बाख्रापालनले बदलियो जीवन

यो समाचार 305 पटक पढिएको

दाङ, २६ मंसिर / परिवारका कोही बिरामी पर्दा उपचार खर्च जुटाउन गाउँ दगुर्नुपर्थ्यो। ब्याजमा ऋण पाउन पनि मुस्किल।

Goat Farmगरिबीका कारण साहूले पत्याउँदैनथे। तीन वर्ष अघिसम्म यस्तै नियती भोग्दै आएकी सतबरिया–१, बन्दगैंकी चन्द्रा रोकाको आर्थिक स्तर बाख्रापालनले उकास्यो। बाख्रापालन थालेपछि अहिले उनलाई पैसाका लागि गाउँ दगुर्नुपर्ने अवस्था छैन। बरु, ऋण खोज्नेहरू उनको दैलो टेक्न थालेका छन्। ‘बाख्रापालनले जुनी फेरिदियो,’ उनी भन्छिन्।

चन्द्रा अहिले अगुवा बाख्रापालक किसानको सूचीमा छिन् । तीन वर्षदेखि बाख्रापालनमा लागेकी उनको वार्षिक आम्दानी २ लाख रुपैयाँ हाराहारी छ। ‘बाख्रापालनबाट यति धेरै आम्दानी होला भन्ने लागेको थिएन,’ उनले भनिन्, ‘तर, मेहनत र लगनले काम गरे सफलता पाइँदोरहेछ।’

तीन वर्षअघि हेफर नामको संस्थाले चन्द्रालाई ६ वटा बाख्रा उपहार दियो। बाख्रा उपहार पाएपछि प्राविधिक ज्ञान लिएर उनले बाख्रापालन सुरु गरिन्। ‘बाख्रालाई पोषिलो घाँस खुवाउने, सुई लगाउनेजस्ता सबै उपाय सिकेर व्यवसाय सुरु गरेकी हुँ,’ उनले भनिन्। उपहार पाएका ६ वटा बाख्राबाटै आर्थिक स्तर उकासिएको चन्द्रा बताउँछिन्। बाख्रापालनबाट उनले घरखर्च मात्र चलाएकी छैनन्, घडेरी समेत किनिसकेकी छिन्। बाख्रापालन थालेपछि उनले छोराछोरीलाई पनि राम्रा स्कुलमा पढाएकी छन्। ‘बाख्रापालनकै आम्दानीबाट घडेरी जोडेर घर निर्माण सुरु गरेकी छु,’ उनले भनिन्। बाख्रापालनकै आम्दानीबाट घर ठड्याउने उनको सपना छ।

तीन वर्षअघि बाख्रापालन सुरु गरेकी चन्द्राले अहिलेसम्म ३८ खसी–बाख्रा बिक्री गरिसकेकी छन्। अहिले पनि खोरैभरी बाख्रा छन्। बाख्रापालन सुरु गरेपछि उनले घाँसखेती पनि थालेकी छन्। घाँस बिक्री गरेरै उनले ३३ हजार रुपैयाँ आम्दानी गरिसकेकी छन्। ‘घाँसखेतीबाट पनि राम्रै आम्दानी भएको छ,’ उनले भनिन्।

कृषि व्यवसाय गरेरै मनग्ये आम्दानी गर्न सकिने उनको अनुभव छ। ‘कृषिमा मेहनत गर्न सके यसबाटै राम्रो कमाइ गर्न सकिन्छ,’ उनी भन्छिन्। बाख्रापालन विस्तारका लागि वैदेशिक रोजगारीमा गएका पति ओमबहादुर रोकालाई घर फर्काउने उनको योजना छ। गत वर्ष मलेसिया पुगेका ओमबहादुर बाख्रापालन गर्न भनेरै केही दिनमा घर फर्कने उनले बताइन्।

बन्दगैं गाउँमा बाख्रापालनबाट मनग्ये लाभ लिएकी चन्द्रा एक सफल उदाहरण हुन्। बाख्रापालनबाट मनग्ये आम्दानी हुन थालेपछि गाउँका अन्यले पनि थालेका छन्। महिलाले समूह गठन गरी बाख्रापालन व्यवसाय थालेको महिलाहरू बताउँछन्। ‘यहाँका सबै महिलाले बाख्रापालन गरेका छन्,’ सयपत्री समूहकी कोषाध्यक्ष मीना बुढामगरले भनिन्, ‘बाख्रापालन सुरु गरेपछि यहाँका सबै महिलाले राम्रो आम्दानी गर्न सकेका छन्।’ बाख्रापालनबाटै करिब २ लाख रुपैयाँ आम्दानी गरेको मीना बताउँछिन्।

समूह गठन गरेपछि उनीहरूले मासिक बचतसमेत थालेका छन्। समूहमा जम्मा गरिएको रकम ऋणमा लगानी गर्दै आएको महिला बताउँछन्। मासिक डेढ सय रूपैयाँ बचत गर्दै आएका महिलाले कोषमा २ लाख ५५ हजार रूपैयाँ जम्मा गरिसकेका छन्।

मीनाका अनुसार गाउँका २५ महिलाले बाख्रापालन गरिरहेका छन्। हाल समूहमा रहेर बाख्रापालनमा लागेका महिलाले सहकारी सञ्चालनको तयारीसमेत गरेका छन्। गाउँको उत्पादन सहज बिक्री वितरणका लागि सहकारी सञ्चालनको तयारी अन्तिम चरणमा पुर्यातएको कोषाध्यक्ष मीनाले बताइन्।

बाख्रापालनबाट सबैभन्दा बढी कमाई गरेको भन्दै बन्गैंकी चन्द्रा पुरस्कृत भएकी छिन्। तीन वर्षको अवधिमा उनले ५ लाख ५ हजार रूपैयाँ आम्दानी गरिसकेकी छन्। बाख्रापालनमा लगानी गरेको हेफर संस्थाले ५० हजार किसानमध्ये उत्कृष्ट किसानका रूपमा चन्द्रालाई शुक्रबार ७० हजार रासीको स्वर्णीम प्रतिभा पुरस्कार दिएको हो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :