सरकारी निर्देशन टेर्दैनन् एग्रोभेट

यो समाचार 364 पटक पढिएको

बुटवल, २४ मंसिर / औषधि व्यवस्था विभागको अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि प्रक्रिया पूरा गरी कारोबार गर्न दिइएको निर्देशन बुटवलका एग्रोभेटहरूले अटेर गरेका छन् ।

Pesticide Shop jpgअनुगमनका क्रममा सञ्चालनमा रहेका अधिकांश एग्रोभेट पसलहरूले मापदण्डविपरीत औषधि तथा अन्य बीउबिजन बिक्री गरेको पाइएपछि १ साताभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको भए पनि उनीहरूले सो निर्देशन बेवास्ता गरेका छन् । औषधि व्यवस्था विभागले निर्धारण गरेका मापदण्डहरूलाई कार्यान्वयन नगरी मनपरि रूपमा पसलहरू सञ्चालनमा रहेको पाइएपछि तत्काल सुधार गरेरमात्र सञ्चालन गर्न करिब आधा दर्जन एग्रोभेट पसललाई निर्देशन दिइएको थियो ।

औषधि व्यवस्था विभागको टोलीले गत साता रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका एग्रोभेटहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले केही औषधि पसलहरूलाई प्रक्रिया पूरा गरेर मात्र पसल सञ्चालन गर्न चेतावनीपत्रसमेत बुझाएको थियो । अनुगमनका क्रममा प्राविधिक अर्थात् पशु डाक्टरहरूले सञ्चालन गरेका पसलहरू स्वीकृतिबिना सञ्चालनमा रहेका, केही पसलहरूमा सञ्चालक नै नबसी अरुले औषधि बिक्री गरेको र केही पसलहरू सरकारी कर्मचारीहरूकै नाममा सञ्चालनमा रहेको पाइएको विभागका निरीक्षण अधिकृत रामप्रसाद पौडेलले बताए ।

अनुगमनका क्रममा बुटवलमा २ दर्जन एग्रोभेट पसलमा विभागको टोलीले निरीक्षण गरेको थियो । सो क्रममा ऋचा एग्रोभेट, युनिक एग्रोभेट, बुटवल भेटेनरी तथा एग्रोभेटलाई चेतावनीपत्र दिँदै तत्कालै सुधार गर्न निर्देशन दिइएको पौडेलले बताए ।

यस क्षेत्रमा सञ्चालनमा रहेका कतिपय एग्रोभेटहरूले उपभोक्ताहरूसँग मनपरि रूपमा मूल्य लिने गरेको पनि अनुगमनमा भेटिएको छ । एग्रोभेट सञ्चालक तथा उपभोक्ताहरूको उजुरीका आधारमा विभागले अनुगमन टोली पठाएको थियो । एग्रोभेटहरूले सीमा नाकानजिक भएको फाइदा उठाउँदै लुकाईछिपाई भन्सार छली ल्याउने गरेका सामान पनि बिक्री गर्ने गरेको उपभोक्ताहरूको गुनासो छ ।

अनुगमनका क्रममा केही पसलहरू स्वयं प्राविधिक पशु डक्टरहरूको संलग्नतामा गैरकानुनी रूपमा सञ्चालन भएको भेटिएको अधिकृत पौडेलले बताए । बुटवल एग्रोभेट डाक्टर उत्तम आचार्यले हेर्ने गरेको तर सञ्चालक उनैकी बहिनी रहेको, कृषि उपज केन्द्रको गेटैमा रहेको एग्रोभेटका सञ्चालक डा. वीरेन्द्र श्रेष्ठ तथा युनिक भेट डा. प्रकाश कँडेलले चलाएको भेटिएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी महासंघ लुम्बिनीका सचिव रामप्रसाद भट्टराईले औषधि पसलहरूलाई व्यविस्थत बनाउन अनुगमन गरिएको र व्यवसायीहरूमा सुधार जरुरी रहेको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :