२० देशबाट वार्षिक १० करोडको चिज आयात

यो समाचार 199 पटक पढिएको

काठमाडौं, १० पुस / स्वदेशको मागलाई पूरा गर्ने गरी दूध उत्पादन हुंंदाहुंदै पनि दुग्धजन्य चिजको आयात भने विश्वका २० देशबाट हुने गरेको छ। देशको चिज मागलाई परिपूर्ति गर्न वार्षिक करोडौं रुपैयाँको चिज आयात हुने गरेको हो।

cheeseभूकम्पपछि चिजको खपत घटेर व्यवसायी मर्कामा परेको बताइरहेको भए पनि गत बर्ष भने विदेशबाट ठूलो मात्रामा चिज आयात भएको छ। सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७१/७२ मा विश्वका २० देशबाट १ लाख ७३ हजार ६ सय ६६ केजी चिज आयात भएको छ। उक्त मूल्यको चिज आयात गर्न नेपालबाट जम्मा ९ करोड ९१ लख ८८ हजार ६ सय भन्दा धेरै रुपैया खर्च गर्नु परेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालले छिमेकी देश भारत र चीन बाहेक बहराइन, थाइल्याण्ड, युएइ, क्रिजिस्थान, ब्राजिल, अष्ट्रिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, अमेरिका, सिंगापुर र इजिप्टबाट चिज आयात गरेको छ।

नेपालमा चिज, ग्राटेड अर पाउडर चिज, प्रोसिड चिज र ब्ल्यु भेइन्ड चिज गरी पाँच शिर्षकमा चिज आयात हुने गरेको छ। चिज शिर्षकमा सबैभन्दा धेरै १ लाख ३७ हजार ९९ केजी चिज ६ करोड ३६ लाख ४२ हजार मूल्यको आयात भएको छ। यो शिर्षकमा विश्वका सोह्रवटा देशबाट चिज आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अन्य सामान जस्तै चिज आयात गर्ने मूख्य देश भारत नै हो। चिज शिर्षकमा भारतबाट ४ करोड ३७ लाख ६० हजार रुपैयाको आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ। भारत बाहेक धेरै चिज आयात हुने देशहरूमा अष्ट्रिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली लगायतका देश छन्।

त्यस्तै, पाउडर चिज शिर्षकमा ३ करोड १५ लाखभन्दा धेरैको चिज आएको छ। यो चिज भारतबाहेक सिंगापुर र डेनमार्कबाट ल्याइएको छ। आयात मध्ये सबैभन्दा धेरै सिंगापुरबाट २ करोढ ९३ लाखको आएको छ।

प्रोसिड चिज भने भारतबाट नभएर अन्य चीन, युइए, अमेरिका, अष्ट्रिया डेनमार्क, पोल्याण्ड र अष्ट्रेलियाबाट ल्याइएको छ। यस प्रकारको चिज यि देशबाट ३२ लाख ७० हजार रुपैयाको ल्याइएको छ। ब्ल्यु भेइन्ड चिज भने डेनमार्कबाट मात्रै ९० केजी ल्याइएको छ जसको मूल्य १ लाख ६० हजार रुपैया परेको तथ्यांकमा उल्लेख गरिएको छ।

व्यवसायीका अनुसार हाल देशभर ३ दर्जनभन्दा धेरै चिज उद्योगहरू रहेका छन्। यि उद्योगले दैनिक १ हजार ६ सय किलो चिज र २ सय ५० किलो भन्दा धेरै बटर उत्पादन गर्ने व्यवसायी बताउँछन्। काठमाडौं, पोखरा जस्ता पर्यटकीय बजारमा चिजको खपत धेरै हुने गरेको छ। भूकम्पपछि पर्यटक नआएपछि चिजको खपत पनि कम भएको यवसायीको गुनासो छ।

भूकम्पपछि सम्पुर्ण अर्थतन्त्रमा ठूलो असर गरे सँगै नाकाबन्दी थप संकट चिज उद्योगमा पनि निम्त्याएको छ। चिज उद्योगमा गरेको ठूलो लगानी भूकम्प र लामो समयको बन्दले संकटमा परेको व्यवसायीको भनाइ छ। कोल्डस्टोरको अभाव र उत्पादित चिज खपत नहुदा व्यवसायी मर्कामा परेको उनीहरूको गुनासो छ।

चिज उद्योगलाई प्रोत्साह गर्न सौहुलियत ऋणको व्यवस्था, कोल्डस्टोरको स्थापना र नेपाली चिजलाई निर्यात गर्ने वातावरण बनाइदिन सम्बन्धित व्यवसायीले मागगर्दै आएका छन्।

चिज उत्पादनको कच्चा पदार्थ दूध हो। स्वदेशमै माग अनुसारको दूध उत्पादन हुने गरेको छ। एक तथ्यांक अनुसार दिनको ४ लाख ५० हजार लिटर दूध खपत हुन्छ र बजार मागलाई आवश्यक पर्ने दूध स्वदेशमै उत्पादन हुन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :