माछा व्यापार ५० प्रतिशत घट्यो

यो समाचार 144 पटक पढिएको

काठमाडौं, २ पुस / नाकाबन्दीका कारण काठमाडौंमा माछा खपत ५० प्रतिशतले घटेको छ ।

काठमाडौंमा भारतबाट ६० प्रतिशत र नेपालकै विभिन्न क्षेत्रबाट ४० प्रतिशत माछा भित्रिने गरेपनि नाकाबन्दीयता आयात र बिक्री दुबै आधा घटेको व्यवसायी बताउँछन् । “पोहोर यो सिजनमा दैनिक १० टन माछा भित्रिन्थ्यो र त्यही अनुपातमा बिक्री पनि हुन्थ्यो । अहिले दैनिक आयात ५ टनमा सीमित भएको छ, त्यही पनि बिक्री हुन मुस्किल छ,” कालीमाटी फलफूल तथा तरकारी बजारभित्रको माछा व्यवसायी संघका अध्यक्ष वीरेन्द्रकुमार यादबले भने, “नाकाबन्दीले सबैभन्दा बढी मर्का थोक विक्रेता र उपभोक्तलाई परेको छ ।”

इन्धन अभाव हुँदा माछा किन्ने ठाउँसम्म आइपुग्न र माछाका परिकार पकाएर खान समस्या परेकाले बिक्री घटेको अनुमान उनको छ । “हप्ताको दुई पटक झोल र फ्राई गरी विभिन्न परिकारका माछा खाने हाम्रो परिवारमा अहिले ग्यास अभावले १५ दिनमा एकपटक, त्यो पनि एउटा परिकारमात्र बनाएर खाइरहेका छौं,” ताहाचलकी सानु तुलाधरले भनिन् ।

माछा ग्राहकको भीड लाग्ने कालिमाटीस्थित माछा बजारमा १ घण्टासम्म तुलाधरमात्र १ जना ग्राहक भेटिएकी थिइन् । यसले माछाको व्यापारमा आएको गिरावटलाई राम्रोसँग प्रतिविम्बित गर्छ । वीरगन्ज घर भई काठमाडौंको टंकेश्वरमा बस्ने अरमान अली ४ वर्षदेखि कालीमाटीमा माछा पसल गर्दै आइरहेका छन् । उनले विशेषगरी जाडोमा धेरै बिक्री हुने छरी, बुहारी, रहु माछा बेच्छन् । “पोहोर यो सिजनमा करिब ३–४ सय किलो बेच्थें तर अहिले सयदेखि डेढ सय किलोमात्र बिक्री हुन्छ,” उनी भन्दै थिए, “नाकाबन्दीले डुबायो ।”

भारतको जिहारी घर भई करिब १४–१५ वर्षदेखि कालीमाटीमा माछा पसल गर्दै आएका २७ वर्षीय प्रभेज यादव पनि व्यापार घटेकोमा ज्यादै चिन्तित छन् । “यो सिजनमा त झन्डै दोब्बर बिक्री हुनुपर्ने हो,” उनी भन्दै थिए, “घरभाडा पनि महँगो छ, छोराछोरीलाई लालनपालन गर्न पनि खर्च नपुग्ने अवस्था आयो । यो सिजनमा पनि राम्रो कमाउन सकिएन भने कहिले कमाउने ?”

दैनिक ५०–६० हजार रुपैयाँका माछा बेच्ने १८ वर्षीय मनीष भुजेल अहिले २०–२५ हजारमा खुम्चिएका छन् । करिब ५ वर्षदेखि माछा व्यवसाय गर्दै आएका भुजेललाई अहिलेको नाकाबन्दी र इन्धन अभावले ठूलो समस्यामा पारेको छ । “पसलमा मात्र होइन, घरमा पनि बिजोक सुरु भइसक्यो,” उनले भने, “ग्यास छैन, पसलसम्म हिँडेर आउनुपर्छ । बाहिर खान महँगो छ । कमाइ कम छ, कसरी चल्ने रु”

रचनात्मक प्रतिक्रिया दिनुहोस् :