दुर्गमको खाद्यान्न सुगममै थन्कियो

यो समाचार 209 पटक पढिएको

गोरखा, २९ असोज / नेपाल खाद्य संस्थाले उत्तरी गोरखाको सिर्दिवास र माछाखोला डिपोमा खाद्यान्न ढुवानी गर्न सकेको छैन ।

Riceगत वैशाखमा गएको भूकम्पपछिको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध भएको भन्दै प्रगति निर्माण सेवाले चामल ढुवानीमा आलटाल गरेको हो । संस्थानले चामल ढुवानीको जिम्मा प्रगति निर्माण सेवालाई दिएको थियो । सदरमुकामको पाटेचौरमा रहेको संस्थानको गोदाममा पाँच हजार क्विन्टल चामल थन्किएको छ । माछाखोला डिपोमा दुई हजार क्विन्टल र सिर्दिवासस्थित डिपोमा तीन हजार क्विन्टल चामल पुर्याउनुपर्ने भएपनि अहिलेसम्म ढुवानीको प्रक्रिया सुरु भएको छैन ।

चामल ढुवानीको जिम्मा पाएको प्रगति निर्माण सेवाका प्रमुख धनकुमार गुरुङले अवरुद्ध पदमार्ग सञ्चालनमा आएपछि मात्रै ढुवानी गर्न सकिने बताए । ‘पहिरोले अवरुद्ध बाटोमा खच्चड हिँड्नै सक्दैन, हेलिकोप्टरको व्यवस्था भएमात्र ढुवानी गर्न सकिन्छ’ उनले भने । उत्तरी गोरखाका विकट गाविसमा सडकको पहुँच छैन । गतवर्षसम्म दसैँअघि एक पटक खाद्यान्न वितरण गरिन्थ्यो । भूकम्पका कारण डिपो भत्किँदा ३७५ क्विन्टल चामल नष्ट भएको थियो । भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रमले चामल वितरण गरेपछि भोकमरीको समस्या टरेको छ ।

सरकारले भने सहुलियत दरमा बर्सेनि खाद्य संस्थानमार्फत् चामल वितरण गर्दै आएको छ । माछाखोलामा ३० किलो चामललाई रु एक हजार ३९४ पर्छ भने सिर्दिवासमा २ हजार ७ सय ४९ रूपैयाँ पर्छ । थुमी गाविसको सोतिबजारदेखि खच्चडमा बोकाएर चामल ढुवानी गर्नुपर्छ । गोरखाको उत्तरी क्षेत्रमा खाद्यान्न ढुवानीको एकमात्र विकल्प खच्चड नै हो ।

माछाखोला र सिर्दिवास डिपोमा चामल सकिएपछि स्थानीयले चर्को मूल्य तिरेर चामल किन्नुपरेको गुनासो गरेका छन् । हिमालपारिका गाविस सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिवासका स्थानीयले संस्थानले ढुवानी गरी पुर्याएको चामल खरिद गरेर खान्छन् । खाद्यान्न ढुवानीको जिम्मा पाएको प्रगति निर्माण सेवाका गुरुङले अहिले सोतिबजारसम्म खाद्यान्न ढुवानी गर्ने र त्यसमाथिको क्षेत्रमा पदमार्ग सञ्चालनमा आएपछि ढुवानी गर्ने बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :