पोखरामा माछापालनको पर्याप्त सम्भावना

यो समाचार 105 पटक पढिएको

पोखरा, ३ पुस/ विविधतायुक्त भौगालिक अवस्थिति र तालतलैयाका कारण कास्कीमा धेरै जातका माछा उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयद्वारा ‘मत्स्यपालन समस्या’ विषयक अन्तक्र्रियामा जिल्लामा माछापालनमा पर्याप्त सम्भावनायुक्त क्षेत्र भएकामा जोड दिइएको छ । मत्स्य अनुसन्धान केन्द्र, पोखराका विज्ञ रामकुमार श्रेष्ठले भौगोलिक अवस्थिति एवम् पर्याप्त पानीका स्रोत रहेका कारण जिल्लामा मत्स्यपालनका धेरै सम्भावना रहेको बताए ।

जिल्लामा २०१८ सालमा ताल विकास केन्द्रको स्थापनासँगै माछापालनको क्रम निरन्तर रुपमा बढ्दै गएको छ । प्राकृतिक रुपमा उपलब्ध हुने माछाका अतिरिक्त २०२८ सालदेखि पोखरामा पिँजडामा माछा पाल्न थालिएको हो । विसं २०३१ मा एकीकृत मत्स्य विकास परियोजना र २०४८ सालमा प्राकृतिक जलाशय संरक्षण एवम् मत्स्य विकास परियोजनामार्फत माछापालन व्यवसायलाई विकास गर्न लागिएको हो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइरालाले जिल्लामा माछापालनको अत्यधिक सम्भावना रहेका कारण यसको व्यावसायिक विकासका लागि किसानलाई सहयोग गर्न तत्पर रहेको बताए । व्यावसायिक माछापालनलाई अघि बढाउन कार्यालयले किसानलाई तालिम, भ्रमणका साथै तालभित्र पिँजडा निर्माण, माछा ढुवानी, वितरणलगायतमा अनुदान सहयोग गर्ने बताएको छ ।

बागवानी विकास अधिकृत मनोहर कडरियाले माछापालनका लागि कृषकको जागरुकता अपरिहार्य भएको उल्लेख गर्दै यसको व्यावसायिक विकासका लागि सरकारी तवरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जिल्लामा मत्स्यपालनका धेरै सम्भावना रहेको र प्रतिवर्ष व्यावसायिक पालन तथा प्राकृतिक गरी ५८२ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताए । मत्स्यपालन व्यवसायको विकासका लागि किसानलाई मागमा आधारित तालिम, जाली वितरणलगायतका योजना राखिएको छ ।

मत्स्य उत्पादक व्यवसायी एवम् माझथुम कृषि सहकारी संस्थाका अध्यक्ष भीमप्रसाद सुवेदी, विजय भुजेललगायतले जिल्लामा माछापालनका धेरै सम्भावना भएका कारण यसको अधिकतम उपयोग गर्न कार्यालयले कृषकलाई समयसमयमा तालिम एवम् विज्ञहरूको सहयोग उपलब्ध गराउनुपर्ने धारणा राखे ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :