पौने ५ अर्बको मकै आयात

यो समाचार 302 पटक पढिएको

बनेपा, २४ असोज / तथ्यांक अनुसार नेपालमा मकै दोस्रो मुख्य बाली हो । तर, पछिल्ला वर्षमा भारतबाटै मकै नल्याई नेपालीलाई धर छैन । मुलुकका हिमाली, पहाडी र तराईमा मकै खेती हुन्छ, तैपनि भारतबाटै किन ल्याउनु पर्यो भन्ने जिज्ञासा उठ्न सक्छ ।

Maizeव्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१३ मा नेपालमा २ लाख ७ हजार २ सय ३५ टन मकै आयात भएको थियो । मकै मानव खाद्य र पशुआहारामा प्रयोग हुन्छ । खानका लागि स्वदेशी उत्पादनले पुग्ने भए पनि पछिल्लो समय दाना उद्योग फस्टाउँदा विदेशबाट आयात गर्नु परेको हो ।

पशुपक्षीको दाना बनाउन मुख्य कच्चा पदार्थ मकै हो । स्वदेशी उत्पादनले मात्रै एक दर्जनभन्दा बढी ठूला पेलेट दाना उद्योगको माग धान्न सक्दैन । मुलुकमै पर्याप्त मकै उत्पादन नहुँदा आयातमा भर पर्नु परेको उद्योगी बताउँछन् । ‘कुखुराको उमेर अनुसार दाना बनाउँदा कम्तीमा ६० प्रतिशत हिस्सा मकै हुनै पर्छ । यस हिसाबले पनि नेपालमा उत्पादित मकैले सबै दाना उद्योग चल्न सक्ने अवस्था छैन’, नेपाल दाना उद्योग संघका महासचिव रबिन पुरीले भने ।

हाल मुलुकमा दैनिक मास (धुलो) र पेलेट (कुड्के) गरी २ हजार ७ सय मेट्रिक टन कुखुराका दाना उत्पादन हुन्छ । यसको मुख्य कच्चा पदार्थ मकै हो । स्वदेशी मकैको दुई तिहाइ हिस्सा मानव खाद्यमा प्रयोग हुने हुँदा दाना उद्योगले पर्याप्त किन्न पाउँदैनन् । नेपालमा उत्पादित सबै मकै दाना उद्योगमा प्रयोग गरे पनि अपुग हुने देखिन्छ । दुई वर्षअघि मकै र भटमासको पिनाको भाउ भारतमा अचाक्ली बढेपछि यी उद्योगीले चीनबाट समेत ल्याएका थिए ।

राष्ट्रिय कृषि गणना २०६८ ले मकै बाली १० वर्षअघिको तुलनामा १२ प्रतिशत घटेको देखाएको छ । यस्तै, खेती किसानीमा लाग्ने उमेरका युवा विदेशिने क्रम बढेपछि खेती हुन छाडेको छ । सार्ककै श्रीलंका पनि ५ वर्षअघिसम्म भारतीय मकैमा निर्भर थियो । नेपाली दाना उद्यमी डेढ वर्षअघि त्यहाँको अवस्था र सरकारी प्रयास हेरेर फर्केका थिए । ‘पाँच वर्ष अघिसम्म भारतबाट आयात गर्ने श्रीलंका मकैमा आत्मनिर्भर भएर केही वर्षभित्रै निर्यात गर्ने योजनामा रहेछ’, पुरीले भने, ‘सरकारी, निजी क्षेत्र र किसानको संयुक्त प्रयासले त्यहाँ सम्भव भए नेपालमा किन नहुने ?’

एक अध्ययनले संसारमै उत्पादित मकैको ८० प्रतिशत खपत पशुपक्षी आहारामा खपत हुने देखाएको छ । यसमध्ये ब्रोइलरको दानामा ६५ प्रतिशतसम्म खपत हुन्छ । नेपालमा वर्षेनी कुखुरा दानाको माग ११ प्रतिशतका दरले बढिरहेको छ । कुखुरापालन व्यवसाय पनि बर्सेनि ९ प्रतिशतले बढिरहेको छ । आगामी दशकसम्म नेपालको कुखुरापालन व्यवसाय अहिलेको तुलनामा तीन गुणाले बढ्ने विज्ञहरुले अनुमान गरेका छन् ।

फस्टाउँदो कुखुरापालन व्यवसायलाई लक्षित गर्दै सरकारले पनि अभियानमुखी मकै कार्यक्रम (मिसन मेज) चलाएको थियो । आर्थिक वर्ष ०६४/६५ देखि काभ्रे, चितवन, रौतहट, बारा, सुनसरी, सर्लाही, नवलपरासी, रुपन्देही र दाङ गरी ९ जिल्लामा यो कार्यक्रम सञ्चालित थियो । कार्यक्रमले मकैको हाइब्रिड बीउमा अनुदान त दियो तर त्यसपछि उन्नत खेती प्रविधिमा जोड नदिँदा कार्यक्रम परिणाममुखी बन्न सकेन । बिउमात्रै पाएर किसानले सोचे अनुसार उत्पादन लिन नसकेको बालीविज्ञको भनाइ छ ।

‘भारतीय हाइब्रिड बीउको उत्पादकत्व बढी भनिए पनि माटो, मलखाद र सिँचाइका कारण किसानले प्रतिहेक्टर साढे ६ मेट्रिक टनभन्दा बढी फलाउन सकेनन्’, ती विज्ञले भने । स्थानीय उन्नत जातका देउतीको उत्पादकत्व साढे ५ मेट्रिक टन, मनकामना–३ को साढे ४ र रामपुर कम्पोजिटको ४.१ टन प्रतिहेक्टर छ । तर, किसानले यी बिउ आवश्यकता अनुसार नपाउँदा भारतीय हाइब्रिडकै भर पर्नु परेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१३ मा १ हजार ३ सय ६९ मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात भएको छ । भारतबाट मात्रै ९ सय ६० टन आयात भएको थियो । मकै बिउका लागि नेपाली किसानले सो वर्ष १६ करोड ३० लाख रुपैयाँ भारतलाई बुझाएका छन् । यस्तै, राष्ट्रिय बिउबिजन समितिले ३५ प्रजातिका हाइब्रिड मकै बीउ दर्ता गरेको छ । यी सबै भारतबाट आयात हुन्छन् । हाइब्रिड बिउ किन्न बर्सेनि करोडौं रुपैयाँ भारत जान्छ ।

कृषि विभागअन्तर्गतको बाली विकास निर्देशनालयले आर्थिक वर्ष ०६९/७० मा मिसन मेज कार्यक्रमअन्तर्गत ४ हजार हेक्टरका लागि ३३ प्रतिशत अनुदानमा ८० टन हाइब्रिड मकै बीउ बाँडेको थियो । निर्देशनालयले अघिल्लो वर्षदेखि मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ४२ जिल्लामा ७५ प्रतिशत अनुदानमा उन्नत मकै बिउ र उत्पादन प्रविधि तालिम दिन थालेको छ ।

भटमासमा पनि उही हालत

स्वदेशमा भटमास खेती व्यापक मात्रामा नभएको मात्रै होइन, सीमित परिमाणमा उत्पादित भटमासबाट पिना (सोया केक) बनाउने प्रविधिसमेत नेपालमा नभएको मिसन मेज रणनीति, २०६८ मा उल्लेख छ । यसैकारण दाना उद्यमी कुखुराको दानामा अत्यावश्यक प्रोटिनको प्रमुख स्रोत सोया केकमा समेत भारतकै भर पर्दै आएका छन् । दुई वर्षअघि चीनबाट ल्याउँदाको सास्ती र मूल्यलाई विचार गर्दै उनीहरु भारतमा भर परेका हुन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१३ मा नेपालले ७६ हजार १ सय ७४ टन भटमास पिना आयात गरेको छ । यसमा २ सय ५८ टन मात्रै अमेरिकाबाट आयात भएको थियो, बाँकी सबै भारतबाट । पिना आयातमा ४ अर्ब ५२ करोड रुपैयाँ भारत गएको छ । मिसन मेज कार्यक्रमको रणनीतिले उद्यमीसँगको सहकार्यमा मकैखेती गर्ने लक्ष लिएको थियो । तर, नेपालका दाना उद्यमीले कृषक सहकारी या कृषक समूहलाई करारमा खेती नै गर्न प्रोत्साहन गरेको भेटिन्न ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :