‘किसान मरिसके, कसले बुझ्ने पीडा ?’

यो समाचार 374 पटक पढिएको

काठमाडौं, २१ मंसिर / धान पूर्वी, मध्य र पश्चिम तराई क्षेत्रको प्रमुख बाली मात्रै होइन, किसानको मुख्य आम्दानीको स्रोत पनि हो। किसानलाई वर्षभर खान र अन्य आवश्यकता पूरा गर्न धान नभई हुँदैन। धान बेचेरै उनीहरूले वर्षभरको खर्च जुटाउँछन्। तर, यो वर्ष सिँचाइ अभाव मात्रै किसानको दुर्दशा बनेन, लामो तराई बन्दले पनि उत्पादन र बिक्रीमा असर गर्योँ। कतै उत्पादन कम छ, कतै उत्पादित धान बेच्न मुस्किल छ।

kisan 2भारतले गरेको नाकाबन्दीले इन्धन अभाव भएपछि मोरङका किसानलाई धान थन्क्याउन हम्मे परेको छ। धान झार्ने थ्रेसर, ढुवानी गर्ने पावरटिलर र ट्याक्टर चलाउन इन्धन छैन। ‘धान राम्रै फले पनि कसरी थन्क्याउनुरुु मोरङ कोसीहरंैचा–६ का किसान गोविन्द ढकालले प्रश्न गरे। उनका अनुसार खेतबाट धान घरसम्म ल्याउने ढुवानीका साधन र झार्ने थ्रेसर पाइूदैन। पाइहाले पनि महूगो ज्याला तिर्नुपर्छ। महगो इन्धन हाल्नुपरेकाले कृषि उपकरणको ज्याला पनि अचाक्ली बढेको छ।

‘लागत बढेको छ तर मूल्य घटेको छ,’ ढकालले भने। उनका अनुसार गत वर्ष मनसुली धानको मूल्य प्रतिमन (४० किलो)  हजार रुपैया थियो। यो वर्ष आठ सयमा झरेको छ। मोटा धानको मूल्य सात सय पनि आउँदैन। महूगोमा मल, बिउ, तेल किनेर उत्पादन गरेको धानको उचित मूल्य नपाउदा किसान मर्कामा छन्। सामान्य अवस्थाभन्दा प्रतिबोरा पाँच सय रुपैया बढी तिरेर कमसल मल किन्नुपरेको किसान बताउँछन्। ढकाल भन्छन्, ‘किसान मरिसके, कसले बुझिदिने पीडा ?’

मोरङका किसानले सरकारले तोकेको धानको न्यूनतम मूल्यसमेत नपाएको जिल्ला कृषि विकास कार्यालय प्रमुख राजेन्द्र उप्रेतीले बताए। उनका अनुसार सरकारले यो वर्ष धानको न्यूनतम मूल्य प्रतिमन आठ सय रुपैयाँ तोके पनि जिल्लाका किसान त्योभन्दा कममा बेच्न बाध्य छन्। सस्तो मूल्यमा समेत बिक्री हुने अवस्था छैन।

धान थन्क्याउन र गहु छर्न कृषि कार्यालयमार्फत साताको २१ हजार लिटर डिजेल किसानलाई उपलब्ध गराइएको छ। उक्त इन्धन असाध्यै कम भएको उप्रेतीले बताए। लामो खडेरीका कारण मोरङमा गत वर्षको तुलनामा यो वर्ष धान रोपेको क्षेत्रफल घटे पनि उत्पादन नघट्ने कार्यालयको अनुमान छ । गत वर्ष मोरङमा २ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो।

भाउ बढेन

सुनसरीका किसानको जीविका चलाउने र आम्दानीको मुख्य स्रोत धान भए पनि यसपटकको तराई–मधेस बन्दले भाउ नआउँदा उनीहरू निरास छन्। ‘धानको भाउ सुन्दा खेती चटक्कै छाड्नुजस्तै हुन्छ,’ सुनसरी भादगाउँ सिनुवारीका प्रकाश बस्नेतले भने। किसानको धान बिक्री गरेको पैसाले वर्षभरको खर्च चलाउँछन्। ‘अघिल्लो वर्ष धानको सुरुको मूल्य ९ सय रुपैयाँ प्रतिमन थियो,’ खनारका पृथ्वी कटवालले भने, ‘अहिले ८ देखि ९ सयसम्म छ।’ मसिना धान भने भर्खरै मात्र काटेर किसानले थन्क्याएकाले भाउ तय भइसकेको छैन।

समयमा रोप्न नपाएर धान उत्पादन घट्दा र भाउसमेत नबढ्दा किसान चिन्तित छन्। संयुक्त मधेसी मोर्चाको आन्दोलनले सुनसरीमा धान किनबेच अहिले न्यून छ। साना व्यापारीले गाउँबाट थोरै धान किने पनि त्यो भाउ पाउने आसमा ‘स्टक’ गरेर राखेका छन्। ठूला व्यापारीले धान खरिद गरेका छैनन्। धान पिसाएर चामल बिक्री गर्ने मिल नै बन्द भएकाले पनि अहिले धान किनबेच नभएको जिल्ला कृषि कार्यालयले जनाएको छ।

सुनसरीमा यो वर्ष ६८ हजार १ सय हेक्टरमा धान खेती लगाइएकोमा २ लाख ७ सय ८० मेट्रिक टन उत्पादन भएको छ। कार्यालयका बाली अधिकृत रेवतीरमण दाहालका अनुसार यो वर्ष प्रतिहेक्टर २.६५ मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो वर्ष भने प्रतिहेक्टर ३ मेट्रिक टन उत्पादन भएको थियो।

सास्तीमा किसान

झापाका किसान अघिल्लो वर्षभन्दा अलि बढी धान उत्पादन भए पनि हर्षित छैनन्। नाकाबन्दीले इन्धन संकट चुलिँदा किसानको धान काट्ने, कुट्ने र थन्क्याउने खर्च बढेको छ। तर, बजारमा व्यापारीले तोकेको भाउमा धान दिनुपर्ने बाध्यता छ। त्यसका कारण उत्पादन बढ्दा पनि किसानले खुसी मनाउन पाएका छैनन्।

‘अघिल्लो वर्ष ३ हजार रुपैयाँमा हुने काम यसपटक ६ हजारमा भएको छ,’ झापा मेचीनगर–११ का किसान इन्दिलाल चौधरी भन्छन्, ‘पोहोरको भाउ प्रतिमन ८ सय रुपैयाँ थियो, अहिले १६ सय पाइन्छ .’  उनका अनुसार गाउँका धान खरिद केन्द्रमा भाउ पोहोरकै बराबर पाइएको छ। यसबाट किसानले लागत पनि उठाउन नसक्ने अवस्था छ। झापाका बहुसंख्यक किसान रोपाइँमा ट्र्याक्टर लगाउँछन् भने धान काट्ने, झाँट्ने काममा पनि कृषियन्त्रकै प्रयोग गर्छन्।

गत वर्षको तुलनामा झापामा यो वर्ष धान उत्पादन ५ प्रतिशतले बढेको जिल्ला कृषि कार्यालयका प्राविधिक शालिकराम भट्टराईले बताए। यो वर्ष ८३ हजार हेक्टरमा धान रोपिएको थियो। भट्टराईले ३ लाख ५७ हजार ५ सय टन धान उत्पादन भएको बताए। गतवर्ष ८३ हजार २ सय हेक्टरमा ३ लाख ४१ हजार ४ सय ५० टन उत्पादन भएको थियो। यो वर्ष विभिन्न प्रजातिका धानमध्ये भारतबाट ल्याइएको रञ्जित जातको धान बढी उत्पादन भएको कार्यालयले जनाएको छ। जिल्लामा किसानले रञ्जित, मन्सुली, साभा, स्वर्ण र सभुलगायत धान उत्पादन गरेका छन्।

सिरहामा पनि मुख्य खेती हुने धान उत्पादन र बिक्रीमा समस्या भएपछि किसान मर्कामा छन्। उत्पादन कम हुनु र भएकै उत्पादन पनि स्थानीय मिलले किन्न नमानेपछि किसान मारमा परेका हुन्। सीमावर्ती गाउँ झाझपट्टीका किसान बेचन यादवले धान बेच्न नपाउँदा छोरीको स्कुलको शुल्कसमेत तिर्न नसकेको बताए। ‘बन्दले धान नबिक्दा पैसा हातै परेन कहाँबाट शुल्क तिर्नु ? हामी धानसँग पैसा साट्छौं तर किन्ने मिल सबै बन्द छन्, हामी खाली हात,’ उनले भने।

करिब चार महिनायताको मधेस बन्दमा काम गर्न नपाएर जोगाएर राखेको अलि–अलि पैसा पनि सकिएको उनको भनाइ छ। पैसा आउने सिजन नै बन्दले खाएको उनले जनाए। ‘अन्न किन्ने भण्डार नै बन्द भएको छ,’ उनले भने। धान खरिद गरेर पनि मिल बन्द हुँदा समस्या भएको मिल सञ्चालक बताउँछन्।

धान रोप्ने बेला वर्षा नभएकाले र बेच्ने सिजनमा मिलहरू बन्द भएकाले किसान समस्यामा परेको कृषि कार्यालयका योजना अधिकृत योगेन्द्रप्रसाद यादवले बताए। जिल्लामा पोहोरको तुलनामा यो वर्ष धान उत्पादनमा ४६ प्रतिशतले कमी आएको छ। यसपालि ३९ हजार १० हेक्टरमा रोपाइँ भएकोमा ३ मेट्रिक टनका दरले १ लाख १७ हजार २० मेट्रिक टन उत्पादन भएको यादवले जानकारी दिए। पोहोर ५५ हजार १८ हेक्टरमा रोपाइँ भएकोमा ३ दशमलव ९ मेट्रिक टनका दरले २ लाख १४ हजार ५१ मेट्रिक टन उत्पादन थियो।

पर्याप्त वर्षा नहुँदा सिँचाइ अभावले सप्तरीमा यो वर्ष धान उत्पादन ३० प्रतिशत घटेको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्षको धान आकाशे पानीकै भरमा लगाइएको थियो। ५० प्रतिशतमा मात्रै धानखेती भएको थियो। गत वर्ष जिल्लामा १ लाख २९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष त्यसमा ४० हजार मेट्रिक टन कम हुने अनुमान छ।

बर्सेनि उत्पादन घट्दा किसान मारमा छन्। जिल्लाको पश्चिम–दक्षिणी भेगका किसान तीन वर्षदेखि खडेरीको मारमा रहेको लौनियाँका अगुवा किसान रामेश्वर मण्डलले बताए। यहाँ धानमा हाल्ने मल प्रतिबोरा २ हजार ५ सय रुपैयाँ पर्ने गरेको तर सहज नपाइने भएकाले धानखेती सहज नभएको अर्का किसान बौकु सुतिहारले बताए। किसानको पीडा सुन्ने कोही नभएको नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष विश्वेश्वर यादवको गुनासो छ। सप्तरीलाई ‘सुक्खा क्षेत्र’ घोषणा गर्न किसानले ३ वर्षयता माग गरिरहेका छन्।

महोत्तरीमा गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशत उत्पादन घटेको छ। गत वर्ष ३७ हजार ५ सय हेक्टरमा ९३ हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष ३५ हजार ६ सय २५ हेक्टरमा धान रोपाइँ हुँदा ७५ हजार मेट्रिक टन धान मात्र उत्पादन भएको कृषि विकास कार्यालय प्रमुख सुकेश्वर झाले बताए। समयमै पानी नपरेको र अन्य कारणले धान उत्पादन घटेको उनको भनाइ छ। जिल्लामा खेतीयोग्य जमिनको ३५ प्रतिशतमा मात्रै मौसमी सिँचाइ व्यवस्था छ। ७ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिँचाइ पहुँच हुनुले पनि धान उत्पादनमा कमी आएको कार्यालयले बताएको छ। आकाशे पानीका भारमा मात्रै रोपाइँ गर्नुपरेकाले बिउ (बेर्ना) नै मरेर उत्पादन घटेको प्रमुख झाले बताए।

उदयपुरमा यो वर्ष धान उत्पादन घटेको छ। समयमा पानी नपर्नु तथा आवश्यक मात्रामा रासायनिक मल र सिँचाइ अभाव हुँदा उत्पादन घटेको हो। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिृकत पवन गिरीका अनुसार यो वर्ष १२ हजार ७ सय २८ हेक्टरमा लगाइएको धानबाट ४९ हजार ४७ दशमलव ३ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष १२ हजार १ सय हेक्टरमा ५१ हजार ३ सय ६५ मेट्रिक टन उत्पादन भएको थियो।

इन्धन अभावले संकट

धान बाली भित्र्याउने समय बितिसक्दा पनि थ्रेसर नचल्दा कैलाली, टीकापुर वनगाउँका मानबहादुर चौधरीले दुई बिघा खेतमा लगाएको धान बाली अझै भिœयाउन सकेका छैनन्। ‘इन्धन अभावले थ्रेसर नचलेपछि धानबाली भिœयाउन सकिएको छैन,’ उनले भने, ‘यसले गहुँ बालीको उत्पादनमा असर पर्न सक्छ।’

मानबहादुरले जस्तै यहाँका थुप्रै किसानले अझै धान बाली भिœयाउन पाएका छैनन्। समयमा धान बाली भिœयाउन नसक्दा नोक्सानी बेहोर्नुपरेको किसानको दुःखेसो छ। टीकापुर मनिकापुरका दामोदर खड्काले धान बिक्री गर्न नपाउँदा दैनिक खर्चको जोहो गर्न समस्या भएको बताए।

खेत बाँझै

सिँचाइका लागि आवश्यक पर्ने डिजेल नपाएपछि बाँके, बेलहरी–२ का होमराज कुर्मीले करिब आधा बिघा जमिन बाँझै छाडेका छन्। आधा बिघामा भने उनले गहुँ खेती गरेका छन्। पर्याप्त डिजेल नपाउँदा पम्पसेटबाट सिँचाइ गर्न नसकिएको उनको भनाइ छ। इन्धन अभावका कारण धान थे्रेसर गर्न नसकिएको पनि कुर्मीले बताए। इन्धन वितरण गर्न जिल्ला आपूर्ति समितिले कोटा र कुपन प्रणाली कार्यान्वयनमा ल्याए पनि नपाएको किसानको गुनासो छ। ‘किसानलाई हप्तामा २५ लिटर मात्र तेल दिने गरिएको छ। यसले हामीलाई जोत्ने, दाउने र सिँचाइ गर्न पुग्दैन,’ एक किसानले भने।

गहुँ छर्ने सिजन सुरु भइसक्दा पनि दाङ, सौडियारका रामलाल चौधरीले खेत जोत्न पाएका छैनन्। इन्धन अभावले पावर टिलर चल्न नसकेपछि उनको खेत बाँझै छ। नाकाबन्दीका कारण जिल्लामा मल तथा बिउ भित्रिन सकेको छैन। दाङमा चितवन तथा बर्दियाबाट गहुँको बिउ भित्रिन्छ। जिल्लामा झन्डै ४० हजार हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ।

कृषक समूह समन्वय समिति टीकापुरका अध्यक्ष दशीराम चौधरीले खेत जोत्न नपाउँदा डेढ बिघा जमिन बाँझो रहेको बताए। ‘यस्तै हो भने गहुँ लगाउन पनि पाइँदैन,’ उनले भने। खेत जोत्न नपाएर कतिपयले हिउँदे बाली नै लगाउन पाएका छैनन्। यसले गहुँ, मसुरो, तोरी, आलु खेती प्रभावित भएको छ। ‘बिउका लागि जसोतसो व्यवस्था गर्यौंस,’ मुनुवाको बिजवृद्धि कृषक सहकारी संस्था अध्यक्ष कमल कठरियाले भने, ‘अन्य खेतको अवस्था जस्ताको त्यस्तै छ।’ सरोकारवाला निकायले किसानलाई इन्धन वितरणमा प्राथमिकतामा नराखेको स्थानीयको दुखेसो छ।

मल र औषधि अभाव

नवलपरासीको नर्सही–८, का अनुरुद्र गुप्ता (३५) रासायनिक मल नपाउँदा समस्यामा छन्। डेढ बिघा खेतमा गहुँ र तोरी लगाएका गुप्तालाई उत्पादन घट्ने चिन्ताले पिरोलेको छ। नाकाबन्दीले जिल्लामा रासायनिक मल अभाव भएपछि कतिपय किसान भारतबाट कमसल मल ल्याउन बाध्य छन्। रामपुरवा–६ का दुरविजय यादवले भारतबाट मल ल्याउँदा पनि भारतीय प्रहरीलाई पैसा खुवाउनुपरेको गुनासो गरे।

बन्दका कारण मल आयात हुन नसक्दा किसानलाई पर्याप्त मल वितरण गर्न नसकिएको कृषि सामाग्री केन्द्र परासीका प्रमुख गणेश चालिसे बताउँछन्। मल अभावले यस वर्ष आलु उत्पादनमा समेत गिरावट आउने कृषि कार्यालय दाङको आँकलन छ। औषधि अभावले तोरी बालीमा लागेको रोग नियन्त्रण हुन सकेको छैन। कार्यालयका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा तोरीमा ‘करौटे झिँगा’ को बिगबिगी देखिएको छ।

बन्द र नाकाबन्दीले पेट्रोलियम पदार्थ अभाव भएपछि धान बाली भिœयाउन बढी खर्च लागेको कपिलवस्तुको बलुहवा–५, सिहोरवाका विनोद उपाध्यायले बताए। गत वर्ष धान थे्रसर गर्न प्रतिबिघा ८ सय रूपैयाँ तिरेका किसान यस वर्ष १ हजार २ सय तिर्न बाध्य छन्। कपिलवस्तु नगरपालिका–९, महुवाका बृजविहारी चौधरीले यो सिजनमा धान खेतीबाट ३ लाख रूपैयाँ घाटा भएको बताए। ‘नाकाबन्दी र बन्दले इन्धन अभाव भएपछि मलखाद र सिँचाइमा बढी खर्च भयो,’ उनले सुनाए।

डिजेल अभावका कारण धान थ्रेसर गर्दा पनि गत वर्षभन्दा ५० प्रतिशत रकम बढी तिर्नुपरेको उनले बताए। ‘यस वर्ष धान खेतीमा लगानी बढी लागे पनि मूल्य कम छ,’ उनले भने, ‘गत वर्ष २ हजार प्रतिक्विन्टलमा बिक्री भएको धान यस वर्ष १ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बन्दका कारण जिल्लाबाहिरबाट धानको माग आउन सकेको छैन।’ जिल्ला किसान संघका अध्यक्ष चतुर्भुजमणि त्रिपाठीले यस वर्ष ७० प्रतिशतभन्दा बढी किसानले धान खेतीबाट घाटा बेहोरेको बताए। ‘मलखाद र डिजेल अभावले किसानले घाटा बेहोर्नुपर्यो ,’ उनले भने, ‘डिजेल अभावले थे्रसर मेसिनको भाडा बढेपछि किसान मारमा परे।’

कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले यस वर्ष धान उत्पादनमा ४६ प्रतिशत कमी आएको जानकारी दिए। बन्द र नाकाबन्दीले डिजेल अभाव भएपछि थे्रसर मेसिनको भाडा बढ्दा पनि किसानलाई मार परेको उनको भनाइ छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :