मासुको बजार अभावमा बंगुरपालक किसान डुब्दै

यो समाचार 323 पटक पढिएको

झापा,२३ मंसिर / स्थानीय मागभन्दा उत्पादन बढी भएपछि झापामा बंगुरपालनमा लगानी गरेका कृषक डुब्न थालेका छन् ।

बंगुरपालनबाट डुव्दै कृषकमासुको बजार अभाव तथा प्रशोधनको व्यवस्था नहुँदा व्यावसायिक बंगुरपालक कृषकले ठूलो नोक्सानी बेहोर्नुपरेको हो । भारतले १ वर्षअघिदेखि नै नेपालबाट सुँगुर तथा बंगुर लैजान प्रतिबन्ध लगाएपछि भारत तथा भुटानको बजारमा रहेको मागलाई मध्यनजर गरेर युवाहरुले व्यावसायिक रूपमा सुरु गरेको बंगुर तथा सुँगुरपालनमा नोक्सानी बेहोर्नुपरेको कृषकको भनाइ छ ।

दमक–१ मा करिब १५ लाख रुपैयाँको लागतमा व्यावसायिक बंगुरपालन सुरु गरेका डम्बर पुलामी पेसा नै छोड्ने अवस्थामा पुगेका छन् । उनले भारतीय बजारमा बंगुरका पाठा र मासु निर्यात गर्न नपाउँदा आफ्नो व्यवसाय नोक्सानीमा परेको बताए । उत्पादित बंगुरका पाठा र मासुको बिक्रीका लागि नेपाली बजारमात्रै पर्याप्त नभएको र भारत सरकारले त्यहाँका व्यवसायीलाई नेपालमा उत्पादित बंगुर खरिदमा रोक लगाएपछि नेपाली बजारमा मात्रै उत्पादन खपत हुन नसकेको उनको भनाइ छ ।

मासुका लागि प्रशोधन कारखानासमेत नहुँदा यस क्षेत्रमा बंगुरपालन गर्ने सबै कृषकले गरेको लगानी डुबेको उनको भनाइ छ । उत्पादित बंगुरका पाठा बिक्री गर्ने समय बितिसके पनि पर्याप्त मात्रामा बिक्री नहुँदा कृषकले बंगुरको आहार (दानापानी) र स्याहारसुसारमा लगानी बढिरहेको तर उन्नत जातका ती पाठापाठीको बढ्ने उमेर सकिएकाले उल्टै नोक्सानी बेहोर्नुपरिरहेको छ । व्यक्तिगतमात्र होइन, संस्थागत रूपमा समेत व्यावसायिक बंगुरपालन गर्नेहरुको अवस्था उस्तै छ । दमक –१३ मा सञ्चालित पूर्वेली कृषि फार्ममा अहिले पनि बिक्री गर्नुपर्ने झण्डै सयवटा बंगुर र पाठा छन् । “बंगुर ३ महिनाअघि नै बिक्री गरिसक्नु पर्ने थियो तर बजारमा बंगुरको आपूर्ति र मागको सन्तुलन नमिल्दा बिक्री हुन सकेका छैनन्,” सञ्चालकले भने ।

न्यून संख्यामा अत्यन्तै न्यून मोलमा बंगुरका पाठा स्थानीयस्तरमा बिक्री गरिँदैछ । फार्म सञ्चालक समितिका संयोजक गोविन्दबहादुर बस्नेत भारततिर निर्यात गर्न नपाउँदा नै समस्या भइरहेकोमा काठमाडौं लान पनि मधेस आन्दोलनले अप्ठ्यारो पारेपछि त झनै चौपट भएको बताउँछन् । बंगुरको पाठा जन्मिएको ६० दिनमा कम्तीमा ५ हजार रुपैयाँ प्रतिगोटामा बिक्री गर्दा मात्रै लागत धान्ने गरेको उनले बताए । झण्डै सवा करोड रुपैयाँ लगानीमा सुरु गरिएको बंगुर फार्ममा अहिलेसम्म बंगुरको बजार अभावकै कारण १५ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

सरकारले मासु उत्पादन र युवाहरुमा स्वरोजगारका लागि अनुदान तथा सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरेर व्यावसायिक बंगुरपालनलाई प्रवद्र्धन गरे पनि उत्पादित बंगुरका पाठा र मासुको बजार अभावका कारण कृषकहरुले लागतअनुसारको मूल्य नपाएका हुन् । व्यावसायिक रूपमा बंगुरपालन गरिरहेका कृषकलाई १ लाख रुपैयाँका दरले सरकारी अनुदान प्रदान गरिएको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले १ वर्षअघिसम्म व्यावसायिक बंगुरपालनमा रहेका युवाहरुको आकर्षण अहिले नरहेको बताए ।

झापामा गत आर्थिक वर्षमा व्यावसायिक बंगुरपालनका फार्म ४३ वटा सञ्चालित थिए । तर, हाल कतिपय बन्द हुन थालेका छन् । झापाको लखपनुर–४ का कृषक राजन पोखरेल भएको बंगुर फार्म बिक्री गरेर कतार पुगिसकेका छन् । उनका सहकर्मी ख्याम आचार्य विदेश जानुभन्दा स्वदेशमा नै गरिखान सकिएका भन्ने आशामा गरेको लगानी पनि डुबेपछि सहकर्मी विदेश लाग्नु परेको बताउँछन् । ५ वर्ष कतारमा बसेर आएका उनले समेत विदेशको लगानी बंगुरपालनमा लगाएका थिए । तर, बजार विश्लेषण नगरी लगानी गर्दा विदेशमा दुःख गरेर कमाएको पैसा, मेहनत र समय खेर गएको उनको अनुभव छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :