‘मासु’ र ‘अन्डा’ मा आत्मनिर्भर

यो समाचार 409 पटक पढिएको

चितवन, १८ पुस /नेपालमा आधुनिक कुखुरा पालन व्यवसाय सुरु भएको शुक्रबारबाट ५५ वर्ष पूरा भएको छ। २०१७ साल पुस १७ मा बाराको परवानीपुरमा सेन्ट्रल ह्याचारी स्थापना भएको थियो। सोही दिनलाई आधुनिक कुखुरा पालनको सुरुवात भएको दिन मान्दै व्यवसायीले ‘राष्ट्रिय पोल्ट्री (कुखुरापालन व्यवसाय) दिवस’ मनाउँदै आएका छन्।

Eggसरकारले नै २०७० सालदेखि पोल्ट्री दिवस मनाउन थालेको हो। यो वर्ष तेस्रो पोल्ट्री दिवसको मुख्य कार्यक्रम झापामा हुँदैछ। यसका साथै पोल्ट्री क्षेत्रको विकास भएका अन्य जिल्लामा पनि कार्यक्रम आयोजना हुने नेपाल अन्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्ष शिवराम केसीले जानकारी दिए।

पोल्ट्रीले देशको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान दिएको व्यवसायीको दाबी छ। नेपालमा मासुका लागि ब्रोइलर र अन्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने चलन छ। लेयर्सको अन्डा खैरो रंगको हुने भएकाले भारतीय कुखुराले दिने सेतो अन्डाभन्दा भिन्न छ। मासु र अन्डामा नेपाल आत्मनिर्भर भएको व्यवसायीले बताएका छन्।

चितवनलाई पोल्ट्रीको राजधानी मानिन्छ। वैशाखको भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले यो व्यवसाय तहसनहस भएको छ। पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराई भूकम्पपछि केही थला परेर जुर्मुराउन थालेको व्यवसाय मधेस आन्दोलन र नाकाबन्दीले चौपट बनाएको बताउँछन्। नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार नाकाबन्दी र आन्दोलनका कारण अन्डा उत्पादन कम्तीमा ३० प्रतिशत कटौती भएको छ। नाकाबन्दीअगाडि नेपालमा दैनिक १८ लाख गोटा अन्डा उत्पादन हुने गरेको उनको भनाइ छ।

हेम्पसायर जातका माउ चल्ला उत्पादन गर्न परवानीपुरमा १७ सालमा ह्याचरी स्थापना भए पनि व्यावसायिक कुखुरापालन ४० को दशकपछि मात्रै फस्टाएको व्यवसायी बताउँछन्। चितवनमा २०५२ सालपछि कुखुरापालनले फड्को मार्न थालेको हो।

नेपालमा कुखुरा पालन व्यवसायमा करिब ६० अर्ब रुपैयाँ लगानी भएको नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष शंकर कँडेलले बताए। पोल्ट्री व्यवसायले डेढ लाखजनालाई प्रतक्ष रोजगारी दिएको उनले जानकारी दिए। पोल्ट्रीको द्रुत विकास भए पनि सरकारी तवरमा त्यसलाई सम्बोधन गर्ने कार्यक्रम नभएको व्यवसायी बताउँछन्। दानाको लागि कच्चा पदार्थ लगभग भारतबाटै आउने गरेको छ। भन्सार छलेर ल्याउने चल्लाले ब्रोइलर पालनमा संकट ल्याएको छ। कर छुट भन्सार छुटजस्ता नीति नभएको व्यवसायीको भनाइ छ।

‘बजार मूल्य स्थीर राख्न सरकारले नै पाँच विकास क्षेत्रमा मासु उद्योग स्थापना गरे धेरै राम्रो हुन्थ्यो,’  अग्रणी पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले भन्ने गरेका छन्। कुखुरालाई लाग्ने रोगको उचित उपचारका लागि अस्पताल छैनन्। बर्ड फ्लु, रानीखेत, गम्बारो जस्ता रोगले बेला–बेलामा निकै दुःख दिने गरेको छ। ‘लागत घटाएर उत्पादनलाई प्रतिस्पर्धी बनाउन र मासु तथा अन्डाको खपत बढाउन सरकारले नीति बनाउन आवश्यक देखिएको छ। व्यवसायीको हित संरक्षलाई पनि ख्याल गर्नु पर्छ। उपभोक्तालाई सस्तो र स्वस्थ्य उत्पादन दिन हामी तयार छौं,’ अन्डा उत्पादक संघका अध्यक्ष केसीले भने। कुखुराको मासुलाई सस्तो प्रोटिन भन्ने गरिन्छ।

त्यस्तै कुखुराको अन्डामा पनि प्रोटिनका साथै क्याल्सियम, फस्फोरस, भिटामिन ए, बी, ई, बी भिटामिन बी १, २, ६, र १२ का साथै खनिज तत्व पनि पाइन्छ। हालै मात्र सरकारले पशु विकास मन्त्रालय गठन गरेपछि कुखुरा व्यवसायी उत्साहित भएका छन्। यो व्यवसायको हितका लागि चाहिने नीति–निर्माणमा छिटो–छरितो काम हुने उनीहरुको आशा छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :