पौने दुई अर्बको खसी बोका आयात

यो समाचार 220 पटक पढिएको

काठमाडौं, २७ असोज / सरकारले विभिन्न आयोजनाअर्न्तगत बाख्रापालनमा अर्बौं रुपैयाँ लगानी गरे पनि मुलुक यसमा भारतमै निर्भर रहेको देखिएको छ।

Goat-with-naryan-achryjaसरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष भारतबाट अर्बौं रुपैयाँको खसी–बोका आयात भएको छ। भेडा पनि ठूलो संख्यामा आयात गरिएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आर्थिक वर्ष २०७१/०७२ को आयात अभिलेख अनुसार भारतबाट १ अर्ब ७० करोड ८२ लाख ९३ हजार रुपैयाँको खसी–बोका आयात भएको छ। भारतबाट ३ लाख ८४ हजार ७ सय ८० वटा खसी–बोका ल्याइएको छ।

सरकारले कृषि मन्त्रालय अन्तर्गत बाख्रापालन सम्बन्धी विभिन्न आयोजना सञ्चालन गरिरहेको छ। व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र उच्च पहाड कृषि व्यवसाय जीविकोपार्जन सुधार (हिमाली) आयोजनामार्फत कृषि उत्पादन बढाउन सरकारले प्रशस्त लगानी गरेको छ। सरकारले बाख्रापालन लगायत विभिन्न कृषि उत्पादनमा अनुदान दिन प्याक्टबाट डेढ अर्ब र हिमालीबाट करिब आधा अर्ब रुपैयाँ खर्च गरेको छ। प्याक्ट अर्न्तगत देशका विभिन्न जिल्लामा अनुदान दिइरहेको छ भने हिमाली अन्तर्गत १० वटा हिमाली जिल्लामा अनुदान दिइएको छ।

सरकारले वाणिज्य बैंकलाई ४ प्रतिशत ब्याजमा कृषि कर्जा दिएको छ। बैंकले त्यो पैसा ५ प्रतिशत ब्याजमा किसानलाई लगानी गरेका छन्। तर आयात घटेको छैन। सरकारले हिमाली क्षेत्रको पशुपालनमा लगानी गरिरहँदा सोही क्षेत्रमा पालन हुने भेडा भारतबाट समेत आयात गरिएको छ। भेडा भारत, चीन र न्युजिल्यान्डबाट आयात गरिएको तथ्यांक छ।

केन्द्रको तथ्यांक अनुसार यी तीन देशबाट १९ हजार ३ सय ३८ वटा भेडा आयात गरिएको छ। भेडा आयातमा ९ करोड ७८ लाख ७० हजार रुपैयाँ बाहिरिएको छ। तथ्यांक अनुसार सबैभन्दा धेरै भेडा भारतबाट आयात गरिएको छ। भारतबाट १७ हजार ७ सय १५ भेडा ल्याएको तथ्यांक छ। चीनबाट १ हजार ५ सय ८३ र न्युजिल्यान्डबाट ४० वटा भेडा ल्याइएको छ। न्युजिल्यान्डबाट ४० वटा भेडा ल्याउन १ करोड ३६ लाख ९४ हजार रुपैयाँ तिरिएको छ।

देशमै भेडा–बाख्रापालन गरेर कृषकको आयस्रोत बढाउने र मासुमा आत्मनिर्भर हुने सरकारी लक्ष्य भए पनि दुवैमा सफलता हात लागेको छैन। दसैं–तिहार आउँदै गर्दा बजारमा खसी–बोका, भेडाच्यांग्राको कारोबार बढेको छ। सरकारले खाद्य संस्थान मार्फत मुस्ताङबाट दसैंलाई हजार च्यांग्रा ल्याउने बताएको छ। अन्य ठाउँबाट १५ सय खसी–बोका ल्याउने योजना छ।

सरकारी निकायले केही हजार स्वदेशी भेडा–च्यांग्रा र खसी–बोका ल्याए पनि निजी क्षेत्रले लाखौंको संख्यामा भारतबाट खसी–बोका आयात गर्छ। सरकारले ल्याएको नीति र योजना प्रभावकारी रुपमा कार्यान्वयन भए खसी–बोका आयात रोकिने जानकार बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :