कृषक होइनन् किसान नेता

This post has already been read 322 times!

कृषि क्रान्तिद्धरा सत्ता कब्जा गर्न सफल चिनियाँ नेता माओत्से तुङ भन्थे – काममा लाग, श्रमबाट कहिल्यै अलग नहोउ’। मजदुर र किसान आन्दोलन कै माध्यमबाट क्यूवामा कम्यूनिष्ट सत्ता स्थापना गर्नेमध्ये नेता चे ग्वेभारा आफू मन्त्री भएका बेला समेत मजदुरी गर्थे र आफ्नो व्यक्तिगत खर्च चलाउँथे ।

नेपालमै पनि बीपी कोइरालाले एक घर एक दुहुनो गाई हुनुपर्दछ भन्दै, प्रत्येक सरकारी कार्यालय र उच्चपदस्थ कर्मचारी, राष्ट्रसेवक सबैको घरमा किसानको फोटो अनिवार्य रुपमा टाँस्न लगाउँथे उनलाई विश्वास थियो यसो गर्दा प्रत्येक नीति निर्माता मज्दुर किसानप्रति जिम्मेवार रहन्छन् । नेपालमा भने विडम्बना नै भन्नुपर्छ राजनैतिक दलका शिर्ष नेताको त कुरै छडौँ हाम्रा किसान नेताहरु समेत कृषक होइनन् । हिलो नटेकि कयौँ असार विताइसकेका नेताहरुबाट नै कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानको प्रयत्न हुन्छ भन्ने विश्वास गर्नुपर्ने नियती विच नेपालका किसानहरु बाचिँरहेका छन् ।

एउटा अर्को सत्य पनि छ किसानको भोट बिना न त तिनीहरुलाई सत्ता नै प्राप्त हुन्छ, नत कमाउ धन्दाका अरु अवसर नै । तरपनि यस बारे उनिहरुलाई कुनै चिन्ता छैन । किनकी उनिहरुलाई किसान नेताको रुपमा पगरी गुथ्न कसैले रोकेको छैन । हाम्रो जस्तो कृषि प्रधान देशमा किसान नेता कै खडेरी रहेको आम किसानले महशुस गरेका छन् । जो किसानको पक्षमा बोलोस र किसान कै पक्षमा लडोस् , यस्तो किसान नेता नेपालका किसानले खोजेका हुन् कृर्सी नपाउँदा किसानका चर्को कुरा गर्ने र प्राप्त भएपछि किसानलाई नचिन्ने किसान नेताको यस्तै रवैयाका कारण नेपालमा कृषि क्षेत्रको विकास नभएको हो । कृषि प्रधान देश भनेर नीति बनाए पनि कृषि मैत्रि नीति बन्न नसक्नुको मुख्य कारण पनि यहि नै हो ।

कृषि मन्त्री प्रतिको चासो
रमाइलो अर्कोे तथ्य के छ भने हाम्रा किसान नेताहरु कृषि मन्त्रि बन्नै चाहादैनन् । उनिहरुले कृषि मन्त्री हुदाँ र किसानको काम गर्दा आम किसानको वृत्ति विकास हुन्छ भन्ने नबुझेका होइनन् तर पनि त्यो कुर्सीले अन्य मन्त्रालयको जस्तो व्यक्तिगत आर्थिक लाभ दिदैँन भन्ने कुरा झन स्पष्ट रुपमा बुझेका हुनाले उनिहरु अन्य मन्त्रालय नै ताक्छन् । यदि वास्तविक रुपमा किसान नेता भए त उनिहरुको पहिलो रोजाइमा पक्कैपनि कृषि मन्त्रालय नै पर्ने थियो । न कि गृह , अर्थ, रक्षा लगायत अन्य आर्थिक रुपमा आकर्षक भनिएका मन्त्रालयहरु ।

एमाओवादीका किसान नेता
एकीकृत नेकपा माओवादीनिकट अखिल नेपाल किसान संघ क्रान्तिकारीका अध्यक्ष चित्रबहादुर श्रेष्ठ आफूलाई शुद्ध किसानको छोराका रुपमा परिभाषित गर्छन् । चितवनमा १० कठ्ठा जमीन रहेको र उक्त जमीनमा आफ्नै परिवारले खेती गरिरहेको श्रेष्ठको कथन छ । खेती लगाउने र उठाउने समयमा परिवारलाई सघाउने गरेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठ व्यवसायिक रुपमा विगत ३७ वर्ष देखी कुखुरापालन व्यावसाय पनि गर्दै आएकाले आफ्नो मूल पेशा कृषि नै हो भन्छन् । तर, उनी आजकल आफै कामदार किसान चाँहि हुन पाएका छैनन् । संगठनको कामको चापले गर्दा पेशाबाट टाढिँदै गएको उनको अनुभव छ ।

नाम : चित्रबहादुर श्रेष्ठ

पद :  अध्यक्ष अखिल नेपाल क्रान्तिकारी किसान महासंघ

ठेगाना : चितवन

जग्गा : १० कठ्ठा
काम : परिवारमार्फत्
कृषि : कुखुरापालन
कृषि काममा संलग्नता : लगाउने र उठाउने समय

किसान आन्दोलनलाई पार्टीभित्र र बाहिर राष्ट्रियस्तरमा महत्वपूर्ण स्थान नदिएका कारण हालसम्म यसले किसानको समस्या सम्वोधन गर्न नसकेको श्रेष्ठको बुझाइ छ । देश विकासको आधार कृषि नै हो भन्ने उनलाई लागेको छ । त्यसैले सांगठित हिसाबले पनि डेढ सय हेक्टर क्षेत्रफलमा किसान संगठनले कृषि उत्पादनको काम गर्दै आएको दाबी छ उनको ।
देशमा आयात भैरहेको कृषि जन्यवस्तुको विषयमा उनलाई यकिन तथ्याङ्क भने थाहा छैन । भू–उपयोग नीति र भूमिसुधार व्यवस्था कृषि क्षेत्रको विकासका लागि प्रमुख आवश्यकता हो भन्ने उनलाई लागेको छ । त्यसैले नयाँ बन्दै गरेको दीर्घकालीन कृषि नीतिमा पनि यसलाई सम्वोधन गर्ने विषयहरु राष्ट्रिय किसान सञ्जालमार्फत उठाएको जानकारी दिए । यस अगाडिका नीतिहरु निर्माण गर्दा किसान संगठनको तर्फबाट कसैको पनि प्रतिनिधित्व थिएन । तर, यसपटक सबै किसान संगठनहरुको पहलमा दीर्घकालीन कृषि नीति निर्माण समितिमा बसेर किसानका मुद्दाहरु उठाउने अवसरलाई किसान आन्दोलनको एक उपलब्धिको रुपमा उनले बुझेका छन् । किसानलाई मल, विउ, विषादि आदिको समस्या पर्दा आवश्यकताअनुसार संगठनले काम गर्न नसकेको उनी स्वीकार गर्दछन् ।

एमालेका किसान किसान नेता
प्रेम दंगालसँग किसान आन्दोलन र अखिल नेपाल किसान महासंघको कार्यक्रम विषयमा कृषक मासिकले बुझ्न कोशिस गरेको छ । किसान आन्दोलन अगाडि बढ्न नसकेको कारण वर्गीय, जातिय र भौगोलिक विविधता हो भन्ने निष्कर्ष छ महासचिब दंगालको । उनी आफै भने कृषि पेशामा संलग्न छैनन् । आफ्नो जमीन दाजुलाई खेती गर्न जिम्मा दिएर परिवार सहित काठमाडौँमा बस्दै आएको उनि बताउंछन् । कृषि पेशामा लागेका किसानहरु सँग जमीनको स्वमित्व नभएका कारण किसान सफल बन्न नसकेको उनको भनाइ छ ।
उनले किसानलाइ समस्या पर्दा संगठनले बेला बेलामा आन्दोलन गर्ने गरेको भएपनि आवस्यक सहयोग र पहल गर्न नसकेको स्वीकारे ।
कृषि जन्य बस्तुहरु आयात भैरहेको विषयमा अरु किसान नेतालाइ जस्तै उनलाई पनि तथ्याङ्क थाहा छैन ।
नेपालको कृषि दिगो र आत्मनिर्भर बन्न सकेको छैन । यसमा हामी जस्ता किसान नेताको पनि केहि कमजोरि छन् । उनले भने त्यसैले हामीले राष्ट्रिय किसान सञ्जाल गठन गरेर यसैको मार्फतबाट कृषिका बिभिन्न विषयहरु समेटेर सरकारसंग ११६ सुत्रिय माग राख्दै सबै पार्टी नजिकका किसान संगठनहरु अगाडि बढिसकेका छौँ ।
नाम : प्रेम दंगाल
पद : महासचिब ,अखिल नेपाल किसान महासंंघ
ठेगाना : सुनसरी
जग्गा : १० कठ्ठा
काम : परिवारमार्फत
कृषि : दाजुलाई भाडामा
कृषि काममा संलग्न स् छैन
उत्पादन वृद्धिका लागि दिगो र व्यवसायिक कृषि , किसान अधिकार, विउ विजनको अग्राधिकार लगायतका विभिन्न विषयहरु यसमा समावेश गरिएको दंगाले बताए ।
संगठनमा आवद्ध सबै सदस्यहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न पे्ररित गर्ने हिसाबले कृषि सहकारीको सदस्य बन्नुपर्ने बाध्यकारी नियम अखिल नेपाल किसान महासंघले बनाएको छ । त्यसैले सबै जना उत्पादनमा लगेकाहरु मात्र यो संगठनमा आवद्ध हुन पाउने नीति लिएपनि कार्यान्वयन भने हुन सकेको छैन । महासचिब आफैं पनि संगठनको काममा ब्यस्त रहनुपर्ने भएकाले खेतिमा लाग्न नसकेको बताउंछन् ।
किसान नेताका रुपमा परिचय बनाएका अखिल नेपाल किसान संघका अध्यक्ष वामदेव गौतमसँग कृषक मासिकले भेट्न खोज्दा उनीसँग ३ महिनासम्म भेट्ने समय नभएको जानकारी आयो । किसानको नेता तर किसानले भेट्नै नसक्ने अनि वर्षको एक दिन असार पन्ध्रमा मात्र किसानको खेतमा पुग्ने कुराले कसरी किसान र यसको राजनीति गर्ने नेतावीच सम्वन्ध बन्न सक्छ । यो प्रश्न सायद नेपाली आम किसानको पनि प्रश्न हो । एनजिओ र आईएनजिओको कार्यालय बनेको अखिल नेपाल किसान महासंघको कार्यालय बल्खुमा किसानले बामदेवलाई भेट्नु भनेको असंभब प्राय बनेको छ

कांग्रेसका किसान नेता
नेपाल किसान संघका सभापति भानु सिग्देल पनि कृषि क्रान्ति बिना देशको विकास हँुंदैन भन्ने विचार राख्छन् । किसानको पक्षमा वकालत गर्न राजनैतिक संगठनको आडमा काम गरे पनि आजसम्मको किसान आन्दोलन काममुखी भन्दा नारा मुखी भएको उनको अनुभव छ । त्यसैले गर्दा न त किसान आन्दोलन ले राम्रो रुप लिन सक्यो न किसानको अवस्थामा नै सुधार आयो । उनि भन्छन् नेपालका कम्युनिष्ट पार्टिहरुले यसलाई गफ गर्ने माध्यम बनाएका हुन् । आफु सत्ता बाहिर रहंदा क्रान्तिकारी भुमिसुधारको कुरा गरेर किसानको भावुकता जित्न खोज्ने तर सत्तामा पुगेपछि सबै कुरा विर्सने । उनको भनाइमा किसानलाई आज सम्मको राजनैतिक आन्दोलनले प्रयोग गर्ने मोहोरा मात्र बनाएकाले आज सम्म पनि किसान हेपिएका हुन् ।
कांग्रेस आफैं कैयौ पटक सरकारमा गए पनि उसले पनि किसानका कुरा छाडेको उनको भनाई छ । तर २०१५ सालमा वि।पि कोइरालाले किसानको पक्षमा सबै भन्दा राम्रा कार्यक्रमहरु ल्याएको उनको दावि छ । बिपिकै पालामा कुल बजेटको २९ प्रतिशत बजेट कृषि क्षेत्रको लागि छुट्याएर किसानलाई पहिलो दर्जाको नगारिक बनाउन काम हुने प्रक्रियामा रहेको र क्रान्तिकारी भुमिसुधार नीति बनाउन पहल भएको उनको भनाइ छ ।
नाम : भानु सिग्देल
पद : सभापति , नेपाल किसान संघ
ठेगाना : रजहर, नवलपरासी
जग्गा : १० कठ्ठा
काम : परिवारमार्फत्
कृषि : परम्परागत खेती
कृषि काममा संलग्नता स् लगाउने र उठाउने समय

उनको बिचारमा किसान आन्दोलनलाइ राजनीतिक संगठन भन्दा माथि उठेर चलाउनु पर्छ । यहि कुरालाई मनन गरेर २०६९ सालको अन्त्य तिर सबै दलका किसान संगठनहरुको राष्ट्रिय सञ्जाल निर्माण भैसकेकाले किसानको विषयमा उठेका साझा मुद्याहरुलाई संवोधान हुने आसा बढेको उनले बताए । किसानको हितका लागि ११६ वटा साझा विषयहरुको पहिचान गरेर राष्ट्रिय किसान सञ्जाल मार्फत काम गर्ने निर्णय भएको पनि उनले बताए । राजनैतिक दलको आडमा किसान संघको कार्यक्रम गार्दा सरकारमा भएको पार्टिको विरुद्धमा किसानको लागि अवाज उठाउन संगठनका नेताहरुलाई गाह्रो हुने भएकाले सबै पर्टिको किसान संगठनले किसानका साझा समस्याहरुमा काम गर्ने उद्देश्यका साथ यो सञ्जाल गठन भएको उनको भनाइ छ ।
नेपाल किसान संघ भित्र काम गर्ने करिब ९० प्रतिशत भन्दा बढि सदस्यहरु कृषि पेशामा संलग्न रहेको दावि गरे पनि धेरै जस्तो परम्परागत र केहि आधुनिक कृषि गर्ने सदस्यहरु मात्र संगठनमा रहेका छन् । तर पनि किसान संघको मार्फतबाट कृषि उत्पादनमा लाग्ने काम नभएको सिग्देल बताउछन् । संगठनको काममा ब्यस्त रहनु परेकाले संघकै सभापतिको नवलपरासीमा १० कठ्ठा जमीन भएपनि आफैं भने खेतिमा संलग्न छैनन् । किसानलाई तत्काल राहत दिन सबै किसान संगठनहरुको प्रतिनिधित्व रहेको दिर्घकालिन कृषि नीति निर्माण समितीमा बसेर काम गरिरहेका छौँ । उनले भने ।

श्रोत: कृषक मासिक

Comments are closed.