नाकाबन्दीले खसीबोका निर्यात ठप्प

यो समाचार 313 पटक पढिएको

सुर्खेत, २६ मंसिर/ भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावसगै खसीबोका निर्यात ठप्प हुदा सुर्खेती कृषक मर्कामा परेका छन्।

Goatजिल्ला बाहिर निर्यात गर्नका लागि पेट्रोलियम पदार्थ अभाव हुदा कृषकलाई समस्या परेको जिल्ला पशुविकास कार्यालयले जनाएको छ। सुर्खेतका खसीबोकाको मुख्य बजार काठमाडौं र पोखरा हो। खसीबोका बिक्री गरेर यहाका कृषकले वार्षिक ६३ करोड रुपैयाँबराबर आम्दानी गर्दै आएका छन्

कार्यालय प्रमुख जनकराम भण्डारीले खसीबोका बिक्री हुने मुख्य सिजन दसैं र तिहारमा पनि जिल्लाका खसीबोका बाहिर निर्यात हुन नपाएको बताए। ‘वार्षिक ६३ करोड रुपैयाँ बराबर खसीबोका बिक्री गर्दै आएका सुर्खेती कृषकले दुई महिनायता जिल्लाबाहिर बिक्री गर्न पाएका छैनन्,’ उनले भने, ‘यसबाट कृषकले मासिक करोडौं रुपिया गुमाउनुपरेको छ।’

कार्यालयका अनुसार सुर्खेत खुसीको मासुमा आत्मनिर्भर जिल्ला हो। ‘जिल्लाभित्रको माग पूर्ति गरेर पनि वर्षमा ३२ करोडको खसी बाहिरी जिल्लामा बिक्री हुन्छ,’ उनले भने, ‘दुई महिनायता निर्यात ठप्प हुदा भने कृषक समस्यामा परेका छन्।’ केही वर्षअघिसम्म यात्रुवाहक बसमा निर्यात हुदै आएका खसीबोका अहिले पशु निर्देशिकाअनुसार ट्रकमा राखेर पठाउने गरिन्छ। ढुवानी मापदण्डका कारण पनि खसीबोका निर्यातमा समस्या आएको हो। ‘पहिले दैनिक ३० देखि ५० सम्म खसीबोका बसमा राखेर लैजाने गरिन्थ्यो,’ उनले भने, ‘अहिले ढुवानी मापदण्डअनुसार छुट्टै ट्रकमा पठाउनुपर्ने भएकाले पनि समस्या आएको हो।’

खसीबोका बिक्री गरेर सुर्खेती कृषकले वार्षिक करिब ६३ करोड आम्दानी गर्दै आएका छन्। ३३ करोड जिल्लाभित्र र बाकी जिल्लाबाहिरबाट आम्दानी हुने गरेको कार्यालयको तथ्यांक छ। प्रशस्त जंगल, सुक्खा हावापानीका कारण सुर्खेत बाख्रा पालनका लागि उत्कृष्ट जिल्ला मानिन्छ।

वरिष्ठ पशुचिकित्सक जीवराज पौडेलका अनुसार गर्पन, साटाखानी, रझेना, नेटा र दशरथपुर गाविसमा धेरै तौलका बाख्रा पाइन्छन्। यस्तै लेखपराजुल, मालारानी धारापानी, साटाखानी, कुनाथरी, लेखगाउ, हरिहरपुर, तरंगा, लगाम, बेतान, छिन्चुमा व्यावसायिक बाख्रापालन हुन्छ। ‘अघिल्लो वर्ष कुनाथरी, वीरेन्द्रनगर, छिन्चु र सहारेमा संकलन भएका ६० हजार खसीबोका काठमाडौं र पोखरामा बिक्रीवितरण भएका छन्,’ उनले भने, ‘यस वर्ष ७० हजार खसीबोका बिक्रीवितरण गर्ने लक्ष्य लिइएको छ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :