पशुको औषधी र दाना पनि पाइन छोड्यो

यो समाचार 290 पटक पढिएको

झापा, १ पुस /पशुको दाना र औषधी पनि बजारमा पाउन छोडिए पछि किसानहरु मारमा परेका छन् ।

Livestock Medicineव्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरु पशुको आहारा (दाना) र औषधीको अभावका कारण समस्यामा परेका हुन् । तीन महिनादेखिको भारतको अघोषित नाकाबन्दी र झन्डै ४ महिनादेखि भएको तराई आन्दोलनका कारण बजारमा दाना तथा औषधीको अभाव भएको हो ।

नेपालमा भएका उद्योगहरुले कच्चा पदार्थको अभावका कारण उत्पादन गर्न नसकेको र भारतबाट आयातमा समस्या भएका कारण बजारमा अत्यावश्यकीय औषधीहरुको समेत अभाव देखिएको व्यवसायीहरुले बताएका छन् । पोषणका लागि खुवाइने विभिन्न औषधीजन्य वस्तुको तुलानामा उपचारमा आवश्यक पर्ने औषधीको बढी अभाव रहेको व्यवसायीहरुको भनाइ छ ।

पशुपक्षी औषधी व्यवसायी संघ मेचीका उपाध्यक्ष सुयोग खरेलले धेरैजसो औषधीहरु वीरगन्ज नाका हुँदै भित्रिने गरेको र सोही नाकामा बढी समस्या भएकाले माग अनुसारको आपूर्ति हुन नसकेको बताए । यस्तै नेपालमा रहेका उद्योगहरुले समेत भारतबाट नै कच्चा पदार्थ ल्याउने तर नाकाको अवरोध र मधेस आन्दोलनका कारण ल्याउन नसकेको जनाउने गरेको उनको भनाइ छ ।

नेपाली उद्योगहरुले उत्पादन गरेका औषधी तथा दाना ल्याउन समेत ढुवानी खर्च अधिक बढेको खरेलले बताए । इन्धन अभाव र राजमार्गको असुरक्षाका कारण ढुवानीका साधन चलाउन समस्या भएकाले दश गुणासम्म ढुवानीभाडा तिर्न बाध्य हुनु परेको उनले बताए । मेची अञ्चलमा पशुपक्षीका औषधीका आधा दर्जन र दानाका एक दर्जन डिलरमध्ये अधिकांशले माग अनुसारको आपूर्ति गर्न नसकेको संघले जनाएको छ ।

यस्तै अत्यावश्यक आहाराको अभाव किसानहरुले पनि समस्या भोग्नु परेको बताएका छन् । उत्पादन दिने बेलाका माछा, कुखुरा, बंगुरलाई आवश्यकता अनुसार दाना खुवाउन नपाएको उनीहरुले बताएका छन् । व्यावसायिक रुपमा माछापालन गरेको हिमाल एग्रो नेपालका सञ्चालक मध्येका चन्द्र खत्रीले समयमा माछाका लागि आहारा नपाउँदा उत्पादनमा नै गिरावट आउने अवस्था आएको बताए । विभिन्न डिलरहरु धाउँदा मात्रै न्यून मात्रामा दाना पाइने उनले सुनाए । यस्तै व्यवसायीक रुपमा कुखुरा पालन गरेका किसानहरुले पनि दानानैं बजारमा पाईन छोडेको बताएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :