कृषि र उद्योगमा सबल प्रदेश नम्बर २

यो समाचार 328 पटक पढिएको

जनकपुर, २ पुस/ नयाँ संविधानले कोरेको सीमांकनअनुसार उर्वर कृषिक्षेत्र, उल्लेख्य उद्योग, कलकारखाना, ऐतिहासिक तथा धार्मिक पहिचान बोकेका पयर्टकीय स्थलहरू र छिमेकी मुलुक भारतसँग जोडिएका नाकाहरूले गर्दा प्रदेश नम्बर २ पनि अन्य प्रदेशभन्दा कमजोर छैन । यो प्रदेशको मुख्य आयस्रोत नै कृषि हो । सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साका भू–भाग समेटिएको यो प्रदेशको अधिकांश क्षेत्रफल खेतीयोग्य जमिन छ । त्यसैले लगानी बढाइयो भने कृषिमा चर्चित रहेका भारतको हरियाणा राज्यको अर्को नमुना प्रदेश नम्बर २ बन्न सक्ने धेरै सम्भावना छ ।

Agro Industries

तथ्यांक हेर्ने हो भने प्रदेश नम्बर २ कृषिका लागि अग्रणी क्षेत्र हो । विभिन्न जिल्लामा कृषि कार्यालयका प्रमुख भई अवकाश प्राप्त गरिसकेका सप्तरी निवासी अनुपलाल साह भन्छन्, “प्रदेश नम्बर २ को कृषिक्षेत्रमा लगानीसँगै आवश्यक विज्ञ तथा कृषि सामग्री सहज ढंगले उपलब्ध भयो भने हरियाणा बन्न धेरै वर्ष लाग्दैन ।’


यसरी बन्न सक्छ दोस्रो हरियाणा

सप्तरीको कुल क्षेत्रफल १ हजार ३६३ वर्गकिलोमिटर छ, जसको ६३.३३ प्रतिशत क्षेत्रफल कुल खेतीयोग्य जमिन नै छन् । यहाँ ८१ हजार ६६७ हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये ७२ हजार हेक्टरमा धान र गहुँको खेती भइरहेको छ । गत वर्ष सप्तरीमा १ लाख २९ हजार टन धान उत्पादन भएको तथ्यांक जिल्ला कृषि कार्यालयको छ । गहुँखेतीमा धेरै ह्रास आएको अवस्थामा यतिबेला सप्तरी कुल खेतीयोग्य जमिनको २० देखि ३० प्रतिशतमा मात्रै गहुँखेती भइरहेको छ । अर्को सम्भावना छ, केराखेतीको । ५ वर्षदेखि सप्तरीको पूर्वी क्षेत्रका भारदह, १ नम्बर योगिनियाँ, २ नम्बर योगिनियाँसहितका ठाउँमा व्यावसायिक केराखेती फस्टाउँदै गएको छ । अहिले सप्तरीमा करिब १५ सय हेक्टर जमिनमा केराखेती भइरहेको छ ।

कृषि उत्पादन घटिरहनुको प्रमुख बाधकका रूपमा सिँचाइ, मलखाद र गुणस्तरीय बीउ नपाउनुसँगै बजार मूल्यमा कमी आउनु पनि हो । हाल सप्तरीमा चन्द्रनहर, कोसी पश्चिमी नहर वितरण प्रणाली, कोसी पम्प नहर, ग्रामीण पूर्वाधार विकास तथा सिँचाइ सेक्टरहरूबाट कुल २८ हजार ६२४ हेक्टर जमिनमा सिँचाइ भइरहेको छ ।

सिरहामा पनि कुल क्षेत्रफलको ५७.८३ प्रतिशत अर्थात् ७१ हजार ११ हेक्टर खेतीयोग्य जमिन छ । बढी मात्रामा धान र गहुँको खेती भइरहेको सिरहामा आवश्यक सिँचाइ सुविधा र समयमा मलखाद नपाउने समस्या उस्तै रहँदै गरेको छ । सिरहामा यो वर्ष ३६ हजार ४२० टन धान उत्पादन भएको छ । यस्तै समस्याले गर्दा धनुषामा यो वर्ष १ अर्ब ३० करोड ४८ लाख ३८ हजार मूल्यबराबरको ७२ हजार ४६१ टन कम धान उत्पादन हुने अनुमान छ । धनुषामा पनि ६२ हजार २०० हेक्टर जमिनमा धान र गहुँको खेती भइरहे पनि सिँचाइ सुविधा ३८ हजार ८३५ हेक्टर जमिनसम्म पुगेको छ । तर, यो पनि नियमित छैन ।

महोत्तरीमा त सिँचाइ सुविधाको अवस्था जर्जर नै छ । कुल खेतीयोग्य जमिन ६७ हजार ३५२ हेक्टर भए पनि त्यसको १० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बाँकी जमिनमा त आकाशे पानीको भरमा खेती गर्नुपरेको छ । त्यहाँका खेतीयोग्य जमिनमा उत्पादन हुने प्रमुख बालीहरूमा धान, गहुँ, मकै, माछा, तरकारी र उखु हुँदै आएको छ । यी खेतीहरू प्रदेश नम्बरको २ को हरेक जिल्लामा भइरहेको छ । महोत्तरीको सरकारी तथ्यांकअनुसार वार्षिक ९३ हजार ७५० टन धान उत्पादन हुने गरेको छ भने ६९ हजार टन गहुँ उत्पादन भइरहेको छ ।

सर्लाहीको कुल खेतीयोग्य जमिन ९२ हजार हेक्टर भए पनि ४० हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बागमती नदीको पानीबाट बागमती सिँचाइ आयोजना सञ्चालन भई हाल रौतहट र सर्लाही जिल्लाको लगभग ५० हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको छ ।
रौतहटमा ६५ हजार ९६९ हेक्टर खेतीयोग्य जमिन भए पनि ३२ हजार २७० हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । धान, गहुँसँगै रौतहटमा तरकारीखेती पनि राम्रो ढंगले भइरहेको छ । कुल खेतीयोग्य जमिन ५४ हजार ७३२ हेक्टर रहेको पर्सामा २६ हजार ६० मा सिँचाइ सुविधा पुगेको छ ।

तथ्यांक हेर्ने हो भने प्रदेश नम्बर २ कृषिका लागि अग्रणी क्षेत्र हो । तर, मुख्य समस्या सिँचाइ, मलखाद तथा बीउबिजन र दक्ष प्राविधिकसमेत नपाउनु नै हो । विभिन्न जिल्लामा कृषि कार्यालयका प्रमुख भई अवकाश प्राप्त गरिसकेका सप्तरी निवासी अनुपलाल साह भन्छन्, “प्रदेश नम्बर २ को कृषिक्षेत्रमा लगानीसँगै आवश्यक विज्ञ तथा कृषि सामग्री सहज ढंगले उपलब्ध भयो भने हरियाणा बन्न धेरै वर्ष लाग्दैन ।’

उद्योगमा क्रान्ति ल्याउन सक्ने प्रदेश
प्रदेश नम्बर २ को बारा र पर्सामा अत्यधिक उद्योग कलकारखाना छन् । बारा–पर्साअन्तर्गत वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा साना–ठूला गरी करिब २ हजार उद्योग कलकारखाना सञ्चालनमा छन् । मुलुकका कतिपय ठूला उद्योग पनि यही प्रदेशमा छन् । यहाँमात्रै ८० हजारदेखि १ लाखको हाराहारीमा मजदुर कार्यरत रहेको अखिल नेपाल टे«ड युनियन महासंघ भोजपुरा संयोजक मीनप्रसाद अपागार्इंको दाबी छ । उनका अनुसार १ लाखदेखि १ लाख २५ हजार मजदुर भने कृषिलगायत अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं चामल उद्योगी सुवोध गुप्ताका अनुसार बारा–पर्सामा करिब २०० देखि २५० चामल उद्योग छन् । तर, मुलुकको विद्यमान ऊर्जा समस्या, मजदुर समस्या तथा अन्य समस्याले गर्दा कतिपय उद्योग बन्द भइसकेका छन् । ४ महिनादेखिको आन्दोलनका कारण पनि यतिखेर बारा–पर्सा करिडोरका अर्बौंको लगानी रहेका अधिकांश उद्योग संकटमा परेका छन् ।

सप्तरीमा खासै उद्योग नरहे पनि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई राम्ररी सञ्चालन गरियो भने फलदायी हुन सक्छन् । सिरहाको सबभन्दा ठूलो मारुती सिमेन्ट उद्योग चर्चामा छ । धनुषामा पनि उद्योगहरू छन् । त्यसमध्ये नेपालको पहिलो चुरोट कारखाना जनकपुर चुरोट कारखाना पनि एक हो । यसबाहेक एभरेस्ट कागज कारखाना, नोबेल ग्यास उद्योग र तेज सिमेन्ट उद्योग तथा मैदा उद्योग छन् ।

रौतहटको मध्यभागस्थित श्रीराम सुगर मिल्स जिल्लाकै ठूलो उद्योग हो । करिब २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा खुलेको मिल्सले दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गर्ने मिल्सका प्रशासन शाखाका जयमंगल यादवले जानकारी दिए । उद्योगमा झन्डै ५०० स्थायी मजदुर र ३०० दैनिक ज्यालादारीमा काम गर्ने मजदुर छन् । महोत्तरीमा उत्पादित उखु जिल्लामै रहेको देशकै ठूलो चिनी उद्योग एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा लगिने गरिन्छ ।

यो प्रदेशको केही जिल्लामा उद्योगको संख्या बढी नै भए पनि कुनै जिल्लामा नगन्य छन् । तर, भएका उद्योगहरूलाई व्यवस्थित ढंगले चलाउने र धराशायी बन्दै गएका उद्योगहरूलाई पुनस्र्थापना गर्न सकियो भने प्रदेश नम्बर २ मा उद्योग क्रान्ति नै ल्याउन सकिन्छ ।

पर्यटकीय क्षेत्र
धार्मिक र ऐतिहासिक महŒव बोकेका क्षेत्रहरू प्रदेश नम्बर २ मा पनि छन् । जनकपुरको जानकी मन्दिर मुलुकसँगै अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त छ । त्यस्तै सप्तरीमा रहेको छिन्नमस्ता भगवती र कंकालिनी भगवती मन्दिर, सिरहाको सलहेश फूलबारी पनि पयर्टकीय स्थलका रूपमा विकसित हुँदै गएका छन् ।

प्रदेश नम्बर २ का प्रायः सबै जिल्लामा दर्जनभन्दा बढीको हाराहारीमा पुराताŒिवक महŒव बोकेका प्राचीन ऐतिहासिक स्थलहरू छन् । यी स्थलहरूको संरक्षण गर्न सकियो भने प्रदेश नम्बर २ ठूलो पयर्टकीय स्थलका रूपमा चिनाउन सकिने विश्वास सप्तरी निवासी इतिहासकार हरिकान्तलाल दासको छ ।

प्रदेश नम्बर २ को क्षेत्रफल र जनसंख्या
सप्तरी
क्षेत्रफल : १३६३ वर्ग किमि
जनसंख्या : ६,३९,२८४

सिरहा
क्षेत्रफल : १२२८ वर्ग किमि
जनसंख्या : ६,३७,३२८

धनुषा
क्षेत्रफल : ११८० वर्ग किमि
जनसंख्या : ७५४७७७

महोत्तरी
क्षेत्रफल : १००२ वर्ग किमि
जनसंख्या : ६,२७,५८०

सर्लाही
क्षेत्रफल : १२५९ वर्ग किमि
जनसंख्या : ७,६९,७२९

रौतहट
क्षेत्रफल : ११२६ वर्ग किमि
जनसंख्या : ६,८६,७२२

बारा
क्षेत्रफल : ११९० वर्ग किमि
जनसंख्या :

पर्सा
क्षेत्रफल : १३५३ वर्ग किमि
जनसंख्या : ६,०१,०१७

रचनात्मक प्रतिक्रिया दिनुहोस् :