कृषि उत्पादन बजारीकरण गर्न नयाँ कार्यक्रम

यो समाचार 241 पटक पढिएको

काठमाडौं, २७ असोज / व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले कृषि उत्पादन बजारीकरणका समस्या समाधान तथा व्यवसायीको क्षमता विकास गर्न नयाँ कार्यक्रम ल्याउने भएको छ ।

PACT Officeकृषि विकास मन्त्रालयअन्तर्गतको प्याक्टले विश्व बैंकसँगको सहयोगमा आगामी छ महिनाभित्र ‘एग्रोबिजिनेस इन्नोभेसन सेन्टर’ स्थापना गरी कृषि बजारको व्यवस्थापनमा सहयोग गर्न लागेको हो । प्याक्टले आयोजना गरेको कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि क्षेत्रलाई व्यावसायीकरण गरी मुलुकको आर्थिक उन्नतिमा लाग्नुपर्ने बताए ।

निर्वाहमुखी कृषिलाई प्रतिस्थापन गर्न कृषकको क्षमता तथा सीप विकास गर्दै नीति निर्माणका उच्च निकायबीचमा समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिइनुपर्ने उनको भनाइ छ । उनले आयोजना कार्यान्वयनमा लैजान मन्त्रालय र उद्योग मन्त्रालयका कार्यक्रमबीच सहकार्य हुनुपर्नेमा जोड दिए । सचिव भट्टराईले विश्व बैंकको सहयोगमा कार्यान्वन गर्न लागिएको ‘एग्रोबिजिनेस इन्नोभेसन सेन्टर’ले कृषकको क्षमता अभिवृद्धि गर्न र उत्पादन बजारिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्याक्टका निर्देशक इन्द्रकान्त झाले कृषि बजारमा देखिएका समस्या समाधान गर्दै कृषि क्षमता विस्तारका लागि आयोजनाले विश्व बैंकको सहयोगमा कार्यक्रम ल्याउन लागेको बताए । कार्यक्रममा विश्व बैंकका प्रतिनिधि अनुपमा अर्याल पन्तले साना कृषि व्यावसायीको क्षमता अभिवृद्धि गर्न नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :