हिमालमा पनि व्यवसायिक माछापालन

यो समाचार 120 पटक पढिएको

मनाङ, ९ पुस/  हिमाली जिल्ला मनाङ प्राकृतिक हिसावले मनोरम भएपनि यहाँ धान, मकै लगायतका खाद्यान्न बाली उत्पादन हुदैनन् ।

भौगोलिक रुपमा निकै विकटता र बाह्रै महिना हिउँ परिहरने मनाङका किसानहरु पछिल्लो समय माछापालन ब्यवसायतर्फ आकर्षित हुन थालेका हुन् । किसानहरुले विगतमा परिक्षणको रुपमा माछापालन गरेपनि हिजोआज भने ब्यवसायीक रुपमै माछा पाल्न थालेका छन् ।

मनाङस्थित धारापानी–४ का लोकेन्द्र घलेले हिमाली परियोजनाको ८० र आफ्नो २० प्रतिशत लगानीमा माछापालन ब्यवसाय गरेका छन् । उनले हिमाली आयोजना र आफ्नो गरी कुल ५९ लाख ४२ हजारको लगानीमा माछापालन गरेका हुन् । ‘मैले जिल्लामै पहिलोपटक माछाको भुरा जापानबाट ल्याएको हुँ ।’ घलेले भने, ‘उन्नत जातको रेन्बो ट्राउट भएकोले पनि छोटो समयमा बढि प्रतिफल पाउने घलेले आशामा छु ।’

ब्यवसाय सुरु गर्दा घलेले २१ हजार माछाको भुरा पोखरीमा हालेपनि केही माछाहरु मरेको र अहिले पोखरीमा १५ हजार मात्रै माछा रहेको बताएका छन् । घलेले मनाङमा आफुले पहिलोपटक माछापालन ब्यवसाय शुरु गरेको समेत बताएका छन् । ‘चिसो ठाउँमा माछा हुदैन् भनेर धेरै किसानहरु निराश छन् ।’ उनले भने, ‘म सफल भएको छु । मैले सबैलाई ब्युँझाइदिए पनि । अब सबैले मनाङमा माछा पाल्न आवश्यक छ । किनभन्दा मनाङ पर्यटकिय क्षेत्र पनि हो ।’

जिल्लामै पहिलो माछा ब्यवसायिका रुपमा ख्याती कमाएका घलेलाई जिल्ला कृषि विकास कार्यालय मनाङले पनि प्राविधीक सहयोग र सल्लाह समेत दिदै आएको छ । कुन ब्यवसायमा हात हाल्ने भन्दै भौतारिरहेका घले हिजोआज माछापालन ब्यवसायबाट सन्तुष्ट समेत भएका छन् । ‘चिसो ठाउँमा पालेको माछाले प्रेसर सम्बन्धि रोग भएका विरामीहरुलाई फाइदा गर्छ ।’ घलेले भने, ‘मनाङमा पनि माछा फस्टाउँदो रहेछ । अब बाँकी जग्गामा पनि माछापालनको लागि तयारी गर्दैछु ।’

घलेको माछा पोखरीमा अहिले १५ हजार माछा छन् । माछाहरु बिक्रि गर्ने बेला भएपनि उनले यसबर्ष भुरा उत्पादन गर्ने योजना बनाएका छन् । पोखरीमा माछाका भुरा उत्पादन गरी जिल्लाका अन्य किसानहरुलाई उपलब्ध गराउने र मनाङलाई माछामा आत्मनिर्भर बनाउने उनको भनाई छ ।

माछा पाल्नको लागि यसअघि जिल्ला कृषि विकास कार्यालय मनाङले विशेष कार्यक्रम बनाएपनि मनाङमा माछा नहुने भन्दै कार्यक्रम नै हुन नसकेको अन्य किसानहरुको भनाई छ । पछिल्ला केही बर्षहरुमा नेपालका १० उच्च हिमाली भेगहरुमा कृषि, पशुपालन लगायत अन्य जिविकोपार्जनको काम गर्दैै आएको हिमाली परियोजनाले यहाँका किसानलाई निकै सहयोग गर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :