करोड किलो मह उत्पादन सम्भावना

यो समाचार 224 पटक पढिएको

काठमाडौं, १७ कात्तिक / मौरीपालनको लागि आवश्यक प्राकृतिक सम्पदा पर्याप्त भएको नेपालमा विभिन्न देशबाट मह आयात भइरहेको छ। सरकारी तथ्यांक अनुसार ‘नेचुरल हनी’ शीर्षकमा विभिन्न देशबाट २ लाख ४७ हजार केजी मह आयात भएको छ।

Honey Newsagrocomव्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, पुल्चोकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१र०७२ मा चार देशबाट २ लाख ४७ हजार ९ सय ७० केजी मह आयात भएको छ। मह आयात हुने देशमा चीन, थाइल्यान्ड, भारत र स्पेन छन्। ती देशबाट ६ करोड १९ लाख १५ हजार ८ सय ७३ रुपैयाँको मह आयात भएको छ।

चार देशमध्ये अधिकांश मह भारतबाट आयात भएको छ। भारतबाट २ लाख ४६ हजार ३ सय ९२ केजी मह ल्याइएको छ। त्यसका लागि ६ करोड ८ लाख २० हजार रुपैयाँ तिरिएको छ। मौरीले मह मात्र उत्पादन गर्दैन। यसले परागसेचन प्रक्रियामा मद्दत गरेर अन्य कृषि उत्पादन बढाउन पनि सहयोग गर्छ।

नेपालमा मौरीपालनको लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि लगानी गरिरहेका छन्। विश्वका अन्य देशले मौरीपालनलाई प्राथमिकतमा राखेर नीति बनाएका छन्। नेपालमा भने निजी र सहकारी क्षेत्रमा केही लगानी भएको छ। तर यो पर्याप्त छैन। विश्व बजारमा ‘नो पेस्ट’ महको माग धेरै छ। नेपालमा भने आन्तरिक बजारलाई धान्ने मह पनि उत्पादन हुँदैन। ‘मौरीपालनको लागि उपयुक्त वातावरण हाम्रो देशको लागि प्रकृतिले दिएको सबैभन्दा ठूलो उपहार हो,’ कृषिविज्ञ कृष्ण पौडेल भन्छन्, ‘मौरीपालनको लागि हाम्रो वातावरण धेरै उपयुक्त छ।’ यहाँको वनस्पति र फूल मौरीपालनका लागि बरदान जस्तै हुन्।

पछिल्लो समय रसायन प्रयोगले मौरीपालनमा अलिकति समस्या खडा गरेको पौडेल बताउँछन्। खेतीपातीमा धेरै रसायन प्रयोग गर्दा मौरीको लागि प्रतिकूल हुने उनले बताए। परम्परागत रुपमा नेपालको सबै जिल्लामा मौरीपालन गरिएको छ। व्यक्तिगत रुपमा घरमा मौरीका घार राखेर मह खाने चलन धेरै पुरानो हो। यसलाई व्यवसायी रुपमा अगाडि बढाउन विभिन्न कार्यक्रम र योजना बनेका छन्।

मौरीपालन विकासको लागि गोदावरीमा मौरी विकास कार्यालय स्थापना भएको छ। सरकारले ५० वटा जिल्लालाई मौरीपालन क्षेत्र तोक्दैन लगानी गरेको छ। नेपालमा प्रत्येक वर्ष २ हजार ५० मेट्रिक टन मह उत्पादन हुन्छ। २० हजार टन उत्पादन गर्ने क्षमता देशभित्रै रहेको व्यवसायी बताउँछन्। स्पष्ट सरकारी नीति हुने हो भने महलाई निर्यातमुखी उत्पादन बनाउन सकिने व्यवसायी बताउँछन्। निजी क्षेत्रबाट मौरीपालन र मह उत्पादनको लागि केही प्रयास भएका छन्। यस व्यवसायको लागि मौरी तथा मह व्यवसायी संघ, मह व्यवसायी संघ क्रियाशील छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :