तोरीले उकासेको जिवनस्तर

यो समाचार 305 पटक पढिएको

सिन्धुली, २३ मंसिर / रतनचुरा–७ की सीता थापाको बारीमा पहिला–पहिला मंसिरको समयमा पहेँलै तोरी हुन्थ्यो ।

Tori mustardखेतमा पनि तोरी लगाउँथिन् । खेत र बारीमा गरी १२–१३ मुरी तोरी हरेक वर्ष भित्र्याउँथिन् उनी । खानको लागि बाहिरको तेल किन्नु पर्दैनथ्यो । “९–१० मुरी तोरी त बेच्थें पनि,” उनले भनिन् । कोदो र धान भित्र्याएपछि लगाएको तोरीबाट आम्दानी पनि राम्रो हुन्थ्यो भने शुद्ध तोरीको तेल खानलाई पनि समस्या थिएन । आजभन्दा ५ वर्षअघि सम्म उनले कहिल्यै बाहिरको तेल किनेर खाइनन् । तर, ‘दुःखले सुख खोज्छ’ भनेजस्तै थापाले खेत–बारीमा तोरी लगाउन छाडिन् ।

बाहिरको तेल किनेर खान थालिन् । “छोराछोरी पनि दुःख नगर्ने भए, तोरी पनि पहिलाको जस्तो फल्न छाड्यो, अनि ‘के दुःख गर्नु’ भनेर तोरीखेती गर्न छाडियो,” उनले भनिन् । तर, ५ वर्षसम्म तोरीखेती नगरी बाहिरको तेल किनेर खाँदा पहिलाको खेतीलाई सम्झाइदिएको छ उनलाई, भारतीय नाकाबन्दीले । अहिले ३०० लिटर तेल किन्नुपर्दा पहिलाको तोरीखेतीको सम्झना आउँछ थापालाई ।

त्यही तोरीखेती गरिरहेको भए अहिले ३०० रुपैयाँ लिटर तेल किनेर खानुपर्ने अवस्था आउँदैन थियो । “अहिले त निद्राबाट ब्युझिएँ जस्तो लाग्छ,” उनी भन्छिन् ।  भारतले नाकाबन्दी गरेको करिब २ महिना भयो । अहिले उनको बारीमा पनि तोरी पनि पाक्न लागेको छ । ३०० रुपैयाँ लिटर तेल किनेर तिहार मनाउनुपरेपछि उनको ‘घैंटामा घाम लागेको’ हो ।

तिहारलगत्तै बाँझो बारी जोतेर तोरी छरिन् । “एक कठ्ठा बारीमा तोरी छरेको छु,” उनले भनिन्, “खेतमा पनि छरेको छु, अब बर्सेनि तोरी लगाउँछु, तोरीखेती गर्न छाड्दिनँ । भारतले नाकाबन्दी गर्नेबित्तिकै तेल खान नपाइने रहेछ । आफैंले खेती गरेपछि त नाकाबन्दी गरे नि, जे गरे नि हामीलाई केही समस्या पर्दैन ।” नाकाबन्दीले कुनै असर नपारेको सिन्धुली महाभारत क्षेत्र रतनचुराका बासिन्दालाई खानेतेलको भने समस्या भएको थियो । घरपरिपरि जंगल भएकाले खाना पकाउन खासै समस्या छैन ।

इन्धन पनि खासै आवश्यक छैन तर खानेतेल र नुनको समस्या सुरु भइसकेको छ । कम्तीमा खानेतेलेको जोहो आफैं गर्ने दाउमा उनीहरू छन् ।भारतले गरेको  नाकाबन्दीका कारण पहिला तोरीखेती नगर्ने र खेती गर्न छाडेका कृषक पनि सबै अहिले तोरीखेतीमा लागेका छन् । कात्तिक, मंसिरमा धान र कोदो भित्र्याएसँगै बाँझो रहने रतनचुराका बारी र खेतहरू अहिले पहेंलै छन् । गाविसबासीले अब महँगोमा तेल किनेर खानु नपर्ने गरी आफूहरू तोरीखेतीमा लागेको रतनचुराका कृषि नवराज श्रेष्ठले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :