पाँच गाविसका सबै महिला बंगुर र बाख्रापालनमा

यो समाचार 372 पटक पढिएको

पर्वत, १८ असोज / पर्वतको दक्षिणी भेगका पाँच गाउँ विकास समितिका महिला बाख्रा र बंगुरपालन गरेर आत्मनिर्भर बन्न थालेका छन् ।

Bangoor Porkपर्वतको शालिग्राम, रानीपानी, बर्राचौर, बाच्छा र पाङ्गराङ्ग गाउँ विकास समितिका सबै घरधुरीका महिलाले बाख्रा र बंगुरपालन सुरु गरेका हुन् । महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत यी गाविसका महिलाले बाख्रा र बंगुरपालन सुरु गरेका छन् । बंगुरपालन गर्ने भन्दा बाख्रापालन गर्ने महिलाको संख्या धेरै छ । महिला समुहमा आवद्ध महिलाले बाख्रा र बंगुरपालन गरेका छन् । बाख्रापालन गर्ने महिला समुहका सदस्यका प्रत्येक घरमा दुई वटा माउ बाख्रा रहेका छन् भने बंगुरपालन गर्ने महिला सदस्यले दुई वटा बंगुर पाल्दै आएका छन् ।

‘हाम्रो समुहका सदस्य मध्ये केहीले बंगुर र केहीले बाख्रा पाल्न थालेका छौं’ रानीपानी –६ को दलित उत्थान महिला समुहकी अध्यक्ष चन्द्रकला परियारले भन्नुभयो ‘हामी महिला पनि आर्थिक रुपमा आत्मनिर्भर बन्नका लागि आफै व्यवसायिक बन्न थालेका हौं ।’ पाङ्गराङ्गमाको शिवालय महिला समुहका महिला पनि बाख्रा र बंगुरपालनमा सक्रिय रहेको बिष्णु नेपाली बताउँनुहुन्छ । उनीहरुले बाख्रापालनसँगै तरकारी खेती पनि गरेका छन् । ‘गाउँमा हरियो तरकारी देख्न मुस्किल भएका बेला छिमेकी गाउँ कर्नासमा झर्दा पाङ्गराङ्गका मान्छे हरियो देख्न गाउँ झरे भन्ने गर्थे’ उहाँले भन्नुभयो ‘अब हामीले कर्नासमा तरकारी दिन सक्ने भएका छांै ।’ यी गाउँमा डेढ वर्ष पहिलेदेखि सञ्चालित दिगो जिवीकोपार्जनका लागि बंगुर तथा बाख्रापालन कार्यक्रमले गाउँमा दिदी र बहिनी समुह बनाएको छ ।

अहिलेसम्म गठन भएका ८१ वटा समुह मध्ये २७ वटा दिदी समुह र ५४ वटा बहिनी समुह छन् । दिदी समुहका सदस्यलाई कार्यक्रमका तर्फबाट दुई दुई वटा बाख्रा र बंगुर तथा समुहका लागि बोका र बंगुरको बिरे दिईएको छ । समुहका सदस्यहरुले छ महिना पछि बंगुर र बाख्राका पाठा बहिनी समुहलाई उपहार दिन थालेका छन् । दिदी समुहले बहिनी समुहलाई उपहार दिने र बहिनी समुहले अर्को बहिनी समुहलाई उपहार दिएपछि गाविसका सबै घरधुरीमा बाख्रा र बंगुर पुग्ने परियोजनाले जनाएको छ । अहिलेसम्म सबै समुहका सदस्यलाई एक हजार दुई सय २४ वटा बाख्रा, चार सय ४७ वटा बंगुर वितरण गरिएको छ । समुहका लागि ४८ वटा उन्नत जातका बोका तथा ४२ वटा बिरे वितरण गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :