खेती गर्न किन चाहियो जमीन ? बोरा नै पर्याप्त !

यो समाचार 536 पटक पढिएको

पृथराज थेगिम

प्रविधिको बढ्दो विकाससँगै खेती गर्ने तरीकामा पनि परिवर्तन भएको छ । सामान्यतया खेतीका लागि जमीन, सिँचाइ, मलखाद, जनशक्तिलगायतको आवश्यकता पर्छ । तर, कृषि प्रविधिको विकासले परम्परागत खेतीबाट क्रमशः बोरामा गरिने ‘सेक फार्मिङ’, थोरै जमीनमा ठाडो वा चाङ लगाएर गरिने ‘भर्टिकल फार्मिङ’ हुँदै उच्चतम प्रविधि मनिएको पानीमा गरिने खेतीप्रणाली (हाइड्रोपोनिक्स) समेत प्रयोगमा आइसकेको छ । हाइड्रोपोनिक्स प्रविधि बिरुवालाई चाहिने विभिन्न पोषक तत्त्व पानीमा समावेश गरी उक्त पानीमा बाली हुर्काउने तरीका हो । त्यसका लागि बालीलाई माटोको आवश्यकता पर्दैन ।

खेती गर्न किन चाहियो जमीन ? बोरा नै पर्याप्तयहाँ बोरामा गरिने खेती (सेक फार्मिङ) बारे चर्चा गरिएको छ । यस्तो खेती नेपालमा गाउँदेखि शहरबजारसम्म गरिँदै आएको छ । जमीन भिरालो हुँदा बीउ, मलखादलगायत पानीमा बग्ने समस्या हुन्छ । यसको विकल्पमा बोरामा खेती गर्ने प्रविधिको विकास भएको हो । शहरबजारमा जमीन, मलखाद तथा पानीको कमी भएको कारण यस्तो खेतीप्रति आकर्षण बढेको पाइन्छ । पूर्वी अफ्रिकाको केन्यामा मात्रै १० लाखभन्दा बढी मानिसले यसरी गरिने खेतीलाई आफ्नो पेशा बनाएका छन् । त्यसैगरी शहरतिर गमला, पुरानो बाल्टिन, बाटा, पेयपदार्थको बोतल, माछा बेच्न राख्ने थर्मकुल बक्स, दूध, तेलको प्याकेट, पोलिथिनलगायतमा समेत तरकारीखेती गरेको पाइन्छ ।

कसरी गर्ने बोरामा खेती ?
सेक फार्मिङ विधिबाट खेती गर्न शुरूमा राम्रो, दह्रो (नमक्किएको) बोराको व्यवस्था गर्नुपर्छ । त्यसपछि बोराको बीचमा पर्ने गरी केही ठूलो प्वाल भएको पाइप राख्नुपर्छ । बोरामा आवश्यक मात्रामा भरिएको माटो र मलखादसँगै माटोको उचाइ पुग्ने गरी पाइपमा समेत स–साना ढुङ्गा वा गिट्टी भरिन्छ । त्यस्तै, भरिसकेपछि बोराबाट पाइप हटाउनुपर्छ । यसो गर्नाले पाइपकै आकारमा गिट्टी भरिने हुँदा बोरामा लगाइएको बालीमा उक्त गिट्टीको माध्यमबाट सिँचाइ गर्न सजिलो हुन्छ । यस्तो प्रविधिबाट बोराको चारैतिर आवश्यक प्वाल पारी सागलगायतको बिरुवा लगाउन सकिन्छ । यद्यपि, नेपालमा भने सामान्यतया गिट्टीको प्रयोग नगरी पूरै बोरा वा आधामा मात्र खेती गर्ने चलन छ ।

माटो तथा हावापानी
यस्तो खेतीका लागि खुला, प्रशस्त उज्यालो भएको स्थान छनोट गर्नुपर्छ । साथै, बोरामा पानी जम्न दिनु हुँदैन । माटोभित्र समेत हावा खेल्न मिल्ने गरी सकेसम्म खुकुलो हल्का दुमट माटोको प्रयोग गर्नुपर्छ । प्राङ्गारिक मल प्रशस्त मात्रामा मिसाउनुपर्छ ।

फाइदा
यो प्रविधिबाट जमीन नभएकाले समेत सजिलै खेती गर्न सक्छन् । घरबाट निस्कने भान्साको फोहोर सदुपयोग हुन्छ । वातावरण प्रदूषणमा कमी आउँछ । साथै, आफैले उत्पादन गरेको स्वच्छ र शुद्ध अर्गानिक तरकारी उपभोग गर्न पाइन्छ । तरकारीका लागि छुट्ट्याइएको रकम तथा समयको बचत हुन्छ । विक्री गरेर आम्दानी पनि लिन सकिन्छ । काम नभएको तथा बिदाको समयमा तरकारीको स्याहार तथा गोडमेल गर्नाले स्वास्थ्य लाभ मिल्छ । हरियो बोटबिरुवाबाट प्राप्त स्वच्छ हावाले फ्रेश महसूस गराउँछ ।

समयको व्यवस्थापन
व्यस्त दिनचर्या भएको अवस्थामा पनि यो खेतीका लागि बिहान–बेलुकाको १र२ घण्टा समय दिए पुग्छ । तरकारी फलफूल केलाउँदा निस्केको फोहोर तथा घरबाट निस्किने अन्य कुहिने पदार्थलाई मल बनाएर तरकारीमा लगाउन सकिन्छ । साथै, तरकारी, भाँडा, लुगालगायत पखालेको पानीले नै सिँचाइ गर्न सकिन्छ ।

उत्पादन गर्न सकिने तरकारी
यो प्रविधिमार्फत साग, गोलभेँडा, करेला, फर्सी, बोडी, लसुन– प्याज, कुरिलो, बकुला, सिमीलगायत तरकारी उत्पादन गर्न सकिन्छ । त्यस्तै, मौसमी वा बेमौसमी तरकारीको रूपमा बन्दा, काउली, खुर्सानी, धनियाँ, पुदिनालगायतको खेती गर्न सकिन्छ । फलफूलहरूमा जुनार, अम्बा, स्ट्रबेरी, काँक्रो, कागती र जडीबुटीहरूमा बोजो, सुप, स्टेभिया, लेमन ग्रास, घोडताप्रे, घीउकुमारी, बाबरी, कपास, बिमिरोलगायत लगाउन सकिन्छ ।

रोगको उपचार
यस्तो खेती अर्गानिक किसिमले गर्दा राम्रो हुन्छ । बालीमा लाग्ने रोगकीरा नियन्त्रण गर्न, भिटामिनलगायत पोषक तत्त्व उपलब्ध गराउन गाईगोरुको गहुँत तथा साबुनपानीको प्रयोग गर्न सकिन्छ । त्यस्तै, उपलब्ध भएमा तितेपाती, कालोपाती (बनमारा), असुरो, सिस्नु, नीमलगायतको झोल पनि छर्न सकिन्छ । अधिक पानी र शीतबाट बचाउन, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्न प्लाष्टिक घर बनाई बिरुवा हुर्काउन सकिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :