तरकारी फलाएर ३५ लाखको घडेरी

यो समाचार 432 पटक पढिएको

फुलबुट्टे चोलीमा
खोरमा बाख्रा, बारीमा तरकारी
नरमपन बोलीमा…..

कुस्मा, १८ पुस /यो गीत हो पर्वतको लुंखुदेउराली गाविस-७ का किसानको। कुनै समय गुन्द्रुकसमेत किनेर खाने यहाँका किसानले अहिले आफ्नै बारीमा लाखौं रुपैयाँको तरकारी उत्पादन गरी बेच्ने गरेका छन्। जाँगर र मेहनत हुने हो भने जस्तोसुकै ठाउँमा पनि तरकारी खेती गरेर प्रशस्त आम्दानी गर्न सकिँदोरहेछ भन्ने उदाहारणसमेत बनेका छन् उनीहरू।

Parbat_Fundurk_Woman_famer_245953606

पाँच वर्षअघिसम्म उक्त स्थानका बासिन्दाले बजारबाट तरकारी किनेर खाने गर्थे। कतिपयको त हरियो तरकारी र गोलभेडा खाने बानी नै थिएन् । तर, अहिले उक्त गाउँबाट वार्षिक झन्डै आधा करोडबराबरको तरकारी निर्यात हुने गरेको छ। विभिन्न संस्थाबाट तालिम लिएपछि अहिले उनीहरू व्यावसायिक तरकारी उत्पादन र बाख्रापालनमा लागेका छन्।

हेफर इन्टरनेसनल नेपालको सहयोगमा इन्प्रेड नेपालद्वारा सञ्चालित साना किसान सबलीकरण परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि उक्त गाउँका सबै कृषक व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेतीमा लागेका छन्। अहिले एउटै घरबाट वार्षिक पाँच लाख रुपैयाँसम्मको तरकारी बिक्री हुन्छ भने बाख्रापालनबाट समेत उत्तिकै आम्दानी हुने गरेको कृषकको भनाइ छ।

सिर्जनशील स्वावलम्बन समूहमा आबद्ध २९ घरधुरीका महिला तथा पुरुष व्यावसायिक कृषिमा लागेका हुन्। पाँच वर्षअघि हिउँदमा मरुभूमिजस्तै देखिने उक्त गाउँ अहिले तरकारी खेतीले हराभरा छ। गाउँमा हरेक परिवारले अहिले टनेलमा गोलभेडा खेती, काउली, बन्दा, रायो, केराउ, मुला, खुर्सानी, लौका, भिन्डीलगायतका तरकारी लगाइरहेका छन्।

समूहमा आबद्ध रमा अधिकारीले तरकारी खेतीबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको बताइन्। उनले तरकारी खेती र बाख्रापालनबाट भएको कमाइले गत वर्ष पोखरामा ३५ लाखको घडेरीसमेत किनिन्।उनले भनिन्, ‘समूहबाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि अहिले जीवनस्तर नै परिवर्तन भएको अनुभूति भएको छ।;

वार्षिक खर्च कटाएर पाँच देखि ६ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन्। उनले उत्पादन गरेको तरकारी स्थानीय बजारका साथै स्याङ्जा, पोखरा, कार्कीनेटा, घन्टेलगायतका स्थानमा पुग्छ।

व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गरेर ६ लाखभन्दा बढी आम्दानी गर्न सफल भएको समूहकी अध्यक्ष लककुमारी हमालले बताइन्। परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि प्रशस्त आम्दानी गर्न सकिँदोरहेछ भन्ने लागेको उनी बताउँछिन्।

उनीहरूले कमाइ घरखर्चबाट बचाएर मासिक बचतसमेत गर्ने गरेका छन्। उक्त बचतबाट सहुलियत ब्याजमा ऋण लिएर अन्य व्यवसायमा समेत लगानी गर्ने गरेको समूहकी सचिव सीता विकले बताइन्। सदरमुकामदेखि टाढा र बाह्रैमास सडकको पर्याप्त पहुँच नहुनाले केही समस्या हुने गरेको कृषक बताउँछन्।

गाउँमै स्वरोजगार सिर्जना गीर गरिबी न्यूनीकरणसँगै आयआर्जनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले विपन्न समुदायलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनमा आकर्षित गरिएको परियोजनाका संयोजक राजेन्द्र पौडेलले जानकारी दिए।

पाँच वर्षअघि हिउँदमा मरुभूमिजस्तै देखिने पर्वतको लुंखुदेउराली ७ अहिले तरकारी खेतीले हराभरा छ। गाउँमा हरेक परिवारले अहिले टनेलमा गोलभेडा खेती, काउली, बन्दा, रायो, केराउ, मुला, खुर्सानी, लौका, भिन्डीलगायतका तरकारी लगाइरहेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :