जुम्लाको अर्गानिक स्याउ राजधानीमा

यो समाचार 109 पटक पढिएको

काठमाडौं/ जुम्लाको अर्गानिक स्याउ राजधानी आइपुगेको छ ।

जुम्लाको डिके एप्पल इन जुम्ला भन्ने संस्थाले राजधानीमा ठूलो परिमाणमा अर्गानिक स्याउ भित्र्याएको हो । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त संस्थाले राजधानीबासीलाई जुम्लाको ताजा अर्गानिक स्याउको स्वाद चखाउन २० हजार किलो स्याउ ल्याइएको हो । संस्थाका सञ्चालक दिनेश खड्काअनुसार दुई वटा ट्रकमा गरेर उक्त परिमाणमा स्याउ भित्र्याइएको हो ।

उनकाअनुसार मिनभवनस्थित नापी बिभागको अगाडिपट्टि रहेको बिक्रि केन्द्रमार्फत उक्त स्याउको बिक्रि गर्न सुरु गरिएको उनले जानकारी दिए । उनकाअनुसार सानो स्याउ प्रति किलो एक सय २०, ठूलो एक सय ४० र गोल्डेन डेलिसस एक सय ८० मा बिक्रि भइरहेको छ । उनकाअनुसार कर्णालीमा व्यवस्थित तरिकाले स्याउ उत्पादन गर्न सकिएको खण्डमा नेपाल स्याउको उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । ‘तर ढुवानी, यातायात असुविधा कोल्ड स्टोरको अभावमा जुम्ली स्याउको बजारीकरण गर्न निक्कै समस्या छ’, खड्काले भने । खड्का व्यवसायीका साथै आफै स्याउ उत्पादन गर्ने किसान समेत छन् ।

उनकाअनुसार जुम्लाबाट आएका किसानहरुले राजधानीमा समेत स्याउ बिक्रीका लागि बजार तथा उचित मूल्य पाउन सकेका छैनन् । जुम्लाबाट ३५ देखि ४५ रुपैयाँ प्रतिकिलोमा किनेर राजधानीसम्म ल्याइएको स्याउले ढुवानी भाडा महँगो परेकै कारण भारतीय र चिनियाँ बजारबाट आएको स्याउको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको उनले जानकारी दिए । सरकारले जुम्लालाई स्याउ क्षेत्र भने पनि जुम्लाको स्याउले उपभोक्तालाई आकर्षित गर्न नसकेको किसानको गुनासो छ । ढुवानी खर्चसमेत नउठ्ने देखेपछि किसानहरुले यसका लागि सरकारसँग स्याउको बिक्री प्रणालीको व्यवस्था गरिदिन माग गरेका छन् ।

जुम्लामा करिब एक हजार हेक्टरमा स्याउको व्यवसायिक रुपमा खेती हुन्छ । जसबाट ६ जातको चार हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । यस्तै मुगुमा २ हजार ९ सय २३ मेट्रिक टन, कालिकोटमा ५ हजार १ सय १५ मेट्रिक टन, हुम्लामा १ हजार ४ सय ३८ मेट्रिक टन र डोल्पामा ५ सय ३२ मेट्रिक टन स्याउ उत्पादन हुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :