सवा ८ लाख केजी अदुवा र बेसार आयात

यो समाचार 236 पटक पढिएको

काठमाडौं, २७ असोज / नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइस) मा परेको अदुवाको आयात नाइजेरिया लगायत ६ देशबाट गरिएको छ।

GingerNews Agroसरकारले १३औं योजनामा वार्षिक एक अर्ब रुपैयाँभन्दा धेरैको अदुवा निर्यात गर्ने नीति लिएकै बेला उल्टै करोडौंको आयात भइरहेको तथ्यांक छ। नेपालले अफ्रिकी गरिब देश नाइजेरियालगायत भारत, चीन, अमेरिका, बेल्जियम, अस्ट्रेलिया, थाइल्यान्ड लगायत देशबाट अदुवा आयात गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार ती देशबाट ४ लाख ४१ हजार ७ सय ९२ केजी अदुवा आयात भएको छ। उक्त परिमाणमा अदुवा आयात गर्दा ९ करोड १३ लाख १० हजार रुपैयाँभन्दा बढी बिदेसिएको छ।

सरकारी नीति अनुसार १३औं योजनामा एनटिआइसका १३ वस्तु वार्षिक १ अर्बभन्दा धेरैको निर्यात गर्ने उल्लेख छ। यसमा अदुवा पनि परेको छ। अदुवा निकासी सरकारी लक्ष्यको आधा पनि छैन। विभिन्न ३ शीर्षकमा अदुवा आयात गरिएको छ। अदुवा शीर्षकमा ८ करोड २९ लाख ४१ हजारभन्दा बढीको आयात भएको सरकारी अभिलेखले देखाउँछ। सबैभन्दा धेरै भारतबाट ७ करोड ५९ लाख ३५ हजार १ सय ५५ रुपैयाँको आएको छ। नेपालभन्दा कम विकसित नाइजेरियाबाट पनि आयात भएको छ। त्यहाँबाट ६८ लाख १ हजार रुपैयाँभन्दा बढीको आयात भएको छ । चीन, थाइल्यान्डबाट पनि ल्याइएको छ।

अदुवा (फ्रेस) शीर्षकमा ४३ लाख ५९ हजार रुपैयाँको आयात भएको छ। यो शीर्षकमा सबैभन्दा धेरै भारतबाट ३४ लाख ७१ हजार रुपैयाँको आयात भएको तथ्यांक छ। त्यसपछि चीनबाट ८ लाख ५८ हजार रुपैयाँको आयात भएको छ। अमेरिका, बेल्जियम, अस्ट्रेलियाबाट पनि अदुवा (फ्रेस) आयात भएको छ। अदुवा (पिसेको धुलो) शीर्षकमा ४० लाख ९ हजारको ल्याइएको छ। १० हजार ६ सय ५४ केजी धुलो अदुवा भारत र चीनबाट आयात भएको छ। चीनबाट ४० केजीमात्र ल्याइएको छ। अरु सबै भारतबाट आयात भएको छ।

अदुवासँगै बेसार पनि विदेशबाटै ल्याउने क्रम जारी छ। केन्द्र्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदशेबाट ५ करोड ८ लाख ६ हजार रुपैयाँको बेसार ल्याइएको छ। अदुवा जस्तै बेसार पनि ३ शीर्षकमा भारत, चीन र बंगलादेशबाट आयात गरिएको छ। यी देशबाट ८ लाख २० हजार ८ सय ६५ केजी बेसार आयात भएको छ। बेसार (फ्रेस) शीर्षकमा भारतबाट १२ हजार ४ सय ८ केजी ल्याइएको छ। यसका लागि १५ लाख ५८ हजार रुपैयाँ तिरिएको छ। बेसार (धुलो) शीर्षकमा भारतबाट २३ हजार ७ सय ८८ केजी ल्याइएको छ। यसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ।

बेसार शीर्षकमा भारत, चीन र बंगलादेशबाट ३ लाख ४२ हजार ८ सय ७७ केजी आएको छ। बंगलादेशबाट २ केजी र चीनबाट ८ केजी मात्र ल्याइएको छ भने बाँकी सबै भारतबाट आएको छ। तथ्यांक अनुसार बेसार र अदुवा गरी ८ लाख २० हजार ८ सय ६५ केजी आयात भएको छ। यी दुई मसलामा १४ करोड २१ लाख १६ हजार रुपैयाँभन्दा बढी बिदेसिएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :