण भैरहेको छ । पैंचो पसलकै प्रत्यक्ष निगरानीमा गुल्मीमा मात्रै ४० हजार हेक्टर भूमिमा कृषकहरू कृषि उत्पादनमा सहभागी रहेको प्रालिको दावी छ । यस आर्थिक वर्षमा एकलाख हेक्टर भूमिमा कृषि उत्पादन गराउने गरी किसानहरूलाई उत्पे्ररित गरिरहेका प्रवन्ध निर्देशक न्यौपानेले बताए ।

उनले प्रालीले कृषकहरूलाई व्यवसायिक र अर्गानिक कृषि उत्पादनतर्फ उन्मुख गराउन, गुणस्तरीय कृषि उत्पादनका लागि पैंचो बीउबिजन एवं कृषि औजार वितरण कार्यक्रम अघि बढाउन ‘पैंचो कृषि विकास कोष’ को पनि शुभारम्भ गरेको जानाकारी गराए । पैंचो पसल प्रालीले संचालन गर्न गैरहेको पैंचो उद्योग निर्माणको चरणमा रहेको छ । प्रसिद्ध धार्मिक स्थल रुरु गाविसको रिडी नजिकै स्थापित यस उद्योगले जुस, जाम, सस, अचार, आटो, पिठो, सिन्की, मस्यौरा लगायत दर्जनौं कृषिजन्य वस्तुको उत्पादन र प्रशोधन गर्ने लक्ष्य लिएको प्रालिले जनाएको छ ।

पैंचो पसल प्रालीले स्थापनाको डेढ वर्षको बीचमा प्रालिसग सहकार्य गर्ने उत्कृष्ट किसान र किसान सम्बद्ध समूहलाई सम्मानित समेत गरेको पत्रकार सम्मेलनमा जानाकारी दिइयो । सम्मानित हुनेहरूमा हर्दिनेटाका लाल शर्मा, हर्दिनेटाकै केशव पाण्डे, गुणस्तरीय तथा बेमैसमी कृषि उत्पादक किसान रुरुका राजेन्द्र राणा, दिगामका रामकृष्ण कँडेल, हुंगाका जीवन भण्डारी, रिमुवाका गिरी पचभैया रहेका छन् । यसैगरी, पाल्पा अर्गलीको भण्डारी डाँडा कृषि फर्म, पाल्पाकै बौवा पोखराथोक गाविसका कृषक झपिन्द्र रायमाझी, वर्षे काउली खेतीमा उत्कष्ट कृषक टेकन गिरी, ठुलापोखरा तरकारी उत्पादक समूहका अध्यक्ष गणेश खराल रहेका छन । पैंचो वर्ष सर्वोत्कृष्ठ कृषकको सम्मान अस्लेवा गाविसका अर्जुन कनोजेले प्राप्त गरे ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :