अब दार्जीलिङको चिया बगानमा पैसा फल्दैन !

यो समाचार 318 पटक पढिएको

मालिकहरु भाग्न थाले, श्रमिकको रोजीरोटी संकटमा

काठमाडौं, १८ पुस / यतिबेला पूर्वी नेपालका झापा, इलाम, पाँचथरलगायतका जिल्लामा चियाखेतीप्रति आकर्षण देखिन थालेको छ । पारिपट्टि भारतको दार्जीलिङ र डुबर्सतिर चियाखेती देखेर नेपालमा आकर्षण देखिएको हो । दार्जीलिङका डाँडामा मनमोहक चिया बगान देखेर इलामले त्यसको सिको गरेको हो ।

jhapa teaतर, विश्व बजारमा फैलिएको दार्जीलिङ र डुबर्समा अब चियाखेती संकटमा पर्न थालेको छ । त्यहाँको चियाखेतीको संकटबारे एकजना भारतीय सांसदले लोकसभामा आवाज उठाएका छन् । भारतबाट प्रकाशित हुने नेपालीभाषी पत्रिका हिमालय दर्पणले भनेको छ( ‘उहिलेका बुढापाकाहरु चियाको बोटमा पैसा फल्छ भन्दै मुङलान छिरेका थिए । तर, आज त्यही चिया बगानमा काम गर्नेहरु आफ्नो भविश्य सुरक्षित नदेखेर काम छोडेर हिँड्न थालेका छन् । कोही बिदा लेखाएर विदेशमा गएर पनि काम गर्न थालेका छन् । चिया बगानको अवस्था खस्किन थालेपछि पलायन सुरु भएको छ ।’

दार्जीलिङ र आसपासको चियाबगानको समस्याबारे भारतीय पत्रिकाले यसरी लेखेको छ,’ तराई डुबर्स क्षेत्रका धेरै चियाबगान बन्द अवस्थामा रहेका कारण खानका लागि समस्या हुनुका साथै समयमै उपचार नपाउँदा श्रमिकहरु मारमा परेका छन् । त्यस्तै पहाडी क्षेत्रका चिया बगानमा काम गर्नेहरुले पनि समयमा तलब पाएका छैनन् ।’

श्रमिकहरुले समयमै तलब तथा अन्य सुविधा नपाउँदा श्रमिकको समस्याको पर्खाल बगानभित्र अग्लिँदैछ । जसका कारण केही चिया बगान बन्द छन् । श्रमिकलाई मालिकले हेप्नु, शोषण गर्नु, दमन गर्नु तथा श्रमिकका पक्षमा काम गर्न आवाज उठाइरहेका ट्रेड युनियनका कुरा पनि सरकारी निकायले ठाडो नजरले हेरेको छैन । श्रमिकहरुलाई न्याय दिएर चिया बगान सुचारु गर्न सरकारले कडा कदम चाल्नुपर्ने देखिन्छ । नत्र मालिकको लिज रद्द गरेर सरकारले आफैं बगान चलाउनुपर्ने ट्रेड युनियनहरुको भनाइ छ । यद्यपि श्रमिकको समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकाय असमर्थ बनिरहेको छ ।

बन्द भएको पानीघट्टा चियाबगान खोल्नुपर्ने माग गर्दै मोर्चाको श्रमिक संगठनले रिले अनशस गरेको थियो । हिल तृणमूल कांग्रेसको ट्रेड युनियनले आमरण अनशन गरेको थियो । दुबै आन्दोलनको परिणाम भने शुन्य भयो । अनशन उठे पनि चिया बगान खोलिएन । श्रमिकको हितमा लेबर एक्ट बनाइए पनि त्यसका आधारमा उनीहरुले पाउनुपर्ने अधिकार पाउन सकेनन् । यो श्रमिकको मात्र नभएर देशबासीकै लागि ठूलो चिन्ताको विषय हो । त्यहाँ काम गर्ने मजदुरले आफ्नै घरघडेरीको धनीपूर्जा नपाउनु अर्को विकराल समस्या हो ।

केही अघि दार्जीलिङका सांसद एसएस अहलुवालियाले संसदमा चिया बगानको मुद्दा उठाउँदै चिया श्रमिकहरुलाई धनीपुर्जा दिनुपर्ने, न्यूनतम ज्यालादारी कानून लागु गरिनुपर्ने लगायतका माग राखेका थिए । सांसदले संसदमा चिया मजदुरका मागका बारेमा कुरा उठाएपछि केही राहतको श्वास फेरिएको थियो । तर, समस्याको समाधान भने अहिलेसम्म भएको छैन ।

सांसदको दाबीअनुसार २००२ देखि अहिलेसम्म प्रायः ७० वटा चिया बगानहरु बन्द भइसकेका छन् भने अन्य चिया बगानका मालिकहरु पनि चिया बगान छाडेर भाग्दैछन् । पश्चिम बंगाल क्षेत्रका श्रमिकहरुले अहिले पनि ११२ रुपैयाँ दैनिक ज्यालादारी पाउँछन् । तर, केरला र कणरटकका श्रमिकहरुले प्रतिदिन २५४ रुपैयाँ पाइरहेको खुलासा पनि सांसदअहलुवालियाले गरे ।

एउटै चिया उद्योगमा काम गर्ने श्रमिकहरुको दैनिक रोजी किन कम्ति र बेसी छ रु आखिर किन सरकारले यस विषयमा ध्यान दिँदैन भन्ने प्रश्न उठेको छ । ममता ब्यानर्जीले चिया मजदुरको समस्यालाई लिएर केन्द्रलाई दोष दिइरहेकी छिन् । यस क्षेत्रका कुल २७३ वटा चिया बगानमा १६६ वटा स्वास्थ्य केन्द्र रहेका छन् । तर त्यसमा ९२ जना डाक्टर एमबीबीएस डीग्री नगरेका छन् । यसले चिया बगानका मालिकहरुले श्रमिकको स्वास्थ्यमा खेलवाड गरिरहेको स्पष्ट हुन्छ ।

चिया कमानमा मजदुरको अवस्थामा सुधार नआए यहाँको विश्वप्रशिद्ध चियाको इतिहास मेटिने खतरा छ । चिया बगान बन्द हुनु भनेको हजारौंको रोजीरोटी खोसिनु हो । पहाडको अधिकांश भेग चियाले ढाकिएको छ । सरकारले राजस्व अनि मालिकहरुले अर्बौं कमाइरहेका छन् । उता श्रमिकको अवस्था भने चिन्ताजनक छ । महंगी छ, छोराछोरी पढाउन नसक्ने अवस्था छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :