रेसम कीरा पालेर बर्सेनि ६ लाख

यो समाचार 379 पटक पढिएको

खोपासी (काभ्रे), १६ असोज / थोरै लानीमा धेरै मुनाफा हुने भएपछि जिल्लाका किसान पछिलो समय व्यावसायिक रेसम खेतीमा आकर्षित भएका छन्।

Resama Kiraकृषि मन्त्रालयअन्तर्गत व्यावसायिक कीट निर्देशनालयले रेसम खेतीलाई व्यवसायीकरण र आधुनिकीकरण गर्दै जाने रणनीति छ। सोही नीतिअनुरूप सरकारले रेसम किरा उत्पादन, बजार व्यवस्थापन गर्न सहयोग गरेसँगै यहाँका किसान रेसम खेतीतर्फ आकर्षित हुँदै गएका हुन्। ‘सरकारले व्यावसायिक रेसम खेतीतर्फ किसानलाई आकर्षित गर्न रेसम किरा उत्पादन, विभिन्न तालिम र बजार व्यवस्थापन गरिदिएसँगै पछिल्लो समय किसान व्यावसायिक खेतीमा आकर्षित हुँदै गएका हुन्’, खोपासी रेसम खेती शाखाका अधिकृत जगनाथ न्यौपानेले भन्छन्, ‘रेसम खेती विकासका लागि किसानलाई यस खेतीमा आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएका छौं।’

उनले उत्पादित धागो र कोकनहरू किनिदिने, तालिम सञ्चालन गर्ने काम भइरहेको बताए।रेसम खेतीबाट थोरै समयमा बढी मुनाफा हुने गरेको पुरानो गाउँ २ का उद्धव खरेलले बताए।  एकपल्ट लगाएको किम्बुको बिरुवा २० वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले सुरुका वर्षमा लगानी बढी भए पनि पछिका वर्षहरूमा उत्पादन जति सबै मुनाफा हुने गरेको खरेलले बताए। उनले ११ रोपनी जमिनमा १० हजार किम्बुका बिरुवा लगाएका छन्। व्यावसायिक कीट उत्पादनबाट मात्र वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाए।त्यस्तै व्यावसायिक रूपमा रेसमको धागो, कोकन र कीट (रेसम किरा) उत्पादन गर्दै आएका बुढाखानीका प्रदीप मगर पनि वार्षिक चार लाख आम्दानी गर्ने गरेको बताउँछन्।

नौ रोपनी क्षेत्रफलमा ६ हजार किम्बु रोपेका उनले त्यसबाट वार्षिक चार लाख आम्दानी गर्दै आएको बताए। ‘नौ रोपनी क्षेत्रफलमा गरेको रेसम खेतीमा मैले निश्चित समयमा गरेको दुःखले त्यति आम्दानी गर्ने गरेको छुु,’ उनले भने, ‘रेसम खेतीमा किसानको आर्कषण पछिल्लो समय बढ्दै गए पनि सरकारी क्षेत्रबाट चाहिने जति सहयोग र हौसला नभएकाले व्यवसाय विस्तार गर्न कठिन छ।’ खोपासी केन्द्रमा उत्पादन भएका चार हजार रेसम किरा बर्सेनि देशका विभिन्न सेवाकेन्द्रबाट किसानलाई बिक्री गर्ने गरेको खोपासी रेशम शाखाका प्राविधिक सहायक रामशरण हुमगाईं बताउँछन्। ‘छोटो समयमा नै धेरै मुनाफा लिन सकिने भएकाले किसान व्यावसायिक रेसम खेतीतर्फ आकर्षित हुँदै गएका छन्’, उनले भने, ‘हाल नेपालमा इतिनोसे, काम्बा २ र मैसुर जातको किम्बु लगाई चार सय नौजना किसानले व्यावसायिक रेसम खेती गरिरहेका छन्।’

खोपासी शाखा अधिकृत न्यौपानेका अनुसार रेसमको घागोको स्वदेशदेखि विदेशसम्म अत्यधिक माग रहे पनि मागअनुसार रेसमको घागो उत्पादन गर्न सकिएको छैन।विश्वमा रेसम खेतीको पाँच हजार वर्ष पुरानो इतिहास रहे पनि नेपालमा भने २०३२/३३ सालमा पनौतीको खोपासीमा पहिलोपटक व्यावसायिक कीट विज्ञान आयोजनाको नाममा रेसम खेती केन्द्र स्थापना भएको हो।  त्यस बेला रेसम खेती र माहुरीपालनको काम केन्द्रले गरे पनि रेसम कीरा र माहुरी एकै स्थानमा नहुने भएकाले २०४३ सालदेखि रेसम खेतीको मात्रै काम गर्न थालेको थियो। सरकारले रेसम खेती प्रवर्द्धन गर्न धनकुटा, इटहरी, चितवन भण्डारा, स्याङ्जा, पोखरा, बन्दीपुर, धादिङ, भक्तपुर र काभ्रेमा समेत गरी नौवटा रेसम खेती फर्म स्थापना गरेको छ।

२०५४ सालपछि रेसम शाखा खोपासीले मातृ स्रोत रेसम कीरा संरक्षण र व्यावसायिक रेसम कीराको फूल उत्पादन गर्दै आएको छ। किसानले उत्पादन गरेको रेसमको कोया र धागो सरकारले खोलेका नौवटै फर्म केन्द्रले किनिदिने गरेका छन्।  कोकन प्रतिकिलो तीन सय ७५ रुपैयाँ र घागो प्रतिकिलो ३५ सयसम्ममा खरिद गर्ने खोपासी शाखाका अधिकृत न्यौपाने बताउँछन्। नेपालमा एक सय ५० हेक्टरमा लगाइएको किम्बु खेतीबाट वार्षिक ३० देखि ३५ मेट्रिक टन रेसमको कोकन उत्पादन हुँदै आएको छ। यी कोकनबाट चार/पाँच मेट्रिक टन घागो उत्पादन हुने गरेको छ।

रेसम शाखा संकटमा
रेसम खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि पर्याप्त बजेट नहुँदा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो शाखाका कर्मचारीको छ।  ‘वार्षिक रूपमा किसानका लागि आउने अनुदान र सञ्चालन खर्च कम हुँदै गएकाले प्रभावकारी कार्यक्रम सञ्चान गर्न सकिएको छैन’, रेसम खेती खोपासीका अधिकृत जगनाथ न्यौपानेले भने।  वार्षिक कार्यक्रम सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट आउँछ । त्यसले सोचेजति र मागअनुसारको काम गर्न नसकिएको उनको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :