व्यावसायिक गाईपालनमा रविका कृषक

यो समाचार 342 पटक पढिएको

पाँचथर, ३ पुस / शिक्षण पेसाबाट अवकाश लिएपछि रविका प्रकाशचन्द्र राईले व्यावसायिक गाईपालन सुरु गरेका छन् ।

cowदुर्गा उच्च मावि रविमा ३ दशक लामो समयको शिक्षणपछि उनले व्यावसायिक रूपमा उन्नत जातका गाई पाल्न सुरु गरेका हुन् । “गाईपालनबाट राम्रो आम्दानी हुने देखेपछि शिक्षण पेसाबाट अवकाश लिएपछि व्यावसायिक रूपमा गाईपालन सुरु गरेको छु,” उनले भने, “पोखरा, इलामलगायतका स्थानबाट उन्नत जातका गाईहरू ल्याएर पालेको छु ।”

अवकाशपछि चितवन र पोखरालगायतका गाई फार्मको भ्रमण गरी आफूले गाईपालन सुरु गरेको उनी बताउँछन् । उनकै नेतृत्वमा पशुपालक कृषकहरूको समूह गठन गरी गाविस भरिनै व्यावसायिक गाईपालन सुरु गरिएको छ । त्यही समूहलाई अहिले रवि गाईपालन सहकारी संस्थामा विकास गरिएको छ । सहकारीकै माध्यमबाट कृषकहरूले गाई पाल्न थालेका हुन् ।

“समूहमा नौ जना आबद्ध भएका थियौं,” समूहका सदस्य पनिकुमार राईले भने “समूहका प्रत्येक सदस्यले एक लाखको दरले सेयर हालेर गाई पालन सुरु गरेका हौं ।” गाई पालनका लागि समूहको ३२ लाख लगानी भएको उनीहरू बताउँछन् । “समूह नै सहकारीमा दर्ता भएपछि सहकारीबाट ऋण लिएर पनि कृषकहरूले गाई पालन सुरु गरेका छन्,” प्रकाशचन्द्रले भने, “सहकारीमा सदस्य संख्या पनि बढेको छ ।”

यहाँका कृषकहले आफ्नो गाईगोठमा २० वटासम्म उन्नत जातका गाई र बाच्छाबाच्छी बाँधेका छन् । सबै गाईहरूको बिमा गरिएको उनीहरूको भनाइ छ । दूध र दूधजन्य वस्तुहरूको व्यवसाय फस्टाउन थालेपछि रविका अग्रज कृषकहरूले आधुनिक प्रविधका गोठमा उन्नत जातका गाई पाल्न थालेका हुन् ।

यस क्षेत्रका पशुपालक कृषकहरूले प्रायःसबै वडामा गाई पालन समूह र दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरेर गाईपालन सुरु गरेका हुन् । सहकारीमा सामान्य कृषकदेखि शिक्षण पेसाबाट अवकाश लिएका शिक्षकहरू, वैदेशिक रोजगारबाट फर्किएका युवा आबद्ध छन् । तिनीहरू सबैले गाईपालन सुरु गरेका छन् ।

गाउँमा गाईपालन फस्टाउन थालेपछि आफूले विगतमा गर्दै आएको आरा काट्ने र काठका सामग्री बनाउने पेसा परिवर्तन गरेर गाईपालन सुरु गरेको स्थानीय कृषक देउप्रकाश राई बताए । “उन्नत जातको गाईपालन व्यावसायिक रूपमा गर्दा राम्रै आम्दानी हुँदो रहेछ,” उनले भने, “अहिले लगानीकै चरणम छु, अब केही महिनादेखि दूध बेचेरै राम्रो आम्दानी लिन्छु ।” उनी जस्तै अरू पनि कृषक यो पेसाप्रति आकर्षित भएका छन् ।

रवि ५ का सचिन राई वैदेशिक रोजगारीमा जाने योजना परिवर्तन गरेर गाईपालनमा लागेका छन् । अहिले आफ्नो गाई फार्ममा ११ वटा उन्नत जातको गाई पालिएको उनी बताउँछन् । जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा यहाँका कृषकहरूले व्यावसायिक रूपमा गाईपाल्न सुरु गरेका हुन् । नजिकैको पशु सेवा केन्द्रबाट पशुको उपचार, कृतिम गर्भधान र उपचारको सेवासहित समूहमा गाई पाल्ने कृषकलाई घाँस काट्ने मेसिन ९चप कटर० र पशु बिमाको सुविधा उपलब्ध गराउन थालेपछि आफूहरूलाई गाईपालनमा सजिलो भएको कृषकहरू बताउँछन् ।

व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी हुने देखेपछि यसमा सबै कृषकको आकर्षण बढेको हो । गाउँमा गाईपाल्ने अभियान नै चलेपछि बिदेसिने युवा पनि गाउँमै आएर गाईपालनमा लागेको स्थानीयहरू बताउँछन् । “गाईपालनबाट दोहोरो पाइदा हुँदोरहेछ,” स्थानीय देउप्रकाश राईले भने “मल मूत्रबाट बालीनाली पनि सप्रिने, बाच्छाबाच्छी र दूध बेचेर पनि आम्दानी हुने ।”

रचनात्मक प्रतिक्रिया दिनुहोस् :