नाकान्दीले चिनी उद्योग सञ्चालनमा अवरोध

यो समाचार 325 पटक पढिएको

इन्धन, उखु र कामदारको अभाव

काठमाडौं, १५ मंसिर / भारतले लगाएको अघोषित नाकावन्दीका कारण यसपटक चिनी उत्पादन गर्ने उद्योगलाई प्रत्यक्ष रुपमा असर पु¥याएको छ । नाकावन्दीका कारण खेतवाट उखु भित्र्याउन नसकिंदा मंसिरको पहिलो सातासम्म चिनी उद्योगहरु सञ्चालनमा आउन सकेको छैंन् । समयमा उद्योग सञ्चालनमा आउन नसके करिब ८ अर्बको घाटा हुने नेपाल चिनी उद्योग संघले जनाएको छ ।

Sugar press meetसंघका अनुसार नाकावन्दी, उखु र इन्धनको आपूर्ति र कामदारको अभावमा मुलुकभरका चिनी उद्योग सञ्चालमा आउन सकेको छैंन् । कात्तिकदेखि सुरु हुने यस्ता उद्योग मंसिर दोश्रो साता पुग्न लाग्दा पनि सञ्चालनमा आउन नसकेको उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । उनकाअनुसार देशभरका १२ वटा चिनी उद्योग हालसम्म सञ्चालनमा आउन सकेको छैंन् । कृषिजन्य बस्तुमध्ये चिनीमा आत्मनिर्भर रहेको यो क्षेत्रको उद्योग समयमा सञ्चालनमा आउन नसके त्यसको प्रत्यक्ष प्रभाव आगामी आर्थिक बर्षमा पर्ने उद्योगले जनाएको छ ।

अग्रवालकाअनुसार कात्तिकदेखि चैतसम्म चिनी उद्योगको ‘पिक आवर’ मानिन्छ । ‘चिनी उत्पादन गर्न एक महिना ढिलाई भइसक्यो’, अध्यक्ष अग्रवालले भने,‘अब पनि उद्योग सञ्चालनमा ल्याउन सकेनौं भने आत्मनिर्भर रहेको यो क्षेत्र आगामी बर्षमा परनिर्भरतातर्फ धकेलिने पक्का छ । उद्योग सञ्चालनमा आउन नसके आगामी बर्षमा भारतसहित अन्य मुलुकको चिनी आयात गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।’

उद्योगकाअनुसार कपिलबस्तुस्थित लुम्बिनी चिनी कारखाना, इन्दिरा चिनी कारखाना, बागमति चिनी कारखाना र महालक्ष्मी चिनी कारखाना, सुदुरपश्चिमस्थित महाकाली चिनी कारखाना, बारास्थित रिलायन्स सुगर मिल, सर्लाहीस्थित इन्दुशंकर सुगर मिल र अन्नपूर्ण सुगर मिल, महोत्तरीस्थित एभरेष्ट सुगर मिल, सिराहास्थित हिमालयन सुगर मिल, रौतहठस्थित श्रीराम सुगम मिल र सुनसरीस्थित इस्टर्न सुगर मिल कामदार, इन्धन, ढुवानी र उखुको अभावमा सञ्चालनमा आएको छैंन् । यस्ता उद्योगमा २० अर्बभन्दा बढीको लगानी छ भने तीन लाख उखु किसान आवद्ध छन् । १५ हजारभन्दा बढीले यो क्षेत्रबाट रोजगारी पाएका छन् ।
उद्योगका उपाध्यक्ष दिबाकर गोल्छाकाअनुसार उद्योग सञ्चालन समयमै खेतबाट उखु काट्ने र उद्योग भित्र्याउने समय हुन्छ । ‘तर यही बेला आएर नाकावन्दीका कारण उखु काट्ने र उद्योगमा काम गर्ने भारतीय दक्ष जनशक्तिको पनि अभाव भएको छ’, उपाध्यक्ष गोल्छाले भने,‘नेपाली जनशक्ति वैदेशिक रोजगारमा गएपछि उखु काट्न्े र उद्योगमा भित्र्याउन तथा चिनी उत्पादन गर्नेलगायका काममा भारतीय कामदार खटिदैं आएका थिए । तर नाकावन्दीका कारण उताबाट कुनै कामदार आउन पाएनन् ।’ भारतबाट कामदार नआएपछि खेतबाट उखु काट्ेर संकलन गरी उद्योगमा भित्र्याउन नसकिएको उनले बताए ।

उद्योगको उत्पादन क्षमताअनुसार कम्तिमा ८० प्रतिशत उखु उद्योगमा पुगेपछि चिनी उत्पादन गर्ने प्रकृया सुरु हुन्छ । ‘तर यसपटक उद्योगमा पाँच किलो उखु पनि उद्योगभित्र आउन सकेन’, अर्का उपाध्यक्ष राजकुमार अग्रवालले भने । अग्रवालकाअनुसार उखु काटेर वैलगाडा, ट्रयाक्टर र ट्रकमा हालेर उद्योगसम्म लगिन्छ । तर तराई केन्द्रित तराई मधेश आन्दोलनका कारण खेतबाट उखु काटेर उद्योगमा भित्र्याउन सम्भव नभएको उद्योगले जनाएको छ । आन्दोलनको क्रममा आन्दोलनकारीले केही उद्योगको चिनीसहितको ट्रकमा गरेको आगजनीका कारण उद्योगीहरु त्रसित बनेका छन् । आगजनीका कारण उद्योगीले तीन करोडभन्दा बढीको क्षति व्यहोरेका थिए ।

यसैगरी कच्चा पदार्थ ओसार्न सबारी साधनलाई राज्यले आवश्यक पर्ने इन्धनसमेत उपलब्ध गराउन नसकेको उद्योगीहरुको गुनासो छ । ‘अहिलेसम्म राज्यले हामीलाई इन्धन उपलब्ध गराइदिन्छौं भनेर आश्वासनसम्म दिएको छैन’, अध्यक्ष अग्रवालले भने । उद्योगकाअनुसार देशभर दुई लाख मेट्रिक टन चिनीको माग छ । जसमध्ये स्वदेशी उद्योगबाट एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुन्छ । बाँंकी भारतीय सीमा नजिकभएका नेपाली भुभागमा भारतीय चिनी चोरी निकासी आपूर्ति हुँदै आएको छ ।

अहिले उद्योगीहरुसँग ३५ हजार मेट्रिक टन चिनी मौज्दात छ । उद्योगले बन्द हडताल तथा नाकावन्दी हुनुअघिसम्म उत्पादन गरेको चिनी करिब ६५ रुपैयाँ प्रतिकिलोमा थोक विक्रेतालाई बिक्रि गर्दैआएको थियो । अहिले इन्धन र ढुवानी साधनको अभावमा ६५ देखि ६८ रुपैयाँंसम्म बिक्रि गर्दैआएको छ । ‘इन्धनको अभावमा ढुवानी खर्च बढेकाले प्रतिकिलोमा तीन रुपैयाँसम्म बढेको छ’, अध्यक्ष अग्रवालले भने । यसैबीच उद्योगले बिहिबार बिज्ञप्ती जारी गर्दै निर्वाद रुपमा चिनी उद्योगलाई सञ्चालनमा ल्याउन आवश्यक वातावरण मिलाइदिन आन्दोलनरत पक्ष र राज्यसँग माग गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :