गाउँमै माछा र गाई पाल्दा विदेशको भन्दा राम्रो कमाई

यो समाचार 129 पटक पढिएको

नवलपरासी, २२ मंसिर /  ‘काम ठूलो र सानो भन्नुभन्दा पनि आफूले के काम जानेको र बुझेको छ त्यही काममा लागे स्वदेशमै पनि मनग्य आम्दानी गर्न सकिन्छ’ नवलपरासी रजहरका विष्णु आलेले यो कुरा कतार र मलेशिया घुमिसकेपछि मात्रै थाहा पाउनुभयो । १० वर्षअघि कमाउने बाटो नदेखेर विदेश गएका आले अहिले गाउँमै बसेर राम्रो कमाई गर्न सफल हुनुभएको छ । ‘यो पुख्र्यौली जमिन म विदेश जाँदादेखि नै यस्तै थियो तर त्यतिबेला केही होला जस्तो लाग्दैनथ्यो’ आले भन्नुहुन्छ ‘अहिले यही जमिनबाटै कमाइरहेको छु ।’

विष्णुले अहिले एक महिनामा माछाबाट सरदर ६० हजार र दुधबाट ३० हजार गरी मासिक १ लाख रुपैयाँसम्म कमाइरहनुभएको छ । उहाँले ५ विगाहा जमिनमा खोलेको पिप्रहर मत्स्य केन्द्रमा झण्डै ६० हजार भुरा माछा सञ्चित छन् भने उत्पादक पोखरीमा २८ देखि ३० हजार वटा माछा छन् । एकीकृत गाई फार्ममा बाच्छाबाच्छी गरेर २० ओटा गाई छन् । त्यसमध्ये १२ वटा दुहुना गाईबाट दैनिक ८० लिटर दुध बिक्री गरिरहनुभएको छ । माछा पोखरीको छेउमा अहिले होटलको तयारी समेत गरिरहनुभएको छ । ‘विदेशमा अरुको अण्डरमा चल्नुपर्छ, उनीहरुको टाईममा भने अनुसार गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘यदि म त्यहि हिसाबले चल्छु र गर्न सक्छु भन्ने हो र गर्ने हो भने विदेशमा भन्दा धेरै उन्नति गर्न सकिने रहेछ अनि पैसा पनि मनग्गे कमाउन सकिने रहेछ ।’

उहाँको ५ वर्षको विदेश बसाईले विदेशको कमाई क्षणिक मात्र हुने अनुभव छ । अहिले साथीभाइ, परिवारसँग बसेर सामाजिक संघ संस्थामा सेवा गर्न पाएकोमा खुशी हुनुहुन्छ उहाँ । सरकारले वातावरण सहज गराइदिए मात्रै विदेशसम्म माछा निर्यात गर्न सकिने उहाँ बताउनुहुन्छ । म मात्रै होइन हाम्रो गाउँघरमा विदेशबाट फर्किएका युवा खेतीपातीमा लाग्ने क्रम बढ्दो छ । आले थप्नुहुन्छ, ‘त्यहाँ साहुको गाली सहेर मरुञ्जेल काम गर्दा हुने कमाई भन्दा घरमै बसेर गरिने काम र कमाई आनन्द छ ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :