युवाहरुले खोले जडीबुटी प्रशोधन केन्द्र

यो समाचार 351 पटक पढिएको

Jadibuti, Newsagrocom
तस्वीर फायल

गोरखा, ११ पुस/ गोरखाको ताङ्लीचोक गाविस–४ स्थित पातीस्वाँरा गाउँका युवाले जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् ।

आटिमिसिया (एक प्रकारको जापनिज बिरुवा) प्रशोधन गरी औषधि उत्पादन गर्न ३० लाख रूपैयाँको लगानीमा केन्द्र सञ्चालनमा ल्याएको हो । जापानमा बसेर फर्केका स्थानीय माकी गुरुङको सक्रियतामा गाउँका युवा मिलेर सञ्चालन गरिएको केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । सुमन गुरुङ, सन्दिप गुरुङ, सन्तु गुरुङ, विकास गुरुङ, माकी गुरुङ, सोनाम गुरुङ, होमबहादुर गुरुङले संयुक्त रुपमा लगानी गरी गाउँमा उद्योग खोलेका हुन् ।

साथै युवाले २१ रोपनी क्षेत्रफलमा आटिमिसिया नामक बिरुवाको खेती गर्दै आएका छन् । सो बिरुवाको पात, डाँठ र जरा आटिमिसिया उत्पादन गर्न काम लाग्छ । आटिमिसियाको प्रयोगले बाथ रोग निको हुनुका साथै कपाल झर्ने रोगको रोकथाम गर्ने केन्द्र सञ्चालकमध्येका माकी गुरुङले जानकारी दिए ।

केन्द्रले दैनिक २०० प्याकेटभन्दा बढी आटिमिसियाको झोल उत्पादन गर्दै आएको छ । केन्द्रबाट मासिक करिब ७० हजार नाफा आर्जन भएको गुरुङले बताए । साथै युवाले किबीखेती, सुन्तलाको बोक्राबाट साबुन उत्पादन गर्नुका साथै रोजेलको जुस पनि उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :