जुनारले बदलिएको जीवनशैली

यो समाचार 150 पटक पढिएको

सिन्धुली / जिल्लाका हरेकजसो बजार यतिबेला जुनारले पहेंलपुर छन्। फलफूल पसलमात्र होइन, सडक–सडकमा जुनार बेच्नेको भिड देखिन्छ। सिन्धुली रसिलो जुनारको ‘राजधानी’ का रूपमा देश र बाहिरसमेत परिचित छ।

जुनार नेपालको आफ्नै मौलिक पहिचान र विशेषताको, सिट्रस वर्गको फल हो। जिल्लाका ५० गाविस र २ नगरपालिकामध्ये ४५ गाविस फलफूल उत्पादनका हिसाबले उपयुक्त छन्। सुन्तला जातका फलफूल यहाँ बढी उत्पादनको सम्भावना छ। जुनार सिन्धुलीमा मात्र नभई अन्य जिल्लामा पनि थोरै मात्रामा उत्पादन हुन्छ। तर, सिन्धुलीमा फल्ने जुनार फरक विशेषतायुक्त छ। जुनारको दाना पहेंलो मात्र होइन, अन्य स्थानको तुलनामा बढी रसिलो र गुलियो छ भनिन्छ।

वर्षको ४ महिना बगैंचामा पसिना बगाउँदा लाखौं रुपैयाँ आम्दानी गर्न सकिने भएपछि जुनार खेतीमा किसान आकर्षित छन्। बर्सेनि करिब ८ लाख रुपैयाँ आम्दानी गर्ने रतनचुराका किसान योगेन्द्र थापा जुनार बगंैचामा पसिना बगाँउदा छुट्टै आनन्द आउने बताउँछन्। ‘फलेको समयमा जताततै पहेंलपुर हुन्छ, अरूबेला हरियाली,’ उनले भने। सिजन भएपछि व्यापारी पैसाको मुठो बोकेर बोटमै जुनार किन्न आउँदा थप आनन्द आउने किसान बताउँछन्। रतनचुरा, तीनकन्या, बाशेश्वर र जलकन्याका किसानले अन्य बाली मासेरै जुनार लगाइरहेका छन्। जुनारको जति आम्दानी अरू बालीबाट नहुने अनुभव बोकेका बाशेश्वरका शेरबहादुर मगर आफ्नो अधिकांश जमिनमा जुनार लगाउने योजनामा छन्। मगरले जुनारको नर्सरीसमेत राखेका छन्। ‘जुनारको फलमात्र होइन, बिरुवा पनि बेच्छु, जसबाट परिवार राम्रोसँग पाल्न पुग्छ,’ उनले भने।

२०३६ सालमा जुनारको व्यावसायिक खेती सुरु भएको इतिहास छ। सुरुमा यसको खेतीबाट किसान निरास थिए। सहज बजार पुर्याुउन नसकिने र डोकोमा बोकेर बजार पुर्याउँदा पनि राम्रो मूल्य नपाउने भएपछि किसानले उत्पादन गरेको जुनार बोटमै कुहिन्थ्यो। तर, जुनारले सिजन नै नभई राम्रो आम्दानी दिन थालेपछि यसको व्यावसायिक खेती गर्ने किसान थपिँदै छन्। पकेट क्षेत्रका रूपमा चिनिएका गाविसबाट वर्षमा ५ करोड रुपैयाँभन्दा बढीको जुनार बिक्री हुने गरेको सिन्धुलीस्थित जुनार विकास संघले जनाएको छ। संघका अनुसार जुनारबाट जिल्लामा बर्सेनि २५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।

लामो समयदेखि जुनार खेतीमै आत्मनिर्भर तीनकन्याका लालबहादुर श्रेष्ठ जुनार बिक्री गर्न ग्राहक खोज्नै नपर्ने बताए। रसिलो र गुलियो हुने भएकाले यहाँको जुनार किन्न बोटमै ग्राहक पुग्ने गरेको उनको भनाइ छ। यसको खेती बढाउने सोचमा धेरै किसान छन्। बढ्दो बेरोजगारी र युवा विदेश पलायन रोक्न जुनार खेतीले सघाएको छ। रामेछाप र सिन्धुलीमा चर्चा बटुलेको जुनार खेतीमा १ हजार ५ सयभन्दा बढी युवाले रोजगारी नै पाएको अनुमान छ। जुनारको आम्दानीले किसानको जीवनशैलीसमेत बदल्दैछ।

यो वर्ष भने जुनारमा एक प्रकारका कीरा लाग्न थालेकाले किसान चिन्तित भएको जुनार सहकारी संघ अध्यक्ष निर्मलकुमार रम्तेलको भनाइ छ। विगत वर्षमा उत्पादन बढिरहेको जुनार यो वर्ष भने घटेको छ। उत्पादन झन्डै ३५ प्रतिशत कम हुने किसानको अनुमान छ। जुनारमा फल कुहाउने झिँगाको समस्या देखिएको हो। सबैजसो बगैंचामा यो प्रकोप देखिएको किसानले बताए। किसान एकजुट भएर प्रयास गरे यसको सजिलै निराकरण गर्न सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले जानकारी दिए। किसानको आम्दानीको पहिलो स्रोत जुनार भएकाले जुनार विकास गर्न कार्यालयले विभिन्न चेतनामूलक गतिविधिसमेत गरेको उनको भनाइ छ।

बिपी, मध्यपहाडीजस्ता ठूला राजमार्ग निर्माणसँगै जुनारको महत्व बढेको छ। देशका विभिन्न ठूला तथा साना सहरलगायत विदेशमा समेत यहाँको जुनार निर्यात हुन थालेको छ। जुनार भारत चीनलगायत देशमा निर्यात हुन थालेपछि यसको महत्व बढेको हो। यसको विदेश निर्यात सम्भावना भएपछि बाह्रैमास ताजा राख्न जिल्लामा फलफूल प्रशोधन उद्योग नेपालमै पहिलोपटक बनेको छ।

निर्माण सम्पन्न हुनै लागेको उद्योगले यसै वर्षदेखि जुनार खरिद गर्ने जुनार केन्द्रीय विकास संघ अध्यक्ष तथा उद्योग सञ्चालक समितिका दीपक कोइरालाले जनाए। ३३ जुनार सहकारी संघमार्फत संकलन गरी जुनारलाई उद्योगसम्म ल्याउने तयारी छ। सरकारको २ करोड ५० लाख, विभिन्न उद्योग व्यवसायीबाट १ करोड २५ लाख, जुनार केन्द्रीय सहकारी संघअन्तर्गत जुनार किसानबाट १ करोड २५ लाख र अन्य निकायबाट रकम जम्मा गरी ७ करोड रुपैयाँको लगानीमा जुस उद्योग खोल्ने तयारी छ। उद्योग खुलेपछि ३ हजार १ सय ८५ किसान परिवार प्रत्यक्ष लाभान्वित हुने छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :