व्यावसायिक पशुपालनप्रति आकर्षण बढ्यो

यो समाचार 292 पटक पढिएको

भक्तपुर, १५ पुस/ मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उहाँको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति छर्ने सपना साकार हुन सकेन । निजी विद्यालयको थोरै तलबप्रति उहाँको आकर्षण जाग्न सकेन ।

Bangoor Porkएक दिन टेलिभिजनमा प्रसारित बंगुर पालनसम्बन्धी कार्यक्रम र कोरियाबाट फर्केर पोखरामा बङ्गुरपालन गर्दै आउनुभएका छ्याङबहादुर थापाबाट प्रभावित भएर बङ्गुरपालन व्यवसाय सुरु गर्ने उद्देश्यले उहाँ पोखरा पुग्नुभयो । पोखरा पुगेर थापालाई भेटी बङ्गुरपालन व्यवसायको बारेमा छलफल गर्दा काठमाडौँ जस्तो सहरमा बङ्गुरपालन गर्दा उचित मुनाफा हुन नसक्ने सल्लाह प्राप्त गरेपछि घरैमा परीक्षणको रुपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभयो । तर दुर्भाग्य त्यही वर्ष भक्तपुरमा फैलिएको वर्ड फ्लुको महामारी र वर्ड फ्लु सङ्कटग्रस्त क्षेत्र घोषणासँगै सबै कुखुरा मारिए । पहिलो पटक हात हालेको व्यवसायबाट डेढ लाख रुपैयाँ घाटा खान पुग्नुभयो ।

केही गर्ने जोशका साथ सुरुमा हात हालेको व्यवसायले उल्टै ऋण बोकाएपछि कृष्णचन्द्रले विदेश जाने सोच नबनाएको होइन । त्यसैबेला घर नजिकको गाई फर्म बिक्री गर्न लागेको सुन्नमा आएपछि सहकारीबाट ऋण लिएर गाईसहितको युनिक गाई फर्म खरिद गरी सञ्चालन गर्नुभयो ।

उहाँका सोही गाई फर्ममा जर्सी, होलस्टाइन र हाइब्रीड जातका दुधालु गाई १० वटा र एउटा ब्याउन लागेको गाई छन् । अहिले दैनिक करिब १०० लि दूध उत्पादन हुन्छ । स्थानीय बजारमा ६३ रुपैयाँ प्रतिलिटर दूध बिक्रि हुने गरेको उहाँले बताउनुभयो । दैनिक रु पाँचदेखि छ हजार आम्दानी हुने र सबै खर्च कटाएर मासिक करिब रु ४० हजार बचत हुने उहाँको भनाइ छ ।

त्यस्तै सिन्धुलीका ७० वर्षीय अर्जुन बरालले राजनीतिमा आफ्नो जीवन समर्पण गर्नुभयो । नेपाली काँग्रेस सिन्धुलीका सभापतिको रुपमा १० वर्ष जिम्मेवारी पनि सम्हाल्नुभयो । आमनिर्वाचनमा टिकटसमेत पाउनुभयो तर दुर्भाग्य निर्वाचनमा केही सय मतअन्तरले पराजित हुनुभयो । त्यसपछि राजनीतिबाट सन्यास लिएर मध्यपुर थिमि–१७ सानोथिमिमा बस्न थाल्नुभयो ।

“जीवनको यो उमेरमा पनि चुप लागेर बस्न मनले मानेन र तीन वर्षदेखि गाईपालन सुरु गरेँ”–उहाँले भन्नुभयो । उहाँको फर्ममा अहिले जर्सी र होलस्टाइन जातका आठ वटा गाई छन् । दैनिक २५–३० लि दूध उत्पादन हुने र दैनिक गुजारा टार्न सहज भएको उहाँले बताउनुभयो ।

सरकारी अनुदानसँगै व्यवसाय फस्टाउँदो
सरकारले युवा लक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक पशुपालन गर्ने किसानलाई अनुदान दिने नीति ल्याएसँगै जिल्लामा पशुपालन व्यवसाय फस्टाएको छ । यसले जिल्लामा दूध तथा दुग्ध उत्पादनमा वृद्धि भएको छ भने युवाहरु स्वरोजगारमूलक व्यवसायमा आकर्षित हुन थालेको छन् ।

सरकारबाट अनुदान पाउने भएपछि जिल्लामा रहरले एक/दुई वटा गाई, भैँसी पाल्ने किसानपनि व्यावसायिक फर्मतर्फ आकर्षित हुन थालेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा बलबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार स्थानीय जातका एक÷दुई गाई, भैँसी पाल्ने किसान जर्सी, होलस्टाइन, उन्नत जातका गाईपालनतर्फ आकर्षित भएका छन् ।

कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा पशुपालन गर्ने फर्मको अनुगमन, निरीक्षण गरी आवश्यक परेकालाई गोठ सुधार कार्यक्रमअन्तर्गत निश्चित रकम अनुदान दिने गरिएको छ । अघिल्लो आवमा रु एक लाख अनुदान पाएको जानकारी दिँदै युनिक गाई फर्मका कपालीले जस्ताको टहरा बनाउन मात्र अढाइ लाख खर्च भएको बताउनुभयो । त्यसैगरी बरालले पनि सोही वर्ष रु ५० हजार प्राप्त गर्नु भयो ।

बढ्दै छन् व्यावसायिक फर्म
जिल्लामा युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदानका लागि गत वर्ष ४१ वटा गाई, भैँसी फर्म र १४ वटा बङ्गुर फर्म दर्ता भएका थिए भने यसवर्ष सो सङ्ख्या बढेर ७० वटा पुगिसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

सरकारले यसवर्ष फर्म दर्ताको लागि पुनः म्याद थप गरेकाले फर्मको सङ्ख्या अझ बढ्न सक्ने डा चन्दले उल्लेख गर्नु भयो । सरकारले यही पुस २२ गतेसम्म फर्म दर्ता गर्ने समय थप गरेको छ ।

सरकारले युवा लक्षित कार्यक्रमअन्तर्गत युवा वर्गलाई वैदेशिक रोजगारबाट रोक्न र कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उपादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकीकरणबाट आयआर्जन बढाउने उद्देश्यले कार्यक्रमअन्र्तगत विशेष पशु उत्पादन ९डेरी, बाख्रा, बङ्गुर र पशु सेवा बजार प्रवद्र्धन० कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रमअन्तर्गत व्यावसायिक फर्म सञ्चालन गर्ने युवालाई फर्मको वर्गीकरण गरी निश्चित रकम अनुदान दिने नीति लिइएको छ । कार्यक्रमअन्तर्गत व्यावसायिक गाई, भैँसीपालन व्यवसायलाई साना, मझौला र ठूला गरी तीन वर्गमा वर्गिकरण गरी अनुदान दिने नीति कार्यान्वयन गरेको छ । जसअन्तर्गत साना फर्मलाई प्रतिगाई रु २० हजार र प्रतिभैँसी रु ४० हजार, मझौलास्तरका फर्मलाई बढीमा रु तीन लाख र ठूला व्यावसायिक फर्मलाई बढीमा रु चार लाख अनुदान दिइन्छ । गत वर्ष जिल्लाले १५ गाई, भैँसी फर्म र चार बङ्गुरपालन व्यवसायीलाई अनुदान उपलब्ध गराएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :