कौडीको भाउमा पनि बिकेन धान

यो समाचार 289 पटक पढिएको

वीरगन्ज, १९ मंसिर /’यसपालि धानको भाउको त कुरै नगर्नुस्’, पर्सा हरिहरपुरका किसान प्रमोद चौरसियाले भने, ‘कौडीको भाउमा बेच्छु भन्दा पनि किनिदिने कोही छैन।’ बिरन्चिबर्वाका किसान अनुप तिवारीको दुःखेसो पनि उस्तै छ।’खडेरीले पोहोरभन्दा धेरै कम धान फल्यो। भाउ नहुँदा लागेको खर्च पनि उठ्ने अवस्था छैन।’

ministry of agricultureमधेस आन्दोलनका कारण पर्सा र बाराका अधिकांश चामल उद्योग तीन महिनादेखि बन्द छन् । उद्योगको उत्पादन बन्द भएपछि उद्योगीले धान खरिद गर्न छाडेका छन् । उद्योगले धान नकिनेपछि ग्रामीण क्षेत्रका ‘बनियाँ’ (धानगहुँ खरिद गर्ने व्यापारी) ले किसानसँग धान किनेका छैनन्। ‘बनियाँ’ (गल्ला व्यपारी) ले सोना मन्सुली धान प्रतिक्विन्टल १२ देखि १४ सय रुपैयाँमा खरिद गर्ने गरेको किसानहरू बताउँछन्।पोहोर साल सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार रुपैयाँभन्दा बढीको भाउमा बेचेका बिजबनियाका किसान अभय यादवले भने, ‘यसपालि त १५ सयमा दिन्छु भन्दा पनि व्यपारीले किन्नै मान्दैनन्।’

उनले घरको गर्जो टार्न १२ सयका दरले दुई क्विन्टल धान बेचेको बताए।’बन्दहडतालले ढुवानी रोकिँदा पहिले नै कुटाएर राखेका चामलले गोदाम भरिभराउ छन्’, न्यु ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले भने, ‘मिल तीन महिनाभन्दा लामो समयदेखि बन्द छ । यस्तो अवस्थामा धान किनेर पुँजी फसाउनु छैन।’

कलवारका अनुसार एक साताअघि आफूलगायत उद्योगीले किसानको धान किन्न थालेका थिए तर मधेसी दलका कार्यकर्ताले उद्योगमै आएर धम्क्याए । त्यसपछि धान खरिद गर्न छाडेको उनले जानकारी दिए।

उद्यमीले धान खरिद गर्न छाडेपछि आफ्नो गर्जो टार्न किसानहरू सस्तोमा गाउँका स्थानीय(बनियाँ) लाई धान बेच्न बाध्य छन्। कृषि विकास कार्यालय, पर्साका अनुसार एक क्विन्टल धान उत्पादनका लागि किसानको लागत नै करिब दुई हजार दुई सय रुपैयाँ पर्छ। तर बजारमा अहिले एक क्विन्टल धानको अधिकतम मूल्य एक हजार दुई सयदेखि एक हजार चार सयमात्रै रहेको किसानको भनाइ छ।

एक क्विन्टल धान उत्पादन गर्न दुई हजार दुई सय रुपैयाँ लागत पर्छ तर बजारमा अहिले एक क्विन्टल धानको अधिकतम मूल्य एक हजार दुई सयदेखि एक हजार चार सयमात्रै छ। ‘राज्यले किसानलाई कुनै अनुदान दिएको छैनु, कृषि विकास कार्यालय पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले भने, ‘मल, बिउ, सिँचाइ, विषादी सबै चिजको जोहो किसान आफैंले गर्नुपर्छ । त्यसैले किसानको लागत खर्च बढी परेको छ।’

जिल्ला कृषि विकास कार्यालय पर्साका अनुसार एक क्विन्टल धान उत्पादनका लागि रासायनिक मल एक सय ८५ रुपैयाँ, बिउ ४० रुपैयाँ, कीटनाशक विषादी ८० रुपैयाँ, जिन्क ४० रुपैयाँ, जोताइ, सिँचाइ, गोडमेल, बाली काट्ने, खेतदेखि घरसम्म ढुवानी, दाइँ र कृषि औजार भाडा, जन श्रम एक हजार नौ सय गरी कुल लागत खर्च दुई हजार दुई सय रुपैयाँभन्दा बढी पर्छ।

पर्सामा यसपालि ३४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा अगहनी (मंसिरे) धानखेती गरिएको थियो। जसमा प्रतिहेक्टर २९ क्विन्टलका दरले ९९ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएको छ।

गत वर्ष पनि ३४ हजार दुई सय ६० हेक्टरमै धानखेती गरिएकोमा प्रतिहेक्टर ३७ क्विन्टलका दरले एक लाख २६ हजार सात सय ६२ मेट्रिक धान उत्पादन भएको थियो।गत वर्षको तुलनामा यसपालि पर्सामा २७ हजार चार सय आठ मेट्रिक टन कम धान उत्पादन भएको छ।

‘गत वर्षको भन्दा यसपालि प्रतिहेक्टर आठ क्विन्टल कम धान फलेको छु, उनले भने। यसपालि खडेरीका कारण धान उत्पादनमा कमी आएको उनले बताए। ‘खडेरीका कारण एक त ढिला गरी किसानले धान रोपेका थिए, अर्कोतर्फ पर्याप्त सिँचाइ पनि पुगेन,’ उनले भने, ‘बन्दहडताल र नाकाबन्दीले समयमा किसानले मलखाद पनि छर्न पाएनन्।’

खडेरीका कारण ढिला गरी धान रोपेका कारण उत्पादन कम भएर मर्कामा परेका पर्साका किसान मधेस आन्दोलनका कारण उचित भाउ नपाउँदा थप मारमा परेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :