राँगोको कमाइ एक लाखभन्दा बढी

यो समाचार 248 पटक पढिएको

बैतडी, ३ पुस / सामान्य जीवनयापनकै लागि विदेशीने युवालाई चुनौती दिँदै यहाँका एक युवकले उदाहरणियरुपमा राँगोपालन गरी मनग्य कमाइ गरिरहेका छन् ।

Bufaloव्यावसायिक पशुपालनमा जिल्लाको श्रीकोट गाविस–२ का मानसिंह विष्टले पालेको राँगोले वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्ने गरेको छ । गाउँभरीका भैँसी गर्भवती गराएवापत राँगोबाट सो आम्दानी विष्टको परिवारमा भित्रने गरेको छ ।

किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा रु एक हजार पाँच सय र आफ्नै गाउँमा वा गोठमा ल्याए रु एक हजार लिने गरेको विष्टले बताए । “वैशाखदेखि हालसम्म ६० वटा भैँसी राँगोबाट गर्भवती भइसकेका छन,” उनले भने ।

एक वर्षमा सयभन्दा बढी भैँसी गर्भवती हुने गरेका छन् । वर्षमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म राँगोबाट कमाइ हुन्छ । स्याहार, दानापानीका हिसावले राँगोपालन खर्चिलो भएपनि त्यसबाट नियमित आम्दानी हुने गरेको उनको भनाइ छ । गाउँघरमा निकै कम राँगो पाल्ने चलन भएपछि भैँसी गर्भवतीको लागि एकै ठाउँमा धेरै किसान भर पर्नुपर्ने अवस्था छ ।

पहिले–पहिले भैँसी गर्भवती गराउँदा अन्न दिने गरिएपनि पछि नगदको चलन आएको विष्टले बताए । “राँगो पाल्दा खर्च बढ्नका साथै जोखिम पनि उत्तिकै हुन्छ” उनले भने । किसानका गोठ–गोठमा लैजाँदा झण्झट भएपनि त्यसको कमाइले त्यो दुःख पनि बिर्साइ दिने गरेको छ ।

दुई वर्ष अघिदेखि व्यावसायिकरुपमा राँगोपालन सुरु गर्नुभएका विष्टले आफ्नो जीवनयापन सजिलैसँग गरिरहेका छन् । राँगोको लागि श्रीकोट, देउलेक, श्रीकेदार, कटौजपानी, हटैराजलगायतका गाविसबाट आफुलाई फोन आउने गरेको उहाँले बताए । उनी राँगोसँगै बाख्रापालन र तरकारी खेतीलाई समेत व्यावसायिकरुपमा गर्दै आएका छन् ।

कक्षा १२ सम्मको पढाई पुरा गरेका विष्ट तीन वर्ष भारतमा मजदुरीसमेत गरेको र अब भारत नजाने बताउँछन् । “भारतमा भन्दा मलाई यतै ठिक छ”, उनले भने, “कृषिलाई व्यावसायिक बनाउछु, बाँचुञ्जेल र सकुञ्जेल यसमै रमाउँछु ।” यसैको कमाइले दुई छोराछोरीको लालनपालन, पढाइ, घरखर्च सबै चलेको तथा नियमित बचतसमेत गर्ने गरेको विष्टले बताए । राँगोपालनले विष्ट अहिले एक उदाहरणिय युवाका रुपमा समेत चिनिएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :