सुन्तला उत्पादन बढाउन बगैंचा व्यवस्थापन कार्यक्रम

यो समाचार 339 पटक पढिएको

लमजुङ, ८ पुस । विदेशबाट सुन्तला आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले सुरु गरेको सुन्तलाखेती सुदृढीकरण कार्यक्रम लमजुङ जिल्लामा पनि सञ्चालन हुने भएको छ । सुन्तला उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको हो । हाल पनि नेपालमा भारतबाट सुन्तला आयात भइरहेको छ ।

यसलाई रोक्न गत साउनदेखि सुन्तला सुदृढीकरण कार्यक्रम लागू गरिएको हो । सुन्तलाखेतीको अत्यधिक सम्भावना रहेको पश्चिमाञ्चलका सात जिल्ला र

orange-tree

मध्यमाञ्चलका धादिङ जिल्लामा यो कार्यक्रम लागू हुने बताइएको छ । यी आठ जिल्लाका ४ सय हेक्टर क्षेत्रफलमा सुन्तला सुदृढीकरण कार्यक्रम लागू गरिएको हो । उपयुक्त माटो र हावापानी रहेपनि आवश्यक स्याहार, सरकारी कार्यक्रम र किसानलाई आवश्यक तालिमको अभाव भएकाले उत्पादकत्व घट्दै गएको पाइएपछि सुन्तला सुदृढीकरण कार्यक्रम ल्याइएको हो ।

सुन्तलाखेतीलाई प्राथमिकतामा राखेर काम थालिएको र बगैँचा व्यवस्थापन कार्यक्रमका लागि लमजुङमा पनि बजेट विनियोजन भएको जिल्ला कृषि विकास कार्यालयका बागवनी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो । सिट्रस ग्रिनिङलगायतका रोगका कारण लमजुङलगायत सुन्तला उत्पादन धेरै हुने जिल्लामा उत्पादन घट्दो छ । लमजुङमा एक हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । यो वर्ष थप पाँच हेक्टर क्षेत्रफलमा सुन्तलाका उन्नत बिरुवा रोपी यो खेती विस्तार गरिएको छ ।

 

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :