बैंकको नाम कृषि, काम विदेश पठाउने

यो समाचार 198 पटक पढिएको

काठमाडौं, कृषि विकास बैंकले कृषकहरुलाई सहयोग गर्नुको साटो मेनपावरले जसरी मान्छेलाई धमाधम विदेश पठाउँदैछ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, यस बैंकले गरिरहेको काम नियाल्ने हो भने यसलाई पत्याउन बाध्य हुनैपर्छ ।agro bank कृषि क्षेत्रमा लगानी गर्न नेपाल सरकारले ०२४ सालमा स्थापना गरेको कृषि विकास बैँकले आफ्नो कुल बजेटको करिब २२ प्रतिशत रकम मात्रै कृषिमा लगानी गर्दै आएको छ । किसानको व्यवसायिक क्षमता विकासका लागि लगानी गर्न स्थापना भएको यो बैंकको वार्षिक प्रतिवेदनमा करिब २२ प्रतिशत लगनी कृषि क्षेत्रको लागि गर्दै आएको उल्लेख छ ।


आर्थिक वर्ष ०६९÷०७० को बजेट कार्यक्रममा उल्लेख भएअनुसार भने कुल कर्जा प्रवाह ५० अर्ब ५६ करोड ६२ लाख गर्ने उद्देश्य बैंकले राखेकोमा कृषि उत्पादन शीर्षकतर्फ १३ अर्ब १९करोड ६ लाख मात्र लगानी गर्ने तथ्याङ्क उल्लेख भएको छ । अझ यो तथ्याङ्कलाई आधार मान्ने हो भने बैकले कृषि क्षेत्रमा करिब ४ प्रतिशतमात्र लगानी गर्ने बजेट ल्याएको देखिन्छ । बैंकका महानिर्देशकसँग यस विषयमा कुरा गर्दा भने कृषि जन्य उत्पादनलाई प्रोत्साहन दिने हिसाबले शीतघर निर्माण कार्यक्रम, नमुना कृषि उत्पादन कार्यक्रम, सिँचाइ कार्यक्रमलगायतका कार्यक्रमहरुको हिसाब गर्दा २४ प्रतिशतभन्दा धेरै लगानी कृषि क्षेत्रमा गर्दै आएको बताउँछन् । बाँकी बजेट विमा तथा अचल सम्पत्ति, होटल तथा रेष्टुरा, विद्युल ग्यास पानि आदि शीर्षकहरुमा खर्च भएको छ । यो तथ्यलाई आधार मान्ने हो भने पनि यो बैँकलाई कृषि विकास बैँकको रुपमा स्वीकार गर्न सकिँदैन ।
देशमा रहेका सबै विकास बैंकहरुले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत कृषिमा लगानी गर्नुपर्दछ भन्ने बाध्यकारी नीति राष्ट्र बैँकले ल्याएको अवस्थामा किसानको बैंकका रुपमा परिचत हुँदै आएको यो बैंकले कुल बजेटको २२ प्रतिशत मात्र कृषि क्षेत्रमा लगानी गर्दै आएको देख्दा बैंकलाई कृषि विकास बैंकको रुपमा परिभाषित गर्न गाह्रो भएको छ ।

विदेश पठाउन लगानी
अनौठो के छ भने कृषि विकास बैंकले विदेश जाने युवाका लागि सक्कली भिस्साको आधारमा ऋण दिने गरेको छ । यसरी दिने ऋणको व्याजदर किसानलाई कृषि उत्पादनका लागि दिने ब्याजदर सहर रहेको छ । बैंक कृषि क्षेत्रको विकासका लागि स्थापना भएको हो । तर, यसको क्रियाकलाप, बजेट कार्यक्रम र उद्देश्यको अध्ययन गर्दा कृषि क्षेत्रको विकास गर्ने आधार भेट्टाउन सकिँदैन ।
सरकारको ५१ प्रतिशत शेयर, कर्मचारी र किसानहरुको गरेर ४९ प्रतिशत शेयर रहेको बैंकले सरकारले कृषि क्षेत्रका लागि भनेर छुट्याएको बजेटबाट मात्रै काम हुने गरेको कार्यकारी निर्देशक बुढाथोकीले जानकारी दिएका छन् ।
यसरी देखादेखी किसानको व्यवसायिक क्षमताको विकासभन्दा धेरै पर रहेको यो बैंक नै नेपालमा कृषिमा व्यवसायिकता ल्याउने पहिलो संस्था भएको उनी दाबी गर्छन् । यो तथ्यलाई आधार मान्ने हो भने पनि बैँकलाई कृषि विकास बैँकको रुपमा स्वीकार गर्न सकिँदैन । यो बैँकले किसानको भावना जित्न कृषि विकास वैँक भनेर आफुलाई परिचित गराए पनि यसको क्रियाकलाप कृषिको विकासमा अग्रसर भएको देखिँदैन ।
नीति तथा योजनातर्फ भने बैँकले कृषि क्षेत्रमा भैरहेको खुद ऋण प्रवाह १० प्रतिशतका दरले बढाउने, कृषि व्यावसाय सम्बन्धी उद्योग र व्यावसायिक कृषिमा प्राथमिकताका साथ लगानी गर्ने, एक गाउँ एक उत्पादनको कार्यक्रममा सामुहिक कृषि कर्जा प्रवाह गर्ने, एक जिल्ला एक व्यवसायिक परियोजना सञ्चालन गर्ने जस्ता विषयहरु उल्लेख भएका छन् ।
तर, बजेट कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित शीर्षकमा करिब ४ प्रतिशतमात्र रकमको योजना बनाएको देखिन्छ । बैंकका कार्यकारी निर्देशकसँग कुरा गर्दा कृषि क्षेत्रमा करिब २४ प्रतिशत लगानी गर्दै आएको जानकारी गराए पनि बजेट कार्यक्रममा जम्मा ४ प्रतिशतमात्र बजेट कृषि उत्पादनको शीर्षकमा छुट्याएको छ । नमूना परियोजना कार्यक्रमबाट बैँकले एक शाखा एक नमूना कृषि व्यवसायका लागि लगानी गर्ने कार्यक्रम ल्याएको छ । यो परियोजनाका लागि आर्थिक वर्ष ०६९÷७० मा १ अर्ब २७ करोड ३५ लाख कर्जा प्रवाह गर्ने उद्देश्य बैकले बनाएको देखिन्छ । यो परियोजनामा लगानी भएको बजेटसम्मको हिसाब गर्दा पनि कुल कृषि उत्पादनको क्षेत्रमा लगानी करिब ६ प्रतिशत मात्र हुन आउँछ । स्पष्ट रुपमा कृषि उत्पादनको विविध क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषयमा बैंक स्पष्ट भएको देखिँदैन । त्यसैले समयमा नै बैँकले कृषि उत्पादनमुखी नीति, बजेट तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । यसो भएमा मात्र बैँकको नाम कृषि विकास रहेको सार्थकता हुन सक्दछ ।
कृषि क्षेत्रमा लगानी गर्ने बैँकका रुपमा सबै किसान माझ परिचित रहँदै आए पनि यो बैँकले किसानको जीवनस्तर उठाउने काममा खासै सहयोग गर्न नसकेको गुनासो यस बैँकसँग कारोबार गर्दै आएका चितवनका कृषक राम जमरकट्टेलको रहेको छ । किसानले कृषि उत्पादनका लागि ऋण लिन खोज्दा धितोका लागि धेरैजनालाई जमानी राख्नुपर्ने व्यवस्था साह्रै झन्झटिलो रहेको छ । “धरौटी त राख्नैप¥यो, तर जमानी बस्ने मानिस पनि धेरैजना जम्मा गर्नुपर्दछ, यस्तो दोहोरो अप्ठ्यारो छ त्यसैले ऋण चाहिए पनि कृषि बैँकमा जान मन लाग्दैन,” उनी भन्छन् ।
किसानलाई गाह्रो पर्दा बरु अलि धेरै ब्याजदर लिए पनि सहकारी संस्थाहरुले सजिलै ऋण दिने जमरकट्टेलको भनाइ छ । कर्जा प्रवाहमा किसानलाई हुने सास्तीको विषयमा कार्यकारी सँग कुरा गर्दा उनले नियमसँगत काम नभए बैँकले कर्जा उठाउने आधार बनाउन सक्दैन, त्यसैले बैंकको नियमअनुसार सबै कागजात पूरा भएको ४८ घण्टाभित्र किसानलाई कर्जा दिन अग्रसर भएको जनकारी गराए ।

श्रोत: कृषक मासिक

रचनात्मक प्रतिक्रिया दिनुहोस् :