पूर्वेली किसानलाई गहुँ बिउ अभाव

यो समाचार 350 पटक पढिएको

विराटनगर, २५ मंसिर / साढे तीन महिना लामो तराई बन्द बन्द र भारतीय नाकाबन्दीको मारमा परेका पूर्वका किसानले बिउबिजन पनि पाउन छाडेका छन् ।


Wheatसरकारले गहुँबालीका लागि पर्याप्त अनुदान बिउ उपलब्ध नगराउनु र तराई बन्द तथा नाकाबन्दीका कारण निजी कम्पनीका बिउ बजारमा आपूर्ति नहुँदा किसानले मागअनुसार बिउ पाउन सकेका छैनन्। इन्धन र रासायनिक मलसँगै पूर्वका किसानले गहुँ बिउको पनि अभाव खेप्नुपरेको छ । गहुँबाली लगाउने ‘पिक सिजन’ जान लागिसक्दा पनि किसानले मागअनुसार बिउ पाउन नसकेका हुन् ।

गहुँबाली लगाउन ढिलाइ भएको गुनासो गर्दै किसान थोक विक्रेताकहाँ ओइरिने क्रम पछिल्लो समय बढ्दै गएको छ । तर, डिलरले तराई बन्द र नाकाबन्दीका कारण गहुँको बिउ नभएको भन्दै किसानलाई रित्तो हात फर्काउने गरेका छन् । ‘गहुँको बिउ बजारमा कतै पाइँदैन, भारतबाट पनि बिउ आउँदैन, के गरी गहुँ उब्जाउने हो, मोरङ बबियाबिर्ताका किसान अशोक कामतले गुनासो पोखे । उनका अनुसार सहरबजारका साथै ग्रामीण क्षेत्रका बजारमा गहुँको बिउ पाइँदैन ।

मोरङका कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले सरकारले अनुदानको गहुँको बिउ कोटाअनुसार उपलब्ध नगराएकाले अभाव भएको जानकारी दिए । सरकारले राष्ट्रिय बिउविजन कम्पनीले उत्पादन गरेको उन्नत जातको गहुँको बिउ किसानलाई कोटाका आधारमा अनुदानमा वितरण गर्दै आएको छ । पहिले साल्ट ट्रेडिङ कम्पनीले पनि गहुँको बिउ वितरण गर्ने गर्दथ्यो । तर, यसपटक राष्ट्रिय बिउविजन कम्पनीले मात्र गहुँ बिउ बिक्री गरिरहेको छ ।

यो वर्ष स्थानीय सहकारीबाट उत्पादित बिउ पनि कम उत्पादन भएकाले अभाव देखिएको हो । गत वर्ष गहुँ पाक्ने समयमा बढी पानी परेकाले दानाभित्र पानी छिर्दा गुणस्तरीय बिउ उत्पादनमा असर देखिएको छ । राष्ट्रिय बिउविजन कम्पनी बिक्री केन्द्र इटहरी प्रमुख राजेश्वर श्रेष्ठले भण्डारण केन्द्र रहेको रौतहटबाट पर्याप्त बिउ आइनपुगेकाले कोटाअनुसार पूर्वाञ्चलमा गहुँँको बिउ वितरण गर्न नसकिएको बताउँछन् । हाल झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीका १ सय १ डिलरलाई ५र५ टनका दरले ४५ रुपैयाँ ३५ पैसामा बिउ उपलब्ध गराइएको उनले जानकारी दिए ।

श्रेष्ठले भने, ‘थप बिउ आउने प्रक्रियामा छ, आएमा मागअनुसार किसानलाई वितरण गर्न सक्छौँ ।’ केन्द्रका अनुसार पूर्वाञ्चलका लागि १२ सय ५० मेट्रिकटन गहुँको बिउ अनुदान कोटा तोकिएको छ । तर, हालसम्म साढे ३ सय मेट्रिकटन मात्र वितरण भएको छ । गत वर्ष पूर्वका ५ जिल्ला झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा ७४ हजार ३ सय २८ हेक्टर जमिनमा गहुँखेती भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :